बालुवाटारमा कूटनीतिज्ञसँग प्रधानमन्त्री केपी ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताएका छन् ।
उनले व्यापार, लगानी, पर्यटन र जनस्तरको आदानप्रदानलाई महत्व दिने पनि बताए । उनले भने,‘आपसी सहयोगका क्षेत्रमा हामी विकासका प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडी बढाउने छौं ।’
प्रधानमन्त्री ओलीले नेपालको संविधान मुलुकको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरेको र अन्तर्राष्ट्रिय सम्बन्धबारे पनि खाका प्रस्तुत गरेको बताए ।
प्रधानमन्त्रीले नेपालको कूटनीतिक लक्ष्यका आधार अन्तर्राष्ट्रिय स्तरमा लोकतन्त्रको विस्तारित अभ्यास भइरहेको राष्ट्रका रुपमा नेपालको छवि प्रवद्र्धन गर्नु र आर्थिक सामाजिक विकासका कारकको पहिचान गर्नु नै भएको बताए ।
उनले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै राष्ट्रिय स्वार्थ अन्तर्गत सार्वभौमिकता, अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताए ।
नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गरे । ओलीले भने,‘हामी सबैसँग मित्रता गर्ने तर कसैसँग शुत्रता नगर्ने नीतिप्रति सदा कटिवद्ध रहनेछौं ।’
प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र संघीय शान्ति वहाली प्रयासमा अझ प्रभावकारी रुपमा भाग लिँंदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणका लागि योगदान गर्ने पनि बताए । उनले आतंकवाद बिरोधी अन्तर्राष्ट्रिय प्रयासप्रति समर्थन जनाउनने पनि बताए । (नयाँ पत्रिका)