काठमाडौँ, १४ चैत
काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ ।
मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् ।
गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पुर्याइएको हो ।
जनवहालस्थित मन्दिरबाट उक्त मूर्ति विधिविधानपूर्वक रथारोहण गरी लगनस्थित माताको मन्दिरमा तीनपटक परिक्रमा गराउने प्रचलन छ । आजै साँझ आमा र छोराको भेट गराउने कार्यक्रम रहेको सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।
वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथलाई दर्शन गरेमा रोगव्याधीबाट मुक्त भइने जनविश्वास रहेको काठमाडौँ महानगरपालिका–२४ का वडा सदस्य विनोद तुलाधरले बताउनुभयो ।
परिक्रमापछि सानो खटमा राखेर मूर्तिलाई जनवहालस्थित मन्दिरमा पुर्याइने छ । (रासस)