लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा



सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेकाे वाणिज्य बैंकनजिकैको सोनी रेस्टुरेन्टमा नगद ७० हजार रुपैयाँ लिँदै गर्दा ट्राफिक जवान मोतिकुमार श्रेष्ठलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

गाडीको लाइसेन्स बनाइदिने भन्दै २ जना सेवाग्राहीसँग ३५–३५ हजार रुपैयाँका दरले रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाबाट खटीआएका डीएसपी महेन्द्र खड्काले बताए ।

उनले भने, ‘पक्राउ गरिएका ट्राफिक जवान श्रेष्ठमाथि थप अनुसन्धान गरिनेछ ।’ घुस लिँदै गर्दा ट्राफिक प्रहरी जवान श्रेष्ठ बर्दीमै थिए ।

वीरगञ्जबाट ठूलो गाडीको लाइसेन्स बनाइदिने भन्दै श्रेष्ठले घुस लिएकाे स्रोतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले ट्राफिक जवान श्रेष्ठले वीरगञ्चबाट हेभी गाडीको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीलाई आश्वासन दिएको पाइएकाे बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्