नेपालगन्ज, १४ चैत
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”
नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भन्नुभयो ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भन्नुभयो ।
अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भन्नुभयो –“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।”