ललितपुर: यहाँको एउटा परीक्षा केन्द्रमा एकजना एसईई परीक्षार्थीले लेखेको उत्तरपुस्तिका बेवारिसे अवस्थामा भेटिएको छ । महाँकाल श्रोत केन्द्र, गोटिखेलबाट मंगलबार परीक्षा दिएका एक परीक्षार्थीको उत्तरपुस्तिका बेवारिसे अवस्थामा भेटिएको हो ।
ती परीक्षार्थीको विज्ञान बिषयको पुस्तिका नं. ३०५८८९७ नम्बरको क्र.सं. ३२६५९६ को निरीक्षक र केन्द्रध्यक्षद्वारा हस्ताक्षरित उत्तरपुस्तिका भेटिएको हो ।
ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्र पौडेलले एक विद्यार्थीले लेखेको उत्तरपुस्तिका परीक्षा केन्द्रमै भेटिएको बताउँदै कर्मचारीहरुले लापरबाही गरेको बताए ।
‘उत्तर लेखिसकेको एउटा पुस्तिका भेटेपछि त्यसलाई छुट्टै खाममा हालेर लाहाछाप गर्न लगाएको छु’, उनले भने, ‘यसले विद्यार्थीलाई कुनै असर पर्दैन, यो लापरबाहीबारे सोधखोज गरिरहेको छु ।’
यो परीक्षा केन्द्रमा कुमार पाण्डे केन्द्राध्यक्ष थिए । विद्यार्थी ढिलो निस्केका कारण पुस्तिका छुट्न पुगेको दाबी कर्मचारीहरुले गरेका छन् ।