उपत्यकामा भुस्याहा कुकुरको बिगबिगी
काठमाडौं महानगरपालिकाले व्यवस्थापन नगर्दा काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । सडकमा छाडिएका बेवारिसे कुकुरको संख्या वृद्धि भएसँगै कुकुरको टोकाइबाट पीडित हुनेको संख्या पनि बढेको छ ।
चिकित्सकका अनुसार काठमाडौंमा प्रत्येक दिन दुई सयभन्दा बढी मानिस कुकुरले टोकेको उपचार गर्न अस्पताल आउने गरेका छन् । सहिद शुक्रराज तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार केही दिनयता भुस्याहा कुकुरले टोकेर आउने बिरामीको संख्या धेरै छ ।
टेकु अस्पतालका अनुसार आइतबार मात्रै भुस्याहा कुकुरले टोकेका तीन सयभन्दा बढी मानिस उपचारका लागि अस्पताल आएका थिए । ‘यो अवस्था भयावह हो,’ डा. पुनले भने । उनका अनुसार सोमबार पनि सोही अनुपातमा कुकुरले टोकेका बिरामी अस्पताल गएका छन् । पुनका अनुसार प्रत्येक महिना कम्तीमा दुईजनाको रेबिज रोगका कारण मृत्यु हुने गरेको छ ।
हेलचेक्रयाइँ नगर्न सुझाब
चिकित्सकका अनुसार कुकुरले टोके पनि धेरै मानिस उपचार गर्न आउँदैनन् । रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्ने ठाउँमा टिटी खोप लगाएर घरमा बस्ने गर्दा समस्या देखिएको डा. पुनले बताए । सरकारले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिने गरेको छ । पुनले भने, ‘यस्तो अवस्थामा पनि मानिसहरू जानकारी नभएजस्तो गरी घरमै बस्ने गरेका छन् । यस्तो गर्नुहुँदैन ।’
काठमाडौंमा मात्रै ३२ हजार भुस्याहा कुकुर
काठमाडौं महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य प्रशासक विश्वराम श्रेष्ठका अनुसार उपत्यकामा मात्रै ३२ हजारभन्दा बढी भुस्याहा कुकुर छन् । एक वर्षदेखि यस्ता कुकुर व्यवस्थापन गर्ने भनिए पनि विभिन्न कारणले रोकिएको उनले बताए । यस वर्ष पनि महानगरपालिकाभित्रका भुस्याहा कुकुर व्यवस्थापन गर्ने भनेर एक करोड छुट्याएको थियो ।
‘तर, काम अगाडि बढ्न सकेको छैन । त्यसको कारण मलाई पनि जानकारी भएन,’ श्रेष्ठले भने । उनका अनुसार ११ हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइसकिएको छ । (नयाँ पत्रिका)