गृहमन्त्रीलाई नौ सुझाब



विगतमा लामो समयसम्म प्रहरी अधिकृत भएर काम गर्दा धेरै गृहमन्त्रीको काम नजिकबाट हेर्ने र देख्ने मौका पाएको थिएँ । ०४८ अघि राजाको शासनका गृहमन्त्रीलाई दरबारका सैनिक सचिवले नियन्त्रण गर्ने हुँदा त्यस समय उनीहरूले कुनै प्रभाव छाड्न सक्ने स्थिति थिएन । तर, ०४८ पछिका गृहमन्त्रीले चाहेमा केही असल काम गर्न सक्ने स्थिति थियो, तैपनि उनीहरूले गर्न सकेनन् ।

यथार्थमा उनीहरूलाई आफ्नो जिम्मेवारीको सही ज्ञान पनि थिएन । कोही पैसाका लागि, कोही शक्तिका लागि र कोही पार्टीका लागि मात्र त्यो पदमा आएको देखियो । देशका लागि गृहमन्त्री भएको कमै देखियो । त्यसैले लालबाबु पण्डितले मन्त्री भएर समाजमा छाडेजस्तो पूर्वगृहमन्त्रीहरूले कुनै छाप छाड्न सकेनन् । त्यसैले, वर्तमान गृहमन्त्री रामबहादुर थापालाई यसतर्फ सचेत बन्न अनुरोध गर्दै निम्न पक्षमा ध्यान दिन अनुरोध गर्छु :

१. आफैँ स्पष्ट हुनुहोस्

सबैभन्दा पहिले तपाईं गृहमन्त्रीबाट देश र जनताले अपेक्षा गरेको चुरो कुरो बुझ्नतिर लाग्नुहोस् । तपाईंले राज्यको सीमा रक्षा गर्नु छ, देशभित्र अमनचैन कायम गराउनु छ । देशभित्रका सारा संरचनाले कानुनभित्र भयरहित वातवरणमा बाँच्न, व्यवसाय गर्न र आस्थाअनुसार काम गर्न पाउनुपर्छ । मानवअधिकार रक्षादेखि लिएर दैवी प्रकोप र विपत् व्यवस्थापनसमेत गर्नुपर्छ । त्यसकारण आफ्ना कामबारे पहिला तपाईं स्पष्ट हुनुहोस् ।

२. अध्ययन अन्वेषण गर्नुहोस्

पहिले–पहिलेका गृहमन्त्री केवल आफ्ना मेसिनरीको ‘ब्रिफिङ’मै दंग परे । तपाईं त्यसो नगरी तपाईंको जिम्मेवारीभित्र पर्ने कामको स्थितिबारे तथ्यांक निकाल्नुहोस् । उदाहरणलाई सीमास्तम्भको स्थिति के छ र बाह्य तत्वले देशमा खतरा कहाँकहाँ छ ? कुन जिल्लामा केकस्ता आपराधिक समस्या छ ? प्रत्येक जिल्लाका अपराध तथ्यांक तपाईंसँग होस् । आन्तरिक विद्रोह कहाँकहाँ छ र गुन्डा अपराधीको स्थिति केकस्तो छ ? यसबारे प्रस्ट हुनुहोस् ।

३. गृह प्रशासनको संरचना परिवर्तन गर्नुहोस्

तपाईंलाई देशमा कुन–कुन कुराले शान्ति सुरक्षामा असर पु-याएको छ भन्ने स्पष्ट भएपछि त्यसलाई मुकाबिला गर्न आफ्नो कार्यालय र एकाइलाई पुनर्गठन गर्नुहोस् । उदाहरणलाई अहिलेको गृह मन्त्रालयले केवल सरुवाबढुवा वा प्रशासनिक कार्य गर्छ । तर, शान्ति सुरक्षाप्रति जवाफदेहिता लिँदैन । सम्पूर्ण कुरो गृहसचिवमा ठोक्किएको छ । त्यसैले सीमा, शान्ति–सुरक्षा, ड्रग्स व्यवस्थापन जस्ता महाशाखालाई सशक्त र जवाफदेही बनाउनुहोस् । त्यसैगरी भद्रगोल पारिएको प्रहरी संगठनको संगठनात्मक स्वरूप पनि परिवर्तन गर्नुहोस् । पहिला गृह मन्त्रालयलाई नै सेवा दिन सक्ने गरी पुनर्संरचना गर्नुहोस् ।

४. गृहमा व्यवस्थित अप्रेसन कक्ष बनाउनुहोस्

पहिलेका गृहमन्त्री केवल सरुवा, बढुवा र भेटघाटमै बिदा भए । उनीहरूसँग आज देशमा के भइरहेछ भन्ने बुझ्ने सशक्त ‘मेकानिज्म’ नै थिएन । तपाईं गृहमा आधुनिक अप्रेसन कक्ष बनाउनुहोस्, जहाँ सात प्रदेशका सात डेस्क हुन् । ती डेस्क आधुनिक हुन् र प्रत्येक प्रदेशमा भएका सानासाना घटना पनि पलपल त्यहाँ रेकर्ड होऊन् ।

त्यसलाई चाहिने कर्मचारी सुरक्षा एकाइबाट काजमा ल्याउन सकिन्छ र त्यहाँ चौबीसै घन्टा कम्तीमा एक उपसचिवलाई ड्युटीमा राख्नुहोस् । हरेक दिन कार्यालय आउँदा पहिला अप्रेसन कक्षमा गई वस्तुस्थिति बुझ्नुहोस् । एउटा कोठा त्यस्तो तयार गर्नुहोस्, जहाँबाट तपाईं सीधै टेलिभिजन स्क्रिनमा सुरक्षा प्रमुखसँग आफ्ना सरोकारबारे देहोरो कुरा गर्न सक्नुहुन्छ ।

सातै प्रदेश र केन्द्रका सुरक्षा प्रमुख र सम्बन्धित पदाधिकारीसँग एकैपल्ट ‘कन्फरेन्स कल’ गर्ने व्यवस्था मिलाउनुहोस् । तपाईंले अप्रेसन कक्षमा प्राप्त असामान्य सूचनाको जवाफ कन्फरेन्स कलद्वारा तत्काल लिनुहोस् र दिनुपर्ने निर्देशन पनि दिनुहोस् ।

५. सहयोगी नागरिक संरचना तयार गर्नुहोस्

पुराना गृहमन्त्रीले प्रहरी संख्या, सरकारी साधन, हतियार बढाएर शान्ति–सुरक्षा कायम हुन्छ भन्ने भ्रम पाले । तर, तपाईं यो विश्वासमा नपर्नुहोस् । शान्ति–सुरक्षाको सबैभन्दा मूल मन्त्र हो, नागरिकलाई नैतिक बनाउनु । आज युरोपमा लाखौँ गाडी गुड्छन्, रातभर ‘कोठी’ चलेका छन्, तर त्यहाँ दुईजना पनि प्रहरी देखिँदैनन् । गृहमन्त्रीको आँखा देशभर पुग्नुप-यो ।

यसका लागि गृह मन्त्रालयबाट ‘शान्ति–सुरक्षाको साथी’ भन्ने क्लब वा समूह देशका प्रत्येक वडा तहसम्म, स्कुल, कलेजमा गठन गर्नुहोस् । ती समूहले अपराधको सूचना पनि दिऊन् र अपराधविरुद्ध अभियान पनि चलाऊन् । देशमा कतै घटना घट्दा तपाईं ती समूहबाटै भेरिफाई पनि गर्नुहोस् । यसमा नेपालभरका पूर्वप्रहरी संगठनले पनि तपाईंलाई राम्रै मद्दत गर्न सक्छन् ।

चाहे गाडीमा लाइन लगाएर चढाउने विषयमा होस् वा ड्रग्स र अपराधमुक्त समाज बनाउन, यो समूहले तपाईंसँग प्रत्यक्ष काम गर्न सक्छ । यति भएमा तपाईंलाई अन्य एकाइले भ्रममा राख्न सक्दैनन् । प्रहरी, हतियार र गाडी बढाएर जनता नैतिक हुँदैनन् । तिनलाई नैतिक बनाउने कार्यक्रम ल्याउनुहोस् ।

६. सुरक्षा एकाइलाई व्यावसायिक बनाउनुहोस्

पूर्वगृहमन्त्रीहरूले राजनीतिक आस्था, पैसा र चाकडीका आधारमा वृत्ति विकासमा महत्व दिएझैँ लाग्यो । पंक्तिकारले पनि पैसा दिन र राजनीतिक आस्था देखाउन नसकेका कारण करिब ४४ वर्षमै पद खाली राखी अवकाश लिनुप-यो ।

मैले गृहमन्त्रीहरू आफैँ प्रत्यक्ष, अप्रत्यक्ष रूपमा अपराधमा संलग्न रहेका र तिनले वृत्ति विकासमा मन्त्री पदको दुरुपयोग गरी प्रहरी कर्मचारीमाथि चरम अन्याय गरेको पनि देखेँ, भोगेँ । तपाईंबाट यो नहोस् । सरुवा हिमाल, पहाड, तराई, सहायक र कार्यालय प्रमुखमा रोटेसनका हिसाबले सबैले सबै ठाउँमा जानुपर्ने व्यवस्था गरिदिनुहोस् ।

उच्च तहको कामलाई उत्पादनका आधारमा अंकमा मूल्यांकन गर्ने विधि तयार गरिदिनुहोस् । चेन अफ कमान्डलाई बलियो पारिदिनुहोस् । आइजिपीले एआइजीलाई चाहेको जिम्मा दिन सकोस्, तर जिम्मेवारीको जवाफदेहिता लिने बनाउनुहोस् । अहिलेका दिनमा गृहमन्त्री र गृहसचिव सुरक्षा प्रमुखमाथि हाबी भएको देखिन्छ, यस्तो हुनु गलत हो । त्यसले चेन अफ कमान्ड बिगार्छ । वृत्ति विकास, सामान खरिद र सेवामा हुने भ्रष्टाचार नियन्त्रण गर्नुहोस् ।

७. दक्ष व्यक्तिको उपयोग गर्नुहोस्

धेरै पूर्वगृहमन्त्रीले कर्मचारी थप गरी शान्ति–सुरक्षा कायम गर्न प्रयास गरेको देखियो, जसमा लगानी बढी र उत्पादन कम हुनेछ । अतः धेरै स्थानमा पूर्वकर्मचारी करारमा प्रयोग गर्नुहोस् । विकसित देशमा पनि धेरै काम अवकाश भएकाहरूले कारारमा रहेर गर्छन् । कुनै प्रहरी एकाइमा मुद्दा–मामिला र प्रशासनमा पूर्वप्रहरी प्रयोग हुन सक्छन् ।

अरब मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलसमेत अन्य देशका नागरिकबाट चलाइएका छन् । संयुक्त राष्ट्रसंघको सेवामा पूर्वकर्मचारी पठाइन्छन् । त्यसैले जुन स्थानमा शारीरिक रूपले चुस्त व्यक्ति चाहिन्छ, त्यहाँ बहालवाला कर्मचारी प्रयोग गर्नुहोस् र जहाँ त्यस्ता व्यक्ति चाहिन्न पूर्वकर्मचारी प्रयोग गर्नुहोस् । यस्तो गर्दा आधा दरबन्दी घटाई प्रशासनिक कार्यमा पूर्वकर्मचारीलाई प्रयोग गर्न सकिन्छ, जो दक्ष छन् । यसतर्फ पनि विचार गरी देशको खर्च जोगाउनुहोस् ।

८. गृहमन्त्री छन् भन्ने आभास दिलाउनुहोस्

अहिलेसम्म गृहमन्त्री पार्टीका बने । संसद् संख्याको अंकगणितसँग खेलेर मलाई त्यही मन्त्रालय चाहिन्छ भनेर दबाब दिएर बने । कोही पार्टीको खर्च जुटाउन बने, कोही पार्टीमा आफ्नो हैसियत बढाउन बने । त्यस भिडमा तपाईं छुट्टै बन्ने प्रयास गर्नुहोस् ।

९. समाजमा अमनचैन कायम गर्नुहोस्

गुन्डागर्दी, सामाजिक अपराध, महिला हिंसा, ड्रग्स एडिक्सन, चन्दा आतंकजस्ता दैनिक जीवनमा निर्देाष आमनागरिकलाई दुःख दिने समूहलाई निमिट्यान्नै पारिदिनुहोस् । समाजमा डन छन् भने हामीले बुझ्छौँ, त्यहाँ प्रहरी छैनन् । गृह मन्त्रालय र प्रहरी भएको आभास दिलाउनुहोस् । माथिका काम गर्न सजिलो र सम्भव छ । यी कामले तपाईंलाई विगतका गृहमन्त्रीभन्दा फरक र सम्मानित
पार्न सक्छ ।

(कुँवर नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्