निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई खुवाएको शपथ संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइका लागि बाटो खुलेको छ ।
अधिवक्ता नारायण खरेलले सर्वोच्च अदालतमा हालेको निवेदनमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिट दर्ता गर्न आदेश दिएपछि राष्ट्रपति भण्डारीको शपथबारे सुनुवाइ हुने बाटो खुलेको हो ।
अधिवक्ता खरेलले राष्ट्रपतिको शपथ असंवैधानिक भएको भन्दै दायर गर्न खोजेको रिट सर्वोच्च प्रशासनले दरपिट गरिदिएको थियो । सर्वोच्चले रिट दरपिट गरिदिएपछि उनले राष्ट्रपतिले निवर्तमान प्रधानन्यायाधीश पराजुलीले खुवाएको शपथविरुद्धको रिट दर्ताको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
गत ३० फागुनमा न्यायपरिषद्का सचिव नृपध्वज निरौलाको पत्रका आधारमा उमेरहदले पराजुली सेवा निवृत्त भएका थिए । त्यसपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । अधिवक्ता खरेलले सर्वोच्चमा रिट दर्ता गरेमा राष्ट्रपतिको शपथ संवैधानिक या असंवैधानिक के हो भन्ने विषयमा इजलासमा सुनुवाइ हुनेछ । पराजुलीले गराएको शपथ असंवैधानिक ठहर भएमा राष्ट्रपति भण्डारील पुनः शपथ खानुपर्नेछ । नयाँ पत्रिका)