म्याग्दी, १४ चैत
जिल्लाको धौलागिरी गाउँपालिका–६ ताकमकी एक परिक्षार्थीले बच्चा जन्माएको एकघण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिक्षा दिन केन्द्रमा पुगेकी छन् । मंगलबार विहान अचानक सुत्केरी ब्यथा लागेपछि ताकम स्वास्थ्य चौकीमा पुगेकी २१ बर्षिय फुलमायाँ केसीले छोरी जन्माए लगत्तै परिवारको सहयोगमा स्ट्रेचरको प्रयोग गरी हेम मावि सिवाङ केन्द्रमा पुगेको श्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालले बताए ।
‘परिक्षा सुरू हुन लागेको अवस्थामा बच्चा जन्मिएको खवर आयो,परिक्षार्थीलाई छुट्टै कोठामा राखेर परिक्षा दिने ब्यवस्था मिलाएका छौ’छन्त्यालले भने ।सुत्केरी भएलगत्तै फुलमायाँले विज्ञान विषयको परिक्षा दिने बताएपछि स्वास्थ्यकर्मीले समेत उनलाई स्टे«चरमा लैजान सुझाव दिएका थिए ।
‘स्वास्थ्यकर्मीले पनि नजर लगाउनुभएको छ । उहाँलाई समय थप गरिन्छ’ छन्त्यालले भने । केसीको छोरीको नाम समेत प्रवेशिका राखिएको छ । धौलागिरी गापा–३ मुना सोलवाङ स्थायी घर भएकी केसीले ताकम माविबाट परिक्षा सहभागी भएको परिक्षा केन्द्रले जनाएको छ । केन्द्रमा २२३ जना परिक्षार्थी परिक्षामा सहभागी छन् । केन्द्रमा छिमेकी मालिका गाउँपालिकाको देविस्थानको भिम मावि र गौगमबस्त्र माविका विद्यार्थी समेत सहभागि छन् ।
धौलागिरी गाउँपालिकाको मराङ र मल्कावाङका विद्यार्थी जनप्रिय मावि दरवाङ परिक्षा केन्द्रबाट परिक्षा दिएका छन्। म्याग्दीमा एसइई परीक्षाका लागि यसवर्ष कुल २ हजार ३३९ जना परीक्षार्थी रहेका थिए । छात्रा १ हजार १६९ र छात्र १ हजार १५७ रहेकोमा तीमध्ये १४ जना एम्जाम्टेडतर्फका परीक्षार्थी रहेको विद्यालय निरीक्षक रेग्मीले जानकारी दिएका छन् । यसैगरी ५ जना दृष्टिविहिन विद्यार्थीहरु रहेका छन् ।