निजी क्षेत्रलाई सजिलो हुने कानुन बनाउँछौँ, लगानी गर्नुस् : मुख्यमन्त्री शाही



प्रदेश ६ मा आर्थिक बहस

कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन् । लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण बनाउनुका साथै राम्रो सेवासुविधा दिने उनले बताए ।

‘लगानी गर्नुस्, अन्य प्रदेशको भन्दा राम्रो सेवासुविधा दिन्छौँ । लगानी नडुब्ने वातावरण बनाउँछौँ, सुरक्षाको ग्यारेन्टी गर्छौं,’ नेपाल उद्योग वाणिज्य महासंघ, नयाँ पत्रिका दैनिक र नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले भने ।

उद्योगधन्दा सञ्चालन गर्न आउने निजी लगानीकर्तालाई फाइदा हुने वातावरण मिलाउने प्रतिबद्धता उनले जनाए । ‘प्रदेश सरकारले लिनेभन्दा पनि उद्योगी–व्यवसायीले कमाएर लैजाने वातावरण बनाउनेछ,’ उनले भने ।

कर्णाली प्रदेशको विकासका लागि लगानीकर्ताको सूचीमा देशभित्रका उद्योगी–व्यवसायीलाई प्राथमिकतामा राखेको बताउँदै उद्योग, कलकारखाना, लगानी र उत्पादित वस्तुको सुरक्षा प्रदेशका जनताले गर्ने वातावरण बनाउने मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रदेश सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक कानुन तथा नीति बनाउने बताए । निजी क्षेत्रसँग छलफल गरेर नीति र कानुन बनाउने बताउँदै उनले भने, ‘कस्तो खालको कानुन बनाउँदा निजी क्षेत्रलाई सजिलो हुन्छ ? खाका बनाएर दिनुस्, उद्योगी–व्यवसायीलाई सहज हुने कानुन निर्माण गर्छौं ।’

भौगोलिक अवस्थाले कठिनाइ रहेको उल्लेख गर्दै उनले प्रकृतिसुहाउँदो उद्योग सञ्चालन गर्न आग्रह गरे । सिमेन्ट, ढुंगा प्रशोधन, जडीबुटी प्रशोधन, पर्यटन, ग्यास, कोइला, चुन, फलाम उत्खनन, हाइड्रोपावरजस्ता उद्योग सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

लगानीमैत्री वातावरण बनाउन आग्रह
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उद्योग नीति बनाएर निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्ने तयारी भइरहेको बताए । उनले लगानीको स्पष्ट खाका बनाएर आउन उद्योगी–व्यवसायीलाई आह्वान गरे । ‘कर्णाली प्रदेश जलविद्युत्मा धनी छ । यसको उपभोगका लागि पब्लिक पार्टनरसिप अवधारणामा अगाडि बढ्ने नीति प्रदेश सरकारले ल्याउँदै छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयार रहेको बताइन् । त्यसका लागि वातावरण बनाउन लगानीमैत्री ऐन–कानुन हुनुपर्ने उनको भनाइ छ । ‘लगानीमैत्री कानुन बने, सुरक्षाको ग्यारेन्टी भए निजी क्षेत्र लगानी तयार छ । उद्योग सञ्चालन गर्न समय लाग्नेछैन,’ उनले भनिन् ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले निजी क्षेत्रले सहयोग गरे प्रदेश सरकारले लगानीमैत्री कानुन निर्माण गर्ने बताए । प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको सहयोग आवश्यक भएको उनको भनाइ थियो ।

कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हिमबहादुर शाहीले यहाँका सम्भावनालाई उपयोग गर्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । प्रदेश र लगानीकर्तालाई फाइदा हुने गरी अध्ययन गरेर लगानी गर्न उनको सुझाब थियो ।

नयाँ पत्रिका दैनिकका अध्यक्ष तथा सम्पादक कृष्णज्वाला देवकोटाले कर्णाली प्रदेशको विकासमा टेवा पु-याउन प्रादेशिक आर्थिक बहस कार्यक्रम आयोजना गरिएको बताए । सेजनका अध्यक्ष पुष्पराज आचार्यले प्रदेश सरकार र निजी क्षेत्रलाई जोड्न यो बहस कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दबहादुर बुढा, प्रमुखसचिव सुरेश प्रधान, मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

पूर्वाधार विकासमा विज्ञको जोड

कर्णाली प्रदेशको विकासका लागि ठूला पूर्वाधार निर्माणका लागि ठूलो परिमाणको लगानी आवश्यक रहेको विज्ञहरूले बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. नारायणप्रसाद पौडेलले जलस्रोत, वन, पर्यटन, खनिज पदार्थ, जडीबुटीमा लगानी आवश्यक रहेको बताए ।

कर्णाली प्रदेशको समृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका प्रा.डा. पौडेलले भौतिक पूर्वाधारसँगै सामाजिक क्षेत्रको विकास महत्वपूर्ण रहेको बताए । शिक्षा, स्वास्थ्यको सहज पहुँच नहुँदा तथा बेरोजगारीले बसाइँसराइ समस्या बढ्दै गएको औँल्याउदै उनले भने, ‘खनिज पदार्थको अनुसन्धान र उत्खनन गर्न अनुसन्धान केन्द्र स्थापना गरी रोजगारी सिर्जना गर्न सकिन्छ ।’

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक पीताम्बर ढकालले कर्णाली प्रदेशको आर्थिक वृद्धिदर बढाउन निजी क्षेत्रको लगानी अपरिहार्य भएको बताए । ‘निजी क्षेत्र नआएकै कारण कर्णाली प्रदेशको आर्थिक अवस्था सुदृढ हुन नसकेको हो,’ उनले भने ।

करको सदुपयोग गर्नुपर्ने व्यवसायीको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायीहरू राज्यलाई कर तिर्न लालायित रहेको जनाउँदै यसबाट विकास भएको हेर्न आतुर रहेको बताए । ‘जतिसक्यो धेरै लगानी गरेर सोहीअनुसार मुनाफा गर्दै सरकारलाई कर तिर्छाैं,’ गोल्छाले भने, ‘राज्यलाई तिरेको करबाट कर्णाली प्रदेश समृद्ध भएको हेर्न चाहन्छौँ ।’

निजी क्षेत्रलाई सँगै लिएर जाने नीति बनाउन सके कर्णालीको विकास सहजै हुने उनको भनाइ थियो । ‘सम्भावना नै सम्भावना छ भनेर बसियो भने प्रदेशको विकास हुँदैन, सम्भावनालाई उपभोग गर्ने प्रदेश सरकारको नीति हुनुप-यो,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला–नगर उपाध्यक्ष किशोरकुमार प्रधानले लगानीकर्तालाई कर्णालीमा आउनका लागि भौतिक पूर्वाधारको विकास पहिलो सर्त भएको बताए । सडक, विद्युत्, बैंकिङ सेवा, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पर्यटन, खनिज, जल, वन र जडीबुटीको अधिकतम प्रयोगमा जोड दिए । प्रदेश सरकारलाई सचेत हुने आग्रह गर्दै उनले भने, ‘प्राकृतिक स्रोतको उपभोग हुने गरी लगानी गर्न सके र लगानी गर्ने वातावरण बनाउन सके कर्णालीको विकास टाढा छैन ।’

जनताले नै सुरक्षा गर्छन्, ढुक्क भएर लगानी गर्नुस् : मुख्यमन्त्री शाही

लगानी सुरक्षाको चिन्ता नगर्नुस् । सुरक्षाको वातावरण प्रदेश सरकारले बनाउनेछ । सबैभन्दा भरपर्दो सुरक्षा जनताबाट हुन्छ । यहाँका जनताले सुरक्षा गर्नेछन्, तपार्इंहरू ढुक्क भएर लगानी गर्नुस् । उद्योग सञ्चालनका लागि उपयुक्त उद्योग नीति बनाइनेछ । कस्तो खालको कानुन बनाउँदा निजी क्षेत्रलाई सजिलो हुन्छ ? खाका बनाएर दिनुस्, हामी कानुन निर्माण गर्छौँ ।

कर्णालीको समृद्धिमा हातेमालो गर्न तयार छौँ : महासंघ अध्यक्ष राणा

लगानीको अवसर सिर्जना गरेर कर्णालीको समग्र विकासमा जोडिन निजी क्षेत्र तयार छ । यसका लागि प्रदेश सरकारले पहल गर्नुपर्छ । कर्णाली प्रदेश समृद्धिको अथाह सम्भावनाको खानी हो भन्ने कुरा त धेरै ग¥यौँ, अब ती सम्भाव्यताको उपयोग गर्नुपर्ने वेला आएको छ । प्रदेश सरकारले नीति तथा योजना बनाओस्, निजी क्षेत्र लगानीका लागि तयार छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्