रूसी जंगबहादुर भ्लादिमिर पुटिन



केशवप्रसाद भट्टराई

दोस्रो विश्व युद्धले जर्मनीलाई कम्युनिस्ट र प्रजातान्त्रिक जर्मनी गरेर दुई भागमा विभाजित गरिदियो। पूर्वी जर्मनीभित्रको सहर बर्लिन पनि दुई भाग भयो। दिनहुँजसो हजारौंको संख्यामा पूर्वबाट पश्चिम बर्लिनको सुख र समृद्धिबाट आकर्षित भएर जाने जनतालाई छेक्ने उद्देश्यले पूर्वी जर्मनीको कम्युनिस्ट शासनले दुई बर्लिनको साँधमा अगस्ट १९६१ मा कंक्रिटको पर्खाल लगाए र काँडेतारले जेलिदिए।

सोभियत संघमा मिखाइल गोर्वाचेभको उदयले शासन प्रणालीमा खुलापन, प्रजातान्त्रिक सुधार र आर्थिक र सामाजिक उदारीकरणतर्फका रणनीतिक प्रयासहरूले सोभियत संघ र पश्चिमी मुलुकहरूमाझ विश्वासको वातावरण निर्माण भइरहेको थियो। अर्कोतिर अत्यावश्यक वस्तु र सुविधाको अभावबाट पूर्वी बर्लिन जनअसन्तोषको चेपमा निसास्सिइरहेको थियो। त्यसैबीच ९ नोभेम्बर १९८९ को मध्यरातदेखि पूर्वी बर्लिनका जनता पश्चिम बर्लिन जान स्वतन्त्र भएको घोषणा पूर्वी जर्मनीको कम्युनिस्ट सरकारले गर्यो। उक्त घोषणापछि जुटेका हजारौंहजार जनताको भीडलाई बर्लिनको पर्खालमा रहेको साविकको ढोकाले थेग्न सकेन। जनता आफैं घन, कोदालो र गलजस्ता घरायसी औजार लिएर पर्खाल भत्काउन लागे। अन्ततः बर्लिनको पर्खाल ढल्यो।

पर्खालसँगै जनताको मनमा रहेको भयको पर्खाल पनि ढल्यो। त्यसले सोभियत संघ र पूर्वी युरोपेली राष्ट्रहरूबाट साम्यवादी शासनको पतन, मुलुकहरूको विभाजन र विखण्डनलाई तीव्र बनायो। दुवै जर्मनीको एकीकरणको मागले सोभियत संघ र अमेरिका र युरोपका राजधानीहरू राजनीतिक, सामरिक र कूटनीतिक गतिविधिले तातिरहेको बेलामा बर्लिनभन्दा १६५ किलोमिटर दक्षिण तत्कालीन पूर्वी जर्मनीको ड्रेसडन सहरमा राष्ट्रिय सुरक्षा समिति भनिने सोभियत संघको सर्वशक्तिमान जासुसी संगठन—केजीबीका एक ३७ वर्षीय युवा अधिकारी आफ्नो संस्थाका हजारौं फाइलका ठूलाठूला चाङ आगोमा हालेर खरानी बनाइरहेकाबारे बेन स्टेयलले फरेन पलिसीमा उल्लेख गरेका छन्।

ती युवा केजीबी अधिकारी नै आजको विश्वका सर्वाधिक शक्तिशाली र अनुभवी राजनेता तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन हुन्।

बर्लिनको पर्खाल ढल्नुअघि सोभियत संघ राजनीतिक अस्थिरताको चरणमा थियो। १८ वर्षसम्म सोभियत संघको एकछत्र शासकका रूपमा रहेका लियोनेद ब्रेजनेभको गतिहीन र जर्जर शासनपछि नोभेम्बर १९८२ मा भएको निधनपछिको सत्ता संघर्षमा सोभियत संघको आन्तरिक राजनीतिक र आर्थिक दूरावस्था सार्वजनिक हुन थाल्यो। ब्रेजनेभको निधनपछि नेतृत्वमा आएका युरी आन्द्रोपोभ रकन्सट्यान्टिन चेर्नेन्कोको पनि छोटो अवधिमै निधन भयो। मार्च १९८५ मा चेर्नेन्कोको पनि निधन भयो सोभियत मापदण्डमा युवा ५४ वर्षीय मिखाइल गोर्वाचेभ सोभियत नेतृत्वमा आए।

गोर्वाचेभ इमान्दार तर उदार कम्युनिस्ट थिए। आर्थिक र प्रजातान्त्रिक सुधारबिना कम्युनिस्ट शासनलाई निरन्तरता दिन सकिन्न भन्नेमा विश्वस्त थिए। तर धेरै ढिलो सुरु गरिएको राजनीतिक खुलापन, प्रशासनिक सुधार र सामाजिक र आर्थिक आधुनिकीकरणका प्रयासले आन्तरिक रूपमा पुरै मक्किएको सोभियत शासन प्रणालीमा उनले नयाँ आशा, ऊर्जा र विश्वासको प्राण भर्न सकेनन्।

राजनीतिक सुधारको क्रममा उनले सत्तामा कम्युनिस्ट पार्टीको एकाधिकारलाई अन्त्य गरेर प्रजातान्त्रिकीकरणको साहसिक प्रयास त गरे तर कठोर नियन्त्रणकारी राज्यव्यवस्थालाई उदार बनाउने क्रममा एकातिर तीव्र सुधारको माग र आवश्यकता अर्कोतिर कट्टरपन्थीहरूको सुधारविरोधी अभियानबीच सन्तुलन खोज्ने गोर्वाचेभका प्रयासहरू असफल हुँदै गए। चरम आर्थिक संकटसहित कम्युनिस्ट पार्टीको सत्तामा नियन्त्रण कमजोर हुँदै जाँदा र सोभियत संघअन्तर्गतका राज्यहरूमा स्वतन्त्र र पृथक राज्य स्थापनाको लहरसँगै वैकल्पिक शक्ति केन्द्रहरू निर्माण हुँदै जाँदा स्थिति नियन्त्रण बाहिर हुँदै गयो।

उता सोभियत संघअन्तर्गतको सबैभन्दा ठूलो र शक्तिशाली रूसी संघमा राष्ट्रपति बोरिस यल्तसिनको शक्ति विस्तार हुनेक्रममा स्वयं गोर्वाचेभ कमजोर हुँदै गए। शासनमा कम्युनिस्ट पार्टीको कठोर नियन्त्रण हुँदा सोभियत संघले अँगालेका भूराजनीतिक भ्रमहरू नयाँ परिवेशमा छिन्नभिन्न हुँदै जान थाले। त्यसले सोभियत संघ र पूर्वी युरोपेली मुलुकहरूबाट कम्युनिस्ट शासनलाई मात्र अन्त्य गराएन तिनलाई विभाजन, विखण्डन र अराजकताको नयाँ चरणमा पनि प्रवेश गरायो।

१. गोर्वाचेभको बिदाइ र पुटिनको उदय

सोभियत इतिहास र राजनीतिका प्रकाण्ड विद्वान विलियम टोबम्यान लिखित गोर्वाचेभको जीवनीमा उल्लेख भएअनुसार रूसी राष्ट्रपति बोरिस यल्तसिनले गोर्वाचेभको कार्यालयसमेत नियन्त्रणमा लिएर उनका सहयोगीहरूको अपमानजनक ढंगले खानतलासीसमेत गरेको अवस्थामा उनको बहिर्गमन अवश्यम्भावी भयो। २५ डिसेम्बर १९९१ मा सोभियत जनतालाई सम्बोधन गर्दै गोर्वाचेभले आफ्नो पदत्यागको घोषणा गरे। उक्त घोषणासँगै सोभियत संघको औपचारिक अस्तित्व समाप्त भयो।

गोर्वाचेभ र यल्तसिनबीच परस्पर शत्रुता यहाँसम्म थियो कि स्वीकृत कानुन र अभ्यासअनुसार एउटा राष्ट्र वा सरकार प्रमुखले आफ्नो उत्तराधिकारी राष्ट्र वा सरकारप्रमुखलाई मात्र हस्तान्तरण गरिने आणविक हतियारको जानकारी भएको र त्यस्ता हतियारको आधिकारिक नियन्त्रण तथा आदेशको विधिसम्बन्धी अति गोपनीय र संवेदनशील ब्रिफकेस बुझ्न पनि रूसी राष्ट्रपति यल्तसिन उपस्थित भएनन्। दुई सैनिक अधिकारीहरूको उपस्थितिमा गोर्वाचेभले उक्त ब्रिफकेस सोभियत संघका अन्तिम रक्षामन्त्री तथा यल्तसिनका सहयोगी एभगेनी शापोस्निकोभलाई बुझाए।

यल्तसिनले रूसमा कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध लगाइदिए। गोर्वाचेभ अपमानित भइरहे। कम्युनिस्टहरूले उनलाई गद्दार र यल्तसिन र उनका समर्थकहरूले गोर्वाचेभकै असक्षमताका कारण रूसमा अस्थिरता र अव्यवस्था छाएको दोष लगाइरहे।

बोरिस यल्तसिन लोकप्रिय तानाशाह थिए। कट्टर कम्युनिस्टविरोधी यल्तसिन र कट्टरपन्थी कम्युनिस्टहरूबीचको राजनीतिक धु्रवीकरण र त्यसले निर्माण गर्ने थप अराजकता र अस्थिरतालाई अन्त्य गर्न र मध्यमार्गी विकल्प दिने उद्देश्यले जुन १९९६ को राष्ट्रपतीय निर्वाचनमा गोर्वाचेभ पनि उम्मेदवार बने। तर यल्तसिन र स्टालिनवादी कम्युनिस्ट नेता गेन्नाडी येनायेभबीचको चुनावी द्वन्द्वमा गोर्वाचेभ एक प्रतिशतभन्दा पनि कम मत ल्याएर पराजित भए।

यल्तसिनको स्वास्थ्य राम्रो थिएन। रूस लथालिंग थियो। जताततै लुट र अराजकता थियो। राज्यकोष रित्तो थियो। यल्तसिनलाई अमेरिका र युरोपका मुलुकहरूबाट ठूलो परिमाणमा आर्थिक सहयोगको अपेक्षा थियो तर अनेकौं अपमानजनक सर्तहरू स्वीकारेर त्यस्तो सहयोग ग्रहण गर्न यल्तसिन तयार भएनन्।

महासंकटको भुमरीमा डाँवाडोल भविष्य लिएर बसेको रूसका राष्ट्रपति यल्तसिनले १९९९ को अगस्ट ९ मा आम जनतामा अपरिचित रूसको आन्तरिक सुरक्षा विभागका निर्देशक र शक्तिशाली रूसी सुरक्षापरिषद्का कार्यकारीप्रमुखको पदमा रहेका भ्लादिमिर पुटिनलाई एकीकृत र शक्तिशाली राष्ट्रका रूपमा रूसको भविष्य सुनिश्चित गर्नसक्ने एक्लो व्यक्ति भन्दै प्रधानमन्त्री नियुक्त गरे र राष्ट्रपतिको रूपमा उनैलाई आफ्नो उत्तराधिकारी समेत घोषणा गरे।

देश—विदेशमा परिचित एकसेएक राजनीतिक हस्तीहरू पालैपालो भ्रष्ट र असक्षम सावित हुँदै जाँदा चरम निराशा र हतासामा डुबेका रूसी जनताले बिल्कुलै नयाँ र युवा अनुहारका पुटिनमा आफ्ना लागि आशा र सम्भावना देखे।

३१ डिसेम्बर १९९९ मा यल्तसिनले पुटिनलाई कार्यवाहक राष्ट्रपति मनोनीत गरे। अ श्रुपूर्ण नजर र अवरुद्ध गलाबाट पुटिनलाई ‘रूसको रक्षा गर’ ‘रूसको रक्षा गर’ भन्दै यल्तसिन राष्ट्रपति पदबाट बिदा भएर गए। राष्ट्रपतिमा नियुक्त भएको भोलिपल्टको नयाँ वर्षको सन्देशमा पुटिनले रूसी जनतालाई मुलुकको विखण्डनमा पूर्णबिराम लाग्ने आश्वासन दिए। रूसी जनतालाई आफ्नो मुलुकको भविष्यप्रति आश्वस्त पारे।

निःसन्देह रूस विश्वको सैनिक महाशक्ति राष्ट्र नै हो। उसको विश्वव्यापी प्रभाव छ। त्यसैले आफ्नो नेतृत्वको विश्व व्यवस्थाको स्थिरता र सुरक्षाको लागि पनि रूसी राष्ट्रिय मनोविज्ञानलाई सम्मान गर्नु र ऊसँग सहकार्यका विधि र पद्धति निर्माण गर्नु अमेरिकाको महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व हो।

राष्ट्रपतिमा नियुक्त हुनुभन्दा दुई दिनअघि जारी गरेको प्रतिज्ञा पत्रमा एउटा सवल र शक्तिशाली राष्ट्रको पहिचान निर्माण गर्ने, कुनै विचार र दर्शनलाई राज्य दर्शनको रूपमा स्वीकार नगर्ने, राजनीतिक र सामाजिक मूल्यहरूमा बेलायत र अमेरिकाका फोटोकपी नबन्ने, रूसको आफ्नै देशभक्ति, परम्परागत राष्ट्रिय मूल्यहरू प्रवद्र्धन गर्ने तथा राज्यको प्रधानता र विश्व समुदायमा आफ्नो राष्ट्रिय सम्मान र मर्यादाको सम्बद्र्धन गर्दै राष्ट्रिय एकता र समृृद्धि आर्जन गर्ने उल्लेख गरेका थिए।

पुटिनले आफ्नै नाममा जनादेश खोजे र २६ मार्च २००० मा भएको निर्वाचनमा विजयी भएदेखि उनी रूसी राजनीतिको केन्द्रमा मात्रै छैनन् समसामयिक विश्वका सर्वाधिक अनुभवी र शक्तिशाली राजनेताको परिचय बनाएर बसेका छन्।

यही १८ मार्च २०१८ मा भएको रूसी राष्ट्रपतिको निर्वाचनमा भ्लादिमिर पुटिन ठूलो बहुमतले पुनःनिर्वाचित हुन्छन् भन्नेमा अन्तर्राष्ट्रिय राजनीतिमा धेरथोर रुचि राख्ने सबैलाई ज्ञात थियो।

पुटिनबाहेक अन्य छजना पनि राष्ट्रपतिको निर्वाचनमा सहभागी थिए–ती मध्ये कट्टर कम्युनिस्टदेखि उग्र दक्षिणपन्थीसम्म थिए। विख्यात मिडियाकर्मी र टेलिभिजन स्टार पनि थिइन्। सबैले निर्वाचन अभियानमा पुटिनको उग्र विरोध गरेका थिए। कट्टर पुटिनविरोधी र पश्चिमी राष्ट्रहरूले विशेष मन पराइएका अलेक्सी नभाल्नीलाई भने आर्थिक अनियमितताको आरोपमा निर्वाचनमा उम्मेदवार बन्नबाट नै वन्चित गरिएको थियो।

२. समयको मागले जन्माएको रूसी जंगबहादुर भ्लादिमिर पुटिन

साम्यवादले सयौं वर्षको मानव इतिहास अध्ययन गरेर आफ्ना राजनीतिक र आर्थिक दर्शन निर्माण गर्यो तर मूल मानव प्रकृतिलाई बुझ्न सकेन र नै पश्चिमी शैलीको प्रजातन्त्रमाथि नैतिक विजय प्राप्त गर्न सकेन।

रूसी जनतामा कम्युनिज्मका प्रति कुनै आस्था रहेको देखिन्न तर शताब्दीयौंदेखिको विशाल, शक्तिशाली र विश्व राजनीतिको प्रमुख राष्ट्रको परिचय बोकेका रूसलाई अमेरिका र पश्चिमी मुलुकहरूले गरेको अवमूल्यन र रणनीतिक विश्वासघातले उनीहरूलाई आक्रोशित बनाएको बुझ्न सकिन्छ।

जनताको त्यही भावनाको बलमा गएको दुई दशकदेखि पुटिन दृढताका साथ रूसमा शासन गरिरहेका छन्। मुलुकको मूल आयस्रोत तेल तथा ग्यास भएको, तिनको मूल्यमा निरन्तर गिरावट आएको र बारम्बार युरोपीय मुलुकहरू र अमेरिकाले रूसका विरुद्ध कठोरनाका बन्दी लगाइरहेको अवस्थामा पनि पुटिनको शासनकालमा रूसी जनताको प्रतिव्यक्ति आयमा दोब्बर वृद्धि भएको छ।

रुसलान पुखोभ र क्रिस्टोफर मार्शद्वारा लिखित पुस्तकको आधारमा गएको जनवरीमा नेसनल इन्ट्रेस्ट पत्रिकामा प्रकाशित देव मजुमदारको लेखअनुसार रूससँग अमेरिकापछिको सबैभन्दा प्रशिक्षित र उम्दा सैनिक छन्। रिचार्ड लरीको २०१७ मा प्रकाशित पुस्तकअनुसार अप्रिल २०१६ मा पुटिनले नेसनल गार्ड नामको चार लाख संख्याको प्रत्यक्षरूपमा आफूप्रति उत्तरदायी र अत्याधुनिक हातहतियारले सुसज्जित एउटा नयाँ सैन्यदल गठन गरेका छन्।

रूसले पूर्वी युरोपमा उपस्थित नाटो सैनिक उपस्थितिलाई लक्ष्य गरेर अत्याधुनिक ट्यांक प्रणाली विकास गरेको छ। गएको मार्च १ मा रूसी संसद्लाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले संसारको कुनै पनि हतियार प्रणालीले रोक्न, छेक्न वा वाधित गर्न नसक्ने, अहिलेसम्म कुनै पनि मुलुकले विकास गर्न नसकेको र कुनै पनि क्षेप्यास्त्र प्रणालीले अनुगमन गर्न नसकिने तीव्रतम गतिको आणविक हतियार प्रहार गर्नसक्ने अन्तरमहाद्विपीय क्षेप्यास्त्र विकास गरेको जानकारी दिए। केही विज्ञहरूले त्यस्तो क्षेप्यास्त्र विकास गर्ने रूसको वैज्ञानिक र प्राविधिक क्षमतामा प्रश्न उठाएको भए तापनि ब्रिटिस साप्ताहिक दी इकोनोमिस्टले गएको मार्च ८ मा विभिन्न प्राविधिक आधारमा पुटिनले दाबी गरेजस्तो क्षेप्यास्त्र सम्भव भएको बताएको छ।

फेबु्रअरी २०१८ मा प्रसिद्ध अमेरिकी थिंकट्यांक हेरिटेज फाउन्डेसनको एउटा कार्यक्रममा बोल्दै अमेरिकी उपरक्षामन्त्री डेभिड ट्रयाच्टेनबर्गले रूस सीमित परमाणु हतियारको प्रयोग गर्ने पक्षमा रहेको बताएको भनेर वासिंगटन फ्री विकनमा न्याटली जोन्सनले बताएकी छन्।

अमेरिका, नाटो र युरोपियन समुदायको शत्रुतापूर्ण रणनीति र नाकाबन्दीबीच पनि पुटिनले आफूले कबोले जस्तै रूस मोटामोटी रूपमा जनतालाई दिन सके। दृढ इच्छाशक्ति, राष्ट्रभक्ति र परम्परागत मूल्य र संस्कृतिप्रतिको निष्ठाले गर्दा उनी रूसभित्र अत्यधिक लोकप्रिय छन्।

रूसीहरूको साम्यवादविरोधी चेतना तथा स्वतन्त्रता र प्रजातन्त्रप्रतिको आकांक्षामा अमेरिकाले उनीहरूको नैतिक नेतृत्व गरेको थियो। अमेरिकाप्रति रूसी जनताको असाधारण सद्भाव र सम्मान थियो। तर मूलतः राष्ट्रपति बाराक र विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा अमेरिकाले रूसी जनताको सम्मान र भावनाविपरीत सोभियत संघको उत्तराधिकारी राष्ट्रकै रूपमा पुटिन र रूसको तेजोबध गर्ने रणनीतिक रुचि प्रदर्शन गर्ने गरेपछि रूसी जनतामाझ पुटिन झन्झन् लोकप्रिय हुँदै गए।

जर्मनीको एकीकरणका प्रयासहरू र पूर्वी युरोपीय मुलुकहरूमा प्रजातन्त्रको लहर चल्दै गर्दा त्यस्ता प्रयासविरुद्ध सोभियत संघले कुनै हस्तक्षेप नगर्ने र सोबापत नाटो साविकको भन्दा एक इन्च पनि अघि नबढ्ने प्रतिवद्धता अमेरिकी र अन्य पश्चिमी उच्चाधिकारीहरूले आफूहरूसमक्ष राखेकोबारे सोभियत राष्ट्रपति गोर्वाचेभ, विदेशमन्त्री मन्त्री एडुवार्ड शेवर्डनाड्जे र रूसी राष्ट्रपति बोरिस यल्तसिनलगायतका नेताहरूले बताउँदै आएका थिए। तर अमेरिकी उच्चाधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका थिए।

तर हालै आएर अमेरिकी सरकारले सार्वजनिक गरेका र जर्ज वासिंगटन युनिभर्सिटीको नेसनल सेक्युरिटी अर्काइभमा रहेका चिठी, पत्र, भेटघाटका टिप्पणीहरू र अन्य विवरणहरूका आधारमा अमेरिकी राष्ट्रपति जर्ज बुस, पश्चिम जर्मन चान्सलर हेल्मुट कोल, ब्रिटेनकी प्रधानमन्त्री मार्गरेट थ्याचर, फ्रान्सका राष्ट्रपति फ्रान्स्वा मित्तरासहित उनीहरूका विदेश तथा रक्षामन्त्रीहरू र सीआईएका निर्देशक रोबर्ट गेट्सलगायतका उच्चाधिकारीहरूले त्यस्तो प्रतिवद्धता व्यक्त गरेको कुरालाई सत्य सावित गरेको छ।

स्मरणीय छ, सोभियत युगमा नजिकको नाटो राष्ट्र र मस्कोको दूरी दुई हजार सात सय किलोमिटर थियो आज त्यो दूरी आठ सय किलोमिटर मात्र छ र रूसका लागि संवेदनशील भूभागको रूपमा रहेका रसीमा जोरिएका युक्रेन र जर्जियालाई पनि नाटोको सदस्यता प्रदान गर्ने कुराले रूसलाई थप आक्रामक बनाएको बुझ्न सकिन्छ। क्रिमिया विलय र युक्रेन संकटको मूलमा पनि नाटो र युरोपियन युनियनको रूसविरोधी मोर्चा नै जिम्मेवार देखिन्छ।

हेनरी किसिन्जरका अनुसार हरेक मुलुकले आफ्ना रणनीतिक लक्ष्य र विकल्पहरूको छनौट गर्दा एउटा नैतिक मानदण्ड अनुशरण गरेकै हुनुपर्छ। स्पष्ट छ रूस र सोभियत संघको सवालमा अमेरिका र नाटोले त्यस्तो नैतिक मानदण्डलाई अनुशरण गरेको देखिएन र त्यो अमेरिका जस्तो संसारभरका प्रजातन्त्र र स्वतन्त्रताका मूल्यहरूप्रति प्रतिवद्ध जनताको नैतिक नेतृत्व गरिरहेको मुलुकको गौरव सम्मानअनुरूप हुन सक्दैन।

अमेरिकाको र खास गरेर राष्ट्रपति ओबामा र विदेशमन्त्री क्लिन्टनको रूस रणनीति नै २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विवादित रूसी हस्तक्षेपमा र अमेरिकी राजनीतिको चरम विभाजनमा रुपान्तरित भएको अनुभव गर्न सकिन्छ।

ठूला र शक्तिशाली मुलुकहरूबीच शक्ति सन्तुलनको स्थितिबिना विश्वमा शान्ति र स्थिरता सम्भव छैन। निःसन्देह रूस विश्वको सैनिक महाशक्ति राष्ट्र नै हो। उसको विश्वव्यापी प्रभाव छ। त्यसैले आफ्नो नेतृत्वको विश्व व्यवस्थाको स्थिरता र सुरक्षाको लागि पनि रूसी राष्ट्रिय मनोविज्ञानलाई सम्मान गर्नु र ऊसँग सहकार्यका विधि र पद्धति निर्माण गर्नु अमेरिकाको महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व हो। (अन्नपुर्ण पोस्ट)

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

प्रतिक्रिया दिनुहोस्