इलाम, १४ चैत
इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् ।
महिला संघ, इलामका अध्यक्ष निर्मला सञ्जेलले भन्नुभयो, “महिलालाई बच्चा जन्माउने मेसिनमात्र नसम्झन हामी नगरपालिकालाई आग्रह गर्छौं ।” यो निर्णय महिलाका लागि स्वीकार्य नहुने महिला संघले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
यस निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने महिला संघको भनाइ छ । नगरपालिकाका प्रमुख पुरुष भएकाले यस्तो निर्णय भएको भन्दै महिलालाई होच्याउने कार्य भएको महिला संघको ठहर छ ।
नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ्य शिक्षा, व्यवस्थित बसोबासलगायतका कुरामा इलाम नगरपालिका कमजोर भएका अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा महिला संघ इलामका अध्यक्ष निर्मला सञ्जेल र सचिव बबिता लिङ्दमले हस्ताक्षर गर्नुभएको छ ।
यो निर्णय सात दिनभित्र नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । यस निर्णयको सार्वजनिक सञ्जालमा समेत चर्को आलोचना हुँदै आएको छ । (रासस)