भक्तपुर : भक्तपुरका होटल तथा रेस्टुरेन्ट पुग्ने विदेशी पर्यटकलाई स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ ।
भक्तपुर पर्यटन विकास समितिले भक्तपुरकै डा. इवामुरा मेमोरियल अस्पतालसँग सम्झौता गरी यहाँका होटल तथा रेस्टुरेन्ट पुग्ने पर्यटकलाई स्वास्थ्य उपचारको व्यवस्था गरेको हो ।
समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुरमा पर्यटक पठाउने ट्राभल एजेन्सी तथा स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायीको मागअनुसार स्वास्थ्य उपचारको व्यवस्था गरिएको सुनाए । उनका अनुसार आफूकहाँ आएका विदेशी पर्यटक बिरामी हुँदा उपचारको लागि कहाँ लाने के गर्ने भन्नेबारे होटल व्यवसायीहरु सधैं अलमलमा पर्ने गरेका छन्।
भक्तपुरस्थित सरकारी अस्पताल भक्तपुर अस्पतालमा विदेशी पर्यटकलाई उपचारमा लान डराउने गरेको उनको भनाइ थियो । ‘भक्तपुर अस्पतालको अवस्था नसुध्रिँदा व्यवसायीले आफ्ना विदेशी ग्राहकलाई त्यहाँ लान डराउँछन्’, अध्यक्ष भेलेले भने, ‘त्यसैले कुन अस्पताल लाने भनी समितिमा सोधखोज गर्छन् तर हामीले मात्रै यहाँ लैजाऊ भन्न सकिने अवस्था थिएन ।’
होटल व्यवसायीबाट धेरै सोधखोज गरेपछि समितिले डा. इवामुरा मेमोरियल अस्पतालसँग पर्यटकहरुको स्वास्थ्य उपचार गर्ने दुई वर्षे सम्झौता गरिएको समितिका महासचिव दीपेशराज शर्मा बताउँछन् ।
सम्झौताअनुसार कुनै पर्यटक बिरामी भए होटलसम्म आएर अस्पताल लान अस्पतालले निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने भएको छ । त्यस्तै अस्पतालले दिने विभिन्न सेवाहरुमा सेवाको प्रकृति हेरी कम्तीमा दस प्रतिशत छुट दिने दुईपक्षीय सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार विदेशी पर्यटकले मात्रै होइन समितिका सदस्य होटल तथा रेस्टुरेन्ट सञ्चालक, तिनका कर्मचारी तथा मजदुरहरुले समेत छुटसहित स्वास्थ्य उपचार सेवा पाउनेछन् ।
सम्झौताअनुसार होटल तथा रेस्टुरेन्टले अस्पतालका चिकित्सकहरुलाई आफैकहाँ बोलाएरसमेत स्वास्थ्य सेवा लिन सक्नेछन् ।
महासचिव शर्माका अनुसार पर्यटकहरुको स्वास्थ्य सेवा लिन समिति र अस्पतालले प्रत्येक होटल तथा रेस्टुरेन्टहरुलाई डिस्काउन्ट कार्ड उपलब्ध गराइसकेको छ । सोही कार्डको आधारमा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले छुट पाउनेछन् ।
समितिका अनुसार भक्तपुर पुग्ने करिब ८० प्रतिशत पर्यटकलाई फुड प्वाइजनको समस्या हुने गरेका छन् । त्यस्तै भक्तपुरका विभिन्न ठाउँको दृश्यावलोकन गर्ने क्रममा लडेर घाउ चोटपटक पनि हुने गरेका छन् । यस्तो अवस्थामा पर्यटकलाई कहाँ लाने र के कस्तो उपचार गराउने भन्ने अन्योलको अन्त्य हुने डा. इवामुरा मेमोरियल अस्पतालका निर्देशक केशव दिवाकर दावी गर्छन् ।
अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्ने हेतुले भक्तपुर पर्यटन विकास समितिसँग पर्यटकहरुको स्वास्थ्य उपचार गर्ने सम्झौता गरिएको उनले स्पष्ट पारे ।
पर्यटकहरुको स्वास्थ्य उपचार सुनिश्चित भएपछि भक्तपुर पुग्ने पर्यटकहरुको संख्यामा अझ वृद्धि हुने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष भेलेले विश्वास व्यक्त गरे ।
भक्तपुर नगरपालिकास्थित पर्यटन सेवा केन्द्रका अनुसार यहाँ वार्षिक तीन लाख पर्यटकहरु भक्तपुर पुग्छन् । समितिका अनुसार भक्तपुर नगर क्षेत्रका ५७ वटा ठूला होटल र विदेशी पर्यटक लक्षित १३ वटा ठूला रेस्टुरेन्ट रहेका छन्। (अन्नपुर्ण पोस्ट)