दिल्लीको ‘नर्क’बाट आठ वर्षपछि नेपाली चेलीको उद्धार



नयाँ दिल्ली : आठ-आठ बर्षसम्म परिवारसँगको बिछोडको पीडामा रहेकी नेपाली चेलीको दिल्लीबाट उद्धार भएको छ। उदयपुरको कटारी घर, नयाँ दिल्लीको मयुर बिहारको फेज-२ को एक भारतीयको घरमा आठ वर्ष लामो वनबास। पत्याउन गाह्रो, मोबाइल प्रविधिको आश्चर्यजनक विकासको युगमा परिवारसँग फोन सम्पर्कबाट बञ्चित सपना अधिकारी (नाम परिवर्तन)ले आठ बर्षसम्म दिल्लीको एक घरमा बन्दी सरहको जीवन बिताइन्।

करिब ४८ घण्टाको सडक यात्रामै पुगिने दिल्लीबाट घर फर्किन उनलाई झण्डै ३ हजार दिन नै लाग्यो। उदयपुरको कटारीमा भएका उनका आफन्तले त छोरीको आशा मारिसकेका थिए। नयाँ दिल्लीको मयुर बिहार फेज २ को बंसल परिवारको घरमा पछिल्लो ८ वर्षदेखि दबाबमूलक ढंगबाट काममा लगाइएकी सपना अब मुक्त भएकी छन्। ‘विश्वास नै भइरहेको छैन् म मुक्त भएँ, अब म घर जाँदैछु’, पीडा मिश्रित हाँसो हास्दै उनले भनिन्।

कसरी मुक्त भइन् सपना

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको केआइ नेपालका दिल्ली प्रतिनिधिको प्रयासमा दिल्ली महिला आयोग तथा दिल्ली पुलिसको सहयोगमा सपनालाई त्यो घरबाट मुक्त गरिएको हो। १९ वर्षको उमेरमा दिल्ली ल्याइएकी सपना अहिले २७ वर्ष पुगेकी छन्। राजु नाम गरेको व्यक्तिले सपनालाई बंसल परिवारमा पुर्याएका थिए। ‘घर सल्लाहले नै दिल्लीमा काम गर्ने भनेर एजेन्सीमार्फत् आएकी थिएँ, राजु नाम गरेको मान्छेले त्यो घरमा पुरयाइदियो। तर, मलाई काम गर्न आउँदैनथ्यो, काम गर्न जानिन् भनेर सुरुका दिनमा घर मालिक्नीले गाली गर्ने, कुटपिट गर्ने गर्थिन्। मासिक ३५ सय भारतीय रुपैयाँ तलब भनिए पनि हातमा पैसा कहिल्यै दिइनन्। खान लाउन भने दिएकी थिइन्’, उनले दुःख सुनाइन्, ‘बस्न सक्दिन घर पुरयाइदिनु भनेर धेरै पटक रोए, दूतावाससम्म पुरयाइदिनु त्यहाँबाट घर पुगिहाल्छु भनेँ। तर, उसले जानै दिइन्।’ उद्धारपछि सपनालाई केआइ नेपालका प्रतिनिधि नवीन जोशीले उनको घरसम्म पुरयाउने जिम्मा लिएका छन्।

एजेण्टले दिल्ली पुरयायो

राजु नामको व्यक्तिले नोकरी लगाइदिन्छु भनेर सपनालाई दिल्ली ल्याएको र बंसल घरमा पच्चीस हजार रुपैयाँमा उनलाई बेचेको खुल्न आएको छ। उद्धारकर्ता संस्थाका अनुसार त्यो व्यक्तिले पहिले २५ हजार रुपैयाँ र अर्को दुई पटक गरेर १५-१५ हजार रुपैयाँ लिएको थियो

सपनालाई छुटाउने प्रयास

मयुर बिहार फेज २ मै गार्डको रुपमा काम गर्ने एक नेपालीलाई सपनाले आफूलाई घर फर्काइदिन भनेकी रहिछन्। कसरी-कसरी यी नेपाली जोशीको सम्पर्कमा आएपछि, दिल्ली महिला आयोग, दिल्ली पुलिसको सहयोग लिएर ती बंसल परिवारको घरमा छापा मारेरै उनलाई उद्धार गरिएको हो।

सजिलो तरिकाले उद्धार गर्न नसकिने देखेर टोलीले भारत सरकारका सम्बन्धित निकायको सहयोग लिएको थियो। जोशीले भने, ‘सुरुमा घरधनीले ढोका नै खोल्न मानेकी थिइनन् , जबरजस्ती गरेर निकालिएको हो।’ जोशीका अनुसार सपनाले धेरै पहिले उनले कुटपिट गरेको उजुरी स्थानीय प्रहरी थानामा गरेको देखियो तर प्रहरीलाई नै मिलेमतोमा राखेर घरधनीले फर्काएको प्रमाण समेत भेटिएको छ।

कहाँछिन् सपना

घर फर्काउने प्रकिया पूरा गर्नका लागि केही समय लाग्ने भएको हुँदा सपना अहिले स्थानीय एक नेपाली महिला पत्रकारसँग बसेकी छन्। उनलाइ भारतीय महिला आयोगका विभिन्न संरक्षण गृहमा राख्न सकिन्थ्यो तर १८ वर्ष भन्दा माथिका बालिक भइसकेकाको राजीखुशी अनुसार आफै पनि बस्न सक्ने हुँदा सपनाको इच्छा अनुरुप उनलाई साथमा राखेको ती महिला पत्रकारले बताइन्।

आइतबार राम्ररी बोल्न पनि नसकेकी सपना सोमबार अन्नपूर्णसँगको कुराकानीमा खुलेकी थिइन्। दिल्लीले धेरै कुरा सिकाएको उनले सुनाइन्, ‘क्षतिपूर्ति वापतको पैसाले नेपालमै केही काम गर्छु तर अब कहिल्यै आउँदिन।’

साढे पाँच लाख क्षतिपूर्ति

आठ वर्षको अन्तरालमा पारिश्रमिक वापत एक पैसा पनि नपाएकी सपनालाइ सो अवधिको ५ लाख पचास हजार बराबर क्षतिपूर्ति भराइएको छ। नगद पैसा नभएको भन्दै घरधनीले सपनाको नाममा साढे पाँच लाख बराबरको तीन फरक मितिको चेक दिएकी छन्। त्यो चेक भजाउन दिल्लीको पंजाब नेशनल बैकंमा खाता खोलिने तथा नेपालमा एभरेष्ट बैंकमा खाता खोलेर सपनाको पैसा क्रमिक रुपमा ट्रान्सफर गरिने व्यवस्था गरेको जोशीले बताए। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्