विराटनगर १३ चैत
आउँदो १७ गतेदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।
मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ । फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका खम्बामा सौर्य ऊर्जा जडान गर्न भारतको कोलकाताका साथै विराटनगरका प्राविधिक निरन्तर रुपमा लागिरहेको विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालसहित चार मुलुकका १० वटा टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा काठमाडौँका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।
यसका साथै विदेशी टिममा भुटानको थिम्फु– ११, भारतको मोहम्मद स्पोर्टिङ क्लब, कोलकाता टिम र बंगलादेशको स्पोर्टिङ क्लब छन् । सो प्रतियोगितामा अनुमानित रु एक करोड खर्च हुने आयोजक समितिका संयोजक रिजालले जानकारी दिनुभयो ।
सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई रु पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।
त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।