१४ चैत्र २०७४
काठमाडौँ, न्याय परिषदले रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्समक्ष सर्वोच्च अदालतका वरिष्ठ तीन न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रसमसेर राणाको नाम प्रस्ताव गरेको छ ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्चमा तीन वर्ष काम गरिसकेका तीन वरिष्ठ न्यायाधीशको नाम अभिलेखसहित वरिष्ठता क्रमअनुसार संवैधानिक परिषदसमक्ष प्रस्ताव गरेको हो । सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीशमात्र प्रधानन्यायाधीश हुन योग्य मानिने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । सिफारिसमा परेको न्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।
जन्ममितिको विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदले साउन २१ गतेदेखि नै लागू हुने गरी अवकाश पाएपछि न्यायालयको सर्वोच्च पद रिक्त छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले गत फागुन ३० मा पराजुलीले उमेर हदले साउन २१ देखि नै लागू हुने गरी अवकाश पाइसकेको पत्र बुझाएका थिए । पराजुलीले अवकाश पाएपछि वरिष्ठतम् न्यायाधीश जोशी कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।
संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा छ । (कान्तिपुर)