लुकाइँदैछ २० वर्ष पुराना गाडी



यातायात व्यवस्था विभागले १ चैतबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउने निर्णय गरेसँगै ट्राफिकले त्यस्ता सवारीमाथि निगरानी बढाएको छ । झापा ट्राफिकले गाउँ–गाउँसम्म पुगेर पुराना गाडी खोजी गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले पुराना गाडीको अनुगमन गरिरहेको छ । झापामा हालसम्म ८ वटा पुराना सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

त्यसो त झापामा २० वर्ष पुराना सयौँ गाडी रहेको अनमान गरिएको छ । तर, ट्राफिक प्रहरीले पुराना गाडीमाथि अनुगमन गर्न थालेसँगै जिल्लाका त्यस्ता गाडी लुकाइएको पाइएको छ । जिल्लाका भित्री सडकमा गुड्ने अधिकांश सवारीसाधन पुराना हुन्थे । तर, यतिबेला त्यस्ता सवारीसाधन सडकमा देखिँदैनन् । २० वर्ष पुराना साना गाडीहरु लुकाएको हुन सक्ने ट्राफिक प्रमुख राईले बताए ।

ट्राफिक प्रहरीका अनुसार यातायात कार्यालयमा तथ्यांक हेर्दा मेची अञ्चलमा १५ सय वटा सवारीसाधन २० वर्ष पुराना देखिन्छन् । ‘कवाडीमा बेचेर लगत कट्टा नगरेको पनि हुन सक्छ, प्रहरीले पक्रन्छ भनेर लुकाएको पनि हुन सक्छ,’ ट्राफिक प्रमुख राईले भने ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारीसाधन हटाउन थालेको हो । हाल देशभर २० वर्ष पुराना पाँच हजार ५ सय सवारीसाधन सञ्चालनमा रहेको बताइएको छ । देशभर गुडिरहेका २० वर्ष पुराना सवारीसाधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि हटाउने निर्णय गरिएको हो ।

अर्कैको नाममा ट्रायल दिने महिला पक्राउ

अर्कैको नाममा ट्रायल दिने एक महिलालाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–९ बस्ने २५ वर्षीया जेनिशा राई छिन् । उनले सोही स्थानकी सिर्जना राना मगरका नाममा ट्रायल दिएकी हुन् ।

अर्कैका नाममा ट्रायल दिए पनि जेनिशाले ट्रायल पास गर्न भने नसकेको प्रहरीले जनाएको छ । बिर्तामोडस्थित यातायात कार्यालय मेचीबाट ट्रायल दिएर प्रवेशपत्र फिर्ता लिने क्रममा उनी पक्राउ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । ‘स्कूटरको ट्रायल सक्नासाथ उनी पक्राउ परिन्,’ उनले भने, ‘यातायात र ट्राफिकको संयुक्त टोलीले अर्कैका नाममा ट्रायल दिएको पत्ता लगाएको हो ।’ उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ ।

झापा ट्राफिकले पछिल्लो समय सवारीसाधन चेकजाँच र कारबाही पनि तीव्र पारेको छ । यस आर्थिक वर्षमा ३९ हजार २ सय ५० वटा सवारीसाधनमाथि कारबाही गरी २ करोड ४९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्