हरेक समयका मान्छे परम्पराप्रति अति नै मोह राख्छन् । हुन त तिनीहरू आफूलाई सहज परेका वेला मात्र परम्पराको चर्चा गरिरहेका देखिन्छन्, किनभने तिनले व्यवहारमा चाहिँ परम्पराको अनुसरण छाडिसकेका हुन्छन् । तर, जब समाजमा सार्वजनिक स्थानमा बोल्ने वेला आउँछ अनि तिनलाई परम्पराको अघोरै माया लाग्छ ।
यस्तो परम्परा संस्कृति र भाषा या भेष र संस्कारमा मात्र होइन, खाना, पोसाक, गीत, संगीत र भोजभतेरका तरिकासम्म जीवनका जुनसुकै क्षेत्रका पनि हुन सक्छन् । जस्तो ढिकीमा कुटेको चामलको भात मिठो, आगोमा पकाएको खानेकुराको स्वादै मिठो, जाडोमा मोही मकैको स्वाद, पहिलेको धान राम्रो, ठेकीमा पारेको मोही, बकेर्नु भैैंसीको दूध मिठो भन्दै यताचाहिँ मेसिनमा कुटेका चामल, ग्यास चुलो या बिजुली चुलोमा पकाएको भात, डेरीको दूध र दहीमही खानेहरूको कमी छैन ।
यसैगरी पहिलेको सारीचोलो राम्रो, दौरा–सुरुवाल पो हाम्रो, धोती लाउनु पो लाउनु, चुल्ठो बाटेर कपाल कोर्नु पो कोर्नु, संस्कृत मिसाएको बोली या लेखन पो मिठो भन्नेहरूका साथमा आफूलाई सहज लाग्ने सर्ट–पाइन्ट लाउनेहरू, कपाल काटेर सहज र सजिलो बनाउनेहरू, या अंग्रेजी नमिसाई नबोल्नेहरू पनि पाइन्छन् ।
यहाँ यस्तो परम्परा, लवाइ–खवाइ या भाषालाई नराम्रो भन्न खोजिएको अवश्य होइन । तर, यी समय सापेक्षित छन् कि पुरातन ? यिनले समय र मानिसबीचको तालमेललाई सहज बनाउँछन् कि असहज । अब यस्तो सम्भव छ कि छैन भन्ने विचार गरेर मात्र धारणा बनाउनु राम्रो भन्न खोजिएको हो । कतिपयले त आरनको पेसा हराएकोमा, मेलापात अर्मपर्म मासिँदै गएकोमा, घरघरमा लैना बकेर्ना भैंसी र दुहुना गाई नभएकामा पिर चिन्ता व्यक्त गरिहिँडेका पनि भेटिन्छन् । पुराना पेसा मासिएको भन्दै रोइलो गाउनेको पनि कमी हुन्न यो समाजमा ।
हामीले श्रम गर्ने क्षेत्र फेरिँदै गएका छन् । ढिकीमा कुटेको चामल खान जेजति श्रम र समय घरघरका महिलाले लगाउनुपथ्र्यो त्यसको ठाउँमा मेसिनमा कुटानी–पिसानी गर्दा महिलाको कामको बोझ हल्का भएको छ । ग्यास र बिजुली चुलोमा पकाउँदा हुने फाइदा त कति हो कति छन्, स्वास्थ्य, सरसफाइ र समय बचतका दृष्टिले ।
परम्परागत पेसा संकटमा परे भनेर आत्तिनु जरुरी छैन, बरु फेरिएको बजारका मागअनुसार आफ्नो पेसा या उत्पादन परिवर्तन गर्न सक्नुपर्छ
त्यस्तै महिलालाई काममा निस्कनुपर्दा सहज हुने कपडा पहिरिनु नै परम्परा धान्नुभन्दा जाती हो । अर्मपर्म राम्रो त हो तर ज्यालादारी श्रममा जाँदा समाजले सामन्ती मूल्य प्रणाली पनि छाड्दै पुँजीवादी या प्रगतिशील श्रम सम्बन्ध स्थापित गर्दै गएको पनि हुन्छ । परम्परागत आय–आर्जनको आरन र आरनबाट स्थापित हुने उँचनिचको सम्बन्ध भत्केकै राम्रो हो ।
सहरीकरण बढ्दै गएसँगै सबैलाई गाई पाल्न सहज हुन्न । बकेर्नाे भैंसीको दूध खान किसान नै हुनुपर्छ । अर्थात् समय र आर्थिक गतिविधिका साधन तथा सम्बन्धमा आउने परिवर्तनसँगै मानिसको रहनसहन, संस्कृति, खाद्य परम्परा, लवाइ–खवाइमा परिवर्तन आउँछ स । साथै संस्कृतिमा पनि । अब बिस्तारै छोरीले दागबत्ती दिने, काजकिरिया बस्ने, पाँच दिन किरिया बसेर उम्कने, साना परिवारमा बस्ने जे–जति चलन थालिँदै छ, पछि तिनले नै परम्पराको रूप लिने हुन् ।
यसरी आएको परिवर्तनले कैयन्का पुराना पेसा संकटमा पर्न जान्छन् । जसरी अहिले बाग्लुङका चुँदारा, आग्री या आरन थाप्नेहरूका पेसा समस्यामा पर्दै गएका छन् । कसैलाई अप्ठेरो प-यो भनेर कसैले पनि बजारमा उपलब्ध सजिलो विकल्प रोज्न छाड्दैन । यी पेसा संकटमा परे भनेर आत्तिनु जरुरी छैन, बरु फेरिएको बजार मागअनुसार आफ्नो पेसा या उत्पादन परिवर्तन गर्ने हो । यही अनुकूलनमा जाने पेसावालाहरू नै लामो समय टिक्छन् । (नयाँ पत्रिका)