१२ दिन सार्वजनिक बिदा कटौती, संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने



१३ चैत्र २०७४
काठमाडौँ , सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । मुलुकमा सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गरेको छ । अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय भएको जानकारी पर्यटनमन्त्री रवीन्द्र अधिकारीले दिए । अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।

कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । अब लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने जानकारी अधिकारीले दिए । संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । ‘अब संविधान दिवसबाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा हुने छैन, उनले भने ।

सरकारले बडादसैंमा दिइँदै आएको बिदासमेत घटाएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।

सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको दरबन्दी र संरचनासमेत स्वीकृत गरेको छ । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन तहका लागि दरबन्दी र संरचना स्वीकृत गरेको हो । अब स्थानीय तह (महानगर, उपमहानगर, नगर र गाउँपालिका) का लागि ३६ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्