प्रचण्डको प्रस्तावले झस्किए ओली, पार्टी एकीकरण धरापमा हुने आशंखा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता र कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव गरेका छन् जुन प्रस्तावबाट ओली झस्किएका छन् । दुई पार्टीबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट भएको थियो ।

तर, चुनावी परिणाममा एमाले ७० र माओवादी केन्द्र ३० को नतिजामा देखिएपछि सरकार गठनमा भने ७०–३० को भागबन्डा भएको थियो ।अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय संरचनादेखि तल्ला कमिटी कति संख्याको बनाउने र कुन पार्टीले कति प्रतिशतका आधारमा नेता–कार्यकर्ता व्यवस्थापन गर्ने भन्नेमा शीर्ष दुई नेताको निर्णय पर्खिएका बेला दाहालको पछिल्लो प्रस्ताव आएको हो ।

तर, दाहालले एमालेमा भन्दा माओवादीमा पूर्णकालीन र जुझारु कार्यकर्ता बढी भएको र विगतमा माले(माक्र्सवादी)बीचको एकता, माओवादीले विभिन्न समूहसँग गरेको एकता समान ढंगले नै गरेकाले अहिले पनि दुई पार्टी एकता दुवै पक्षको अस्तित्व स्वीकार गरेर गरिनुपर्ने बताएका हुन् ।

दुई पार्टीबीच प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी तयारी हुन थालेपछि अब छलफल पार्टी कमिटीका आकार र कमिटीमा प्रतिनिधित्वका विषयमा केन्द्रित हुन थालेको छ । (अखवार दैनिक)

प्रतिक्रिया दिनुहोस्