केप टाउन : ‘बल टेम्परिङ’को आरोप लागेपछि विश्व क्रिकेटमा आफ्नो प्रतिष्ठा गुमाएको अस्ट्रेलियन टोलीले तेस्रो टेस्ट क्रिकेटको नतिजा पनि दक्षिण अफ्रिकालाई सुम्पिएको छ। तेस्रो टेस्टको चौथो दिन घरेलु टोली दक्षिण अफ्रिकासँग तीन सय २२ रनको फराकिलो अन्तरले पराजित भएपछि अस्ट्रेलियालाई पीडामाथि अर्को पीडा थपिएको हो। चार सय ३० रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियन टोली आफ्नो दोस्रो पालिमा केवल एक सय सात रनमा अलआउट हुन पुग्यो।
दोस्रो पालिमा अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। उपकप्तान डेभिड वार्नरले सर्वाधिक ३२ रन बनाए भने ओपनर क्यामरुन ब्यानक्रफ्टले २६ रन थपे। यसदेखि बाहेक मिचेल मार्स (१६ रन) ले मात्र दोहोरो संख्यामा रन बटुल्न सके। अन्य अस्ट्रेलियन ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन्। दोस्रो पालिमा अस्ट्रेलियन ब्याट्सम्यानका लागि घरेलु टोलीका बलर मोर्ने मोर्केल सबैभन्दा घातक बने। उनले ९.४ ओभरमा तीन मेडन राख्दै केवल २३ रन खर्चिएर पाँच विकेट लिए। केशव महाराजले दुई र कागिसो राबडाले एक विकेट हात पारे।
दक्षिण अफ्रिकाले भने आफ्नो दोस्रो पालिमा तीन सय ७३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि दोस्रो पालिमा चार ब्याट्सम्यानले अर्धशतक बनाएका थिए। ओपनर अदिन मार्करमले ८४, विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी कोकले ६५, एबी डे भिलियर्सले ६३ र भेर्नन फिलान्डरले अविजित ५२ रन बटुलेका थिए। दोस्रो पालिमा अस्ट्रेलियन बलर जस हेजलउड, प्याट कुमिन्स र नाथन लियोनले तीन÷तीन विकेट लिएका थिए।
अस्ट्रेलिया भने पहिलो पालिमा दुई सय ५५ रनमै समेटिएको थियो। अस्ट्रेलियाका लागि दोस्रो पालिमा ब्यानक्रफ्टले सर्वाधिक ७७ रन बनाएका थिए। लियोनले पनि टोलीको खातामा ४७ रन थपेका थिए। अस्ट्रेलियालाई पहिलो पालिमा कम योगफलमा समेट्न घरेलु टोलीका बलर मोर्केल र राबडाले चार÷चार विकेट लिए। फिलान्डरले पनि दुई विकेट हात पारे।
यसैगरी टस जिती ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिकाले भने पहिलो पालिमा तीन सय ११ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि पहिलो पालिमा ओपनर ब्याट्सम्यान डिन एल्गरले अविजित एक सय ४१ रनको योगदान गरेका थिए। डे भिलियर्सले पनि ६४ रन बनाएका थिए। पहिलो पालिमा अस्ट्रेलियन बलर कुमिन्सले चार विकेट लिएका थिए। उक्त खेलमा दक्षिण अफ्रिकाका मोर्ने मोर्केल म्यान अफ दी म्याच घोषित भए। चार टेस्टको शृंखलामा दक्षिण अफ्रिका २-१ ले अगाडि छ। चौथो तथा अन्तिम टेस्ट आगामी शुक्रबारदेखि सुरु हुँदैछ।
‘बल टेम्परिङ’ (बल बिगारेको) घटनाका कारण पनि अस्ट्रेलियाका लागि तेस्रो टेस्ट बिर्सनलायक बन्यो। तेस्रो टेस्टको तेस्रो दिनको खेलका क्रममा अस्ट्रेलियाका ब्याट्सम्यान क्यामरुन ब्यानक्रफ्टले ‘बल टेम्परिङ’ गरेको घटना सार्वजनिक भएपछि विश्वभरिबाट अस्ट्रेलियन क्रिकेटरको उक्त कार्यको निन्दा गरिँदै आएको छ। सो घटनालगत्तै क्रिकेट अस्ट्रेलियाले आफ्ना कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई पदबाट हटाउने निर्णय पनि गरिसकेको छ।
कप्तान र उपकप्तान निलम्बनमा परेपछि तेस्रो टेस्टको बाँकी खेलमा विकेटकिपर टिम पाइनले कप्तानको भूमिका निर्वाह गरेका थिए। तेस्रो दिनको खेलका क्रममा ब्यानक्रफ्टले ‘बल टेम्परिङ’ गरेको घटना भिडियो फुटेजमार्फत सार्वजनिक भएको थियो। क्रिकेट अस्ट्रेलियाका प्रमुख जेम्स सन्डरल्यान्डले आफ्ना खेलाडीमाथि लागेको ‘बल टेम्परिङ’को आरोप गम्भीर र दुःखद भएको धारणा व्यक्त गरेका छन्।
यसैगरी आइपीएल टोली राजस्थान रोयल्सले पनि स्मिथलाई कप्तानबाट हटाउने निर्णय गरेको छ। तेस्रो दिन टेलिभिजन फुटेजमा ब्यानक्रफ्टले ‘बल टेम्परिङ’ गरेको देखिएको थियो। टेलिभिजन फुटेजमा ब्यानक्रफ्टले आफ्नो सुरुवालको खल्तीबाट पहेँलो टेप निकालेर बलमा दलिरहेको देखिन्छ। २५ वर्षीय ब्यानक्रफ्टले बलमा दलेर त्यो पहेँलो टेप पुनः आफ्नो खल्तीमै राखेको देखिन्छ। ब्यानक्रफ्टमाथि खेलका क्रममा बलको वास्तविक स्वरूपलाई परिवर्तन गर्न खोजेको आरोप लगाइएको छ। खेलका क्रममा यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियम ४१.३ ले रोक लगाएको छ।
उक्त घटनापछि आईसीसीले पनि छानबिन अगाडि बढाएको छ। आईसीसीले छानबिन अगाडि बढाउने भएपछि कप्तान स्मिथलाई दक्षिण अफ्रिकाविरुद्घको चौथो टेस्ट खेल्न पनि रोक लगाइएको छ। क्रिकेट अस्ट्रेलियाले कप्तान स्मिथ र वार्नरमाथि आजीवन प्रतिबन्ध लगाउनसक्ने सम्भावना रहेको पनि समाचारमा जनाइएको छ।
कप्तान स्मिथ आफैंले पनि खेलपछि ब्यानक्रफ्टको कार्य गलत भएको बताएका छन्। घटना सार्वजनिक भएपछि अस्ट्रेलियाकै पूर्वक्रिकेटरहरूले समेत त्यसप्रति खेद व्यक्त गरेका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले पनि ‘बल टेम्परिङ’को घटनाबाट आफू स्तब्धः भएको प्रतिक्रिया दिएका छन्। (अन्नपुर्ण पोस्ट)