बागलुङ, १४ चैत
जिल्ला कृषि विकास कार्यालय मातहतका कृषि सेवा केन्द्र स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।
जिल्लाका ६ वटै कृषि सेवा केन्द्र स्थानीय तहअन्तर्गत रहने गरी हस्तान्तरण भएको कार्यालयले जनाएको छ । कुश्मीसेरामा रहेको कृषि सेवा केन्द्र जैमिनी नगरपालिकामा, बिहुँ केन्द्र काठेखोला गाउँपालिकामा, हरिचौर केन्द्र गलकोट नगरपालिकामा, खरबाङ केन्द्र बडीगाड गाउँपालिकामा, बुर्तिवाङ केन्द्र ढोरपाटन नगरपालिका र हुग्दीशिर केन्द्र बरेङ गाउँपालिकामा हस्तान्तरण भएको हो ।
संघीय संरचनाअन्तर्गत कृषि सेवा केन्द्र स्थानीय तहको मातहातमा पुगेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो । “केन्द्रको सञ्चालन र व्यस्थापनको जिम्मा स्थानीय तहमा गएको छ” उहाँले भन्नुभयो । कृषिको योजना निर्माण र कार्यान्वयन स्थानीय तहबाटै हुने उहाँको भनाइ छ । हाल रहेका सेवा केन्द्रको सट्टामा स्थानीय तहमा कृषि शाखा रहन सक्ने सम्भावना छ ।
स्थानीय तह नहुँदा कृषिका सबै काम सेवा केन्द्रबाट हुँदै आएका थिए । सेवा केन्द्रका कर्मचारीले आगामी साउनदेखि तलब पनि स्थानीय तहबाटै खाने भएका छन् । चालू आवबाटै कृषिको बजेट स्थानीय तहमा पुगेर अहिले कार्यान्वयनको चरणमा छ ।
“जिल्लामा दुई/तीन वटाबाहेक कार्यक्रम छैन, सबै स्थानीय तहमा गएको छ” अधिकृत अधिकारीले भन्नुभयो । सरकारले तोकेअनुसार सबै स्थानीय तहमा कृषिका कर्मचारी खटिएका छन् । नगरपालिकामा अधिकृत र गाउँपालिकामा प्राविधिक सहायक हुनुपर्ने व्यवस्था छ । (रासस)