काठमाडौँ: १४ वर्षसम्म कठोर जेल जीवन बिताएका केपी शर्मा ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । तीन तिहाइ बहुमत पाएका प्रधानमन्त्री ओली पार्टीमा पनि उत्तिकै शक्तिशाली भएका छन् ।
साढे तीन वर्ष पहिलेको नवौँ महाधिवेशनमा रोगीलाई पार्टी अध्यक्ष बनाउनु हुँदैन भनेर चर्को प्रचारबाजी गरियो । तर पनि माधवकुमार नेपाललाई ४५ भन्दा धेरै मतले पराजित गर्दै उनै पार्टी अध्यक्ष बने, त्यसपछि पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए ।
‘रोगी’ देखि शक्तिमान
रोगीलाई दुई दिनका लागि अध्यक्ष बनाउनु हुन्न भन्नेहरु अहिले दुला पसेका छन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले नाकाबन्दी लगाइसकेको थियो । तर, उनी भारतसँग झुकेनन्, अन्तत: उनकै कार्यकालमा नाकाबन्दी पनि खुल्यो ।
नाकाबन्दीको समयमा प्रधानमन्त्री बनेका ओलीले मुलुकमा रेल र पानी जाहज कुदाउने, लोडसेडिङ अन्त्य गर्ने, घरघरमा ग्यासको पाइप पुर्याउने र हावाबाट बिजुली निकाल्ने जस्ता योजना अघि सारे । उनले ती योजना ल्याउँदा आलोचकहरुले उनलाई हाँसको पात्र बनाए, मजाक गरेको भन्दै खिल्ली समेत उडाए ।
पछिपछि कांग्रेस
तर उनै ओलीले अघि सारेको योजनाको चर्को आलोचना गर्ने नेपाली कांग्रेसले पनि आफ्नो चुनावी घोषणापत्रमा रेलको फोटो नछापी चित्त बुझाएन । ओलीले सारेका योजनासहित कांग्रेसले पनि रेल कुदाउने र लोडसेडिङ अन्त्य गर्नेसहितका विषय समेटेर कांग्रेसले पनि घोषणा पत्र ल्याएपछि आलोचक मुख थुन्न बाध्य भए ।
अडानमा कायम
भारतीय नाकाबन्दीसँग जुध्दै पहिलो कार्यकाल बिताएका ओलीलाई जनताले पनि साथ दिए । खाना पकाउने ग्यासको हाहाकार भएका बेला ओली नेतृत्वको सरकारले दाउरा बाँडेर भए पनि जनताको चुल्हो निभ्न दिएन ।
तर त्यसबीचमा पेट्रोलियम पदार्थको चरम अभाव भयो । सर्वसाधारण नागरिक केही लिटर तेलका लागि रातदिन लाइन बसे तर ओलीको राष्ट्रवादी लाइनलाई साथ दिँदै कष्ट सहिरहे । ओलीलाई साथ दिएका सर्वसाधरणले भारतको चर्को विरोध गरे यो ओलीका लागि ठूलो सफलता थियो ।
नेतालाई गाली गर्ने युवापुस्ताको पनि ओलीले त्यो बेला मन जिते । २०७२ असोज ३ गते नयाँ संविधानको घोषणा गर्दा नेपालले इतिहासकै ठुलो चुनौतीको सामना गर्नुपरेको थियो । नेपाल आफैँले संविधान जारी गर्ने कुराले भारत रुस्ट भइसकेको थियो । तर ओलीसहितका केही नेताको अडानकै कारण संविधान घोषणा भयो ।
संविधान घोषणा गर्दा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री थिए । कोइरालासँगै ओली तत्काल संविधान जारी गर्ने पक्षमा थिए । संविधान जारी गर्न दबाब दिएकै कारण उनले मधेस र भारत विरोधीको बिल्ला पनि भिर्नु पर्यो ।
भारतले तत्काल संविधान जारी नगर्न भन्दै हस्तक्षेप नै गर्न खोज्यो । तर नेपालले यो कुराको नजरआन्दाज गर्दै संविधान जारी गर्यो । संविधान घोषणा गर्ने समयमा सबैभन्दा बढी सक्रिय नेताका रुपमा थिए ओली ।
माओवादीका कटु आलोचक
माओवादीका कटु आलोचकरुपमा स्थापित ओलीले अहिले माओवादी केन्द्रसँगै पार्टी एकता गर्दैछन् । उखान टुक्का मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतालाई प्रहार गर्न सीपालु उनैको नेतृत्वमा माओवादी पनि आइपुगेको छ।
नाकाबन्दीताका भारतविरोधीका रुपमा आरोप खेपेका ओलीसँग भेट्न प्रधानमन्त्री नहुँदै विदेशमन्त्री सुष्मा स्वराज आइपुगिन् । मधेसवादी दललाई समेत ओली सरकारलाई सहयोग गरेर अघि बढ्न सुझाउँदै उनी फर्किइन् । मधेस आन्दोलनका बेला ओली विरोधी देखिका मधेसवादी दलले समेत अहिले उनलाई समर्थन गरेर तीन तिहाइको सरकार बनाउन साथ दिएका छन् ।
तीन तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका ओलीको कार्यकालभर उनको सहमतिबिना अरुले टाउको उठाउन समेत गाह्रो देखिन्छ ।
पकड झन् बलियो
आफुलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण गर्ने ओलीको स्वभावका कारण पार्टीमा उनीको शक्ति बढेको छ । सात प्रदेशमध्ये एमालेले पाएका ४ प्रदेशमा उनीनिकट मुख्यमन्त्री छन् । प्रदेश १ मा मा पार्टी सचिव भीम आचार्यलाई हराएर ओलीनिकट शेरधन राई मुख्यमन्त्री बने ।
त्यस्तै प्रदेश तीनमा पार्टी उपाध्यक्ष एवम् वरिष्ठ महिला नेतृ अष्टलक्ष्मी शाक्यलाई हराएर मकवानपुरका डोरमणि पौडेल ओलीकै साथका मुख्यमन्त्री हुन सफल भए । प्रदेश चारमा पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ मा शंकर पोखरेल मुख्यमन्त्री हुन् । गुरुङ र पोखरेल ओलीका विश्वास पात्र हुन ।
रोगीलाई दुई दिनका लागि अध्यक्ष बनाउनु हुन्न भन्नेहरु अहिले दुला पसेका छन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले नाकाबन्दी लगाइसकेको थियो । तर, उनी भारतसँग झुकेनन्, अन्तत: उनकै कार्यकालमा नाकाबन्दी पनि खुल्यो ।
पार्टीमा रहँदा ओलीको गुटलाई लामो समयदेखि साथ दिएकी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी छन् । राष्ट्रिय सभा अध्यक्षमा पनि ओलीकै नजिकका गणेशप्रसाद तिमिल्सिना निर्वाचित भए । शिवमाया तुम्बाहाम्फे प्रतिनिधि सभा उपसभामुख भएकी छन् । तिमिल्सिना र तुम्बाहाम्फे दुवै ओलीनिकट हुन् ।
महान्यायाधिवक्तामा अग्नि खेरल र प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । दुवैले ओलीलाई अफठ्यारोमा कहिल्यै छोड्नन । संचार विज्ञको रुपमा रामशरण बजगाईँ नियुक्त भएका छन् ।
रोजाइमा इमान्दार
ओलीले मन्त्रिपरिषद्मा दाग नलागेका र केही गर्न सक्ने आशा भएका नेतालाई समावेश गरेका छन् । अर्थमन्त्रीमा डा. युवराज खडिवडा, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रीमा लालबाबु पण्डित, परराष्ट्रमन्त्रीमा प्रदीप ज्ञवाली, श्रम तथा रोगजारमा गोकर्ण विष्ट र पर्यटन तथा नागरिक उड्ययनमा रवीन्द्र अधिकारी जस्ता आश लाग्दा नेतालाई मन्त्री बनाएर देशका लागि केही गर्छु भन्ने सन्देश दिएका छन् ।
शक्ति एकै मुठीमा
ओलीले प्रधानमन्त्री पदलाई अझै बलियो बनाउँदै गइरहेका छन् । गृह, अर्थ र कानुन मन्त्रालय मातहतका केही महत्वपूर्ण कार्यलय प्रधानमन्त्रीको कार्यालय मातहतमा ल्याएका छन् ।
महान्यायाधिवक्ताको कार्यालय, ७७ जिल्लाकै न्यायाधिवक्ताको कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग ओलीले आफ्नो मातहतमा ल्याएका छन् । महान्यायाधिवक्ता र न्यायाधिवक्ताको कार्यालय कानुन मन्त्रालयको मातहतमा थियो । सम्पत्ति शुद्धिकरण विभाग र राजस्व अनुसन्धान विभाग अर्थमन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालयको मातहतमा थिए ।
कष्टपूर्ण राजनीतिक यात्रा
लामो समय कष्टपूर्ण राजनीतिक जीवन बिताएका ओली पहिलो पटक २०५१ सालको मनमोहन अधिकारीको नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा गृहमन्त्री बने । नौ महिनाको गृहमन्त्री बन्दा निष्कलंक रहे ।
ओली बाहेक गृहमन्त्री बनेका एमाले नेता वामदेव गौतम र भीम रावल समेतको कार्यकाल आलोचित रह्यो । कांग्रेसबाट गृहमन्त्री बनेका शेरबहादुर देउवा, गोविन्दराज जोशी, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का अत्यन्त आलोचित हुँदा उनी विवादमा परेनन् ।
पहाडको छोरो मधेसमा
गरिब किसान परिवारमा २००८ सालमा तेह्रथुमको इवा गाविस-२ तीनसल्लेमा जन्मिएका ओलीले नेपालमा विकास र समृद्धि सम्भव छ भन्ने आशाको किरण छरेका छन् ।
स्पष्ट वक्ता र अडान राख्ने क्षमता भएका ओलीप्रति अन्य दलले पनि विश्वास बढाएका छन् । उनको मन्त्रिपरिषदको स्वरुपले ओलीप्रति केही आशा गर्नेहरु धेरै छन् ।
पुरा गर्लान् बाचा
उनको कार्यकाल मुलुकले गति लिन सकेमा देश आर्थिक छलाङतिर बढ्न सक्छ । नेपालमा ओली युगको रुपमा इतिहासमा लेखिने सम्भावना पनि छ । उनले प्रधानमन्त्री भएलगतै नेपाललाई विकसित मुलुकको सूचीमा पुर्याउने उद्घोष गरेका छन् । विदेशी नेतालाई तुलना गर्नु भन्दा पनि ओलीलाई ओलीकै रुपमा विश्व इतिहासमा परिचित हुने अवसर अहिले आएको छ ।
धेरै छन् अपेक्षा
ओलीसँग मानिसका धेरै अपेक्षा छन् । जनसराकोरका केही मुद्दाहरु सम्बोधन गर्न सके मात्रै ओलीको सफल नेता बन्नेछन् । जनताको अपेक्षा नै ओली प्रमुख चु्नौती हुन् । ओलीबाट अपेक्षा पूरा भएनन् भने जनतामा निराशाले सताउने छ । ओलीबाट मुलुकमा केही भएन भने देश बन्ने अवसरमा पनि लामो समय पूर्णविराम लाग्नेछ ।
गिरिजाप्रसाद कोइरालाले देश बनाउने अवसर पाएका थिए । तर २-२ पटक उनले त्यसको सदुपयोग गर्न सकेनन् । त्यहीकारण देश ३० वर्ष पछाडि धकेलिएको छ । गिरिजाप्रसादपछि देश बनाउने अवसर ओलीको हातमा छ । यदि पहिलो पटक प्रम हुँदा गरेका बाचा पुरा गर्न सके भने ओली राज नेता कहलिने छन् । (अन्नपुर्ण पोस्ट)