राज्य, दल र गिरोहवाद



प्रदीप गिरी

राजनीतिक दल नौलो प्रक्रिया होइनन्। राज्यको उत्पत्ति हुनुअघिदेखि पनि व्यक्ति र समूहहरूमा सत्तासंघर्ष थियो। राज्यलाई संस्थागत गर्नका निमित्त हिंसा आवश्यक रहेको पुराणमा उल्लिखित छ। राजा वेनको हत्याको कथा एउटा यस्तै प्रसंग हो। यस्ता हिंसा–संघर्षमा दलबन्दी अनिवार्य हुन्थे।

आधुनिक अर्थको दल भने थोरै नौला कुरा हुन्। सत्रौंं शताब्दीको पुछारमा बेलायतमा गौरवशाली क्रान्ति सम्पन्न भयो। त्यसको सय वर्ष नबित्दै फ्रान्स र अमेरिकामा पनि राजनीतिक क्रान्ति भए। यस्ता सबै क्रान्तिको पूर्वाधार दलबन्दी थिए। क्रान्त्यिोत्तरकालमा भने जनताले मत दिएर आफ्नो शासक छान्न पाउनुपर्छ भन्ने प्रजातान्त्रिक सिद्धान्त स्थापित भयो। शासितको सम्मत्ति लिएर मात्र राजा वा राष्ट्रपतिले राज गर्न पाउँछन् भन्ने कुरो आयो। तद्नुरुप शासकले जनताका माझ गएर मत माग्नुपर्ने भयो। यसले गर्दा ठूला र बेग्लै किसिमका दल उत्पन्न भए।

सँगसँगै दलहरूभित्र गुट देखा पर्न थाले। सामाजिक आर्थिक संघर्षको प्रक्रियाले दलको उत्पत्ति भएको थियो। त्यस्तै प्रक्रियाबाट कालान्तरमा दलभित्र फेरि गुटको सिर्जना हुन्छ। दल भने बनोस् तर गुटहरू नआओस् भन्ने कुरो व्यावहारिक छैन। गुट आफैंमा एक अस्वाभाविक राजनीतिक प्रक्रिया होइन। तर अहिले नेपालमा गुटका नाउँमा विकृति उत्पन्न हुँदै गएको छ। यसको सोझो कारण छ—नेपालमा गुटका नाउँ र ठाउँमा ‘गिरोह’ को स्थापना भएको छ।

कुनै पनि राजनीतिक परिघटनामा अनेकन व्यक्ति र समूह संलग्न रहन्छन्। राष्ट्रका सामू समस्या रहन्छन्। समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पृथक नेता र समूहले भिन्दाभिन्दै विचार राखेका हुन्छन्। अमेरिकाको स्वाधीनताको बिहानीमा संघ र राज्यको कसको कति अधिकार हुने भन्ने विषयलाई लिएर जेफरसन र हेमिल्टनका विपरीत विचार थिए। आजको नेपालमा पनि संघ र राज्यको सापेक्ष अधिकारलाई लिएर प्रत्येक पार्टीभित्र मतान्तर छ। अरू पनि अनेकन सवाल छन्।

भारतीय आजादीको संघर्षका प्रारम्भिक वर्षहरूमा राष्ट्रिय कांग्रेस पार्टीभित्र दुई गुट थिए। दादा भाई नौरोजी, गोपालकृष्ण गोखले, फिरोज शाह मेहता कांग्रेसका नरमपन्थी नेताका रूपमा जानिन्थे। अरविन्द घोष र बालगंगाधर तिलकले गरमपन्थीको नेतृत्व गरेका थिए। भारतले केकस्ता प्रकारले यथाशीघ्र स्वाधीनता प्राप्त गर्छ भन्ने विषयमा दुवै समूहमा आधारभूत मतभेद थियो। महाराष्ट्रको सूरत भन्ने ठाउँमा १९०७–०८ तिर भएको कांग्रेसको महाधिवेशनमा भारतीय राष्ट्रिय कांग्रेस दुई भागमा विभक्त भयो। अधिवेशनस्थलमा लज्जास्पद कुटपिटसमेत भयो।

प्रथम महायुद्धपछि भारतमा गान्धी सर्वाधिक प्रभावशाली नेता भएर निस्किए। गान्धीको नेतृत्व पनि निर्विवाद थिएन। प्रारम्भमा मोतीलाल नेहरू र चित्तरञ्जन दासले गान्धीको विरोधी पक्षको नेतृत्व गरेका थिए। पछि सुभाषचन्द्र बोस गान्धी विचारधाराका प्रमुख विरोधी भए। सुभाषचन्द्रका विरुद्धमा उठाइएका गान्धीका उम्मेदवार कांग्रेस पार्टीको अधिवेशनमा पराजित भए।

स्वाधिन भारतमा प्रधानमन्त्री नेहरू उपप्रधानमन्त्री पटेल विदेशनीति विशेषतः नेपाल, कश्मीर, तिब्बतलगायत अनेकन महŒवपूर्ण प्रश्नमा बेग्लाबेग्लै धारणा राख्थे। धर्म, जाति र धर्मनिरपेक्षताका बारेमा उनीहरूमा मतभेद थियो। तर यस मतभेदले भारतीय राष्ट्रिय कांग्रेसको जीवन शक्तिलाई शिथिल बनाएको थिएन।

रुसी कम्युनिस्ट पार्टीको इतिहासमा रुसमा कसरी क्रान्ति गर्ने भन्ने विषयमा मेल्सेविक र बोल्सेविकका बीचमा विवाद र विभाजन भयो। त्यसै विवाद र विभाजनको क्रममा कमरेड लेनिनले अब के गर्ने भन्ने प्रसिद्ध पुस्तिका लेखे। त्यस पुस्तिकाका आधारमा कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तको निरुपण भयो। कम्युनिस्टहरू आज पनि आफ्नो पार्टी संगठन जनवादी केन्द्रीयताका आधारमा चलेको र चलाइएको दावा गर्छन्।

लेनिनको अवसानपछि सोभियत रुसमा स्टालिन र ट्राटस्कीको अन्तरकलहले कम्युनिस्ट आन्दोलन दुई चिरामा विभक्त भयो। स्टालिनको शेषपछि विश्व कम्युनिस्ट आन्दोलन संशोधनवाद र माओवादको महान बहसमा भिडे। यस्ता सबै भिडन्त र विभाजनले विश्व साम्यवादलाई सैद्धान्तिक दृष्टिकोणले पुष्ट र गहन बनायो। चीनमा माओत्से तुङले प्रतिपादन गरेका सांस्कृतिक क्रान्तिलगायतका अभियानले साम्यवादलाई नवजीवन दियो। यस्तै भीडन्तका दरमियान माओत्सेतुङले पार्टीभित्र दुई लाइनको संघर्ष भनेर सूत्रवद्धसमेत गरेका थिए।

अरू त अरू धार्मिक आन्दोलनसमेत विवादित र विभाजित भएर नवजीवन प्राप्त गर्छन् भन्ने एउटा ऐतिहासिक मान्यता छ। बौद्धदर्शन हीन यानमा अटाएन। महायानमा परिष्कृत भयो। क्याथलिक चर्चले पोटेस्टन्ट हुनुपर्‍यो। इस्लाम सुन्नी मात्रमा सीमित रहेन। शिया भयो। हरेक विवाद र विभाजन आफैंमा गर्हित हुँदैन।

कांग्रेसको इतिहास पनि गुटको निर्माण र विनिर्माणको दस्ताबेज छ। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनालगत्तैपछि बीपी र रेग्मी गुट बनेका थिए। सात सालको क्रान्तिको लगत्तैपछि पार्टीमा मातृका र बीपी गुट देखियो। दुवै गुटबन्दी पार्टी विभाजनमा परिणत भए। त्यसपछि कांगे्रसले गुटबन्दीका माझ पनि आफ्नो एकता कायम राखेको थियो। यस्तै एकताले कांगेसलाई २०१५ सालको आम चुनावमा प्रभावशाली विजय प्रदान गर्‍यो।

१ पुस ०१७ सालमा पार्टी सत्ताच्युत र प्रतिबन्धित भयो। प्रतिबन्धित पार्टी निर्वासित हुँदै प्रतिबन्धकालमा कांग्रेसभित्र बीपी र सुवर्ण गुट भन्ने कुरा बद्धमुल हुन गयो। अक्टुवर १९६८ मा बीपी सुन्दरीजल कारावासबाट मुक्त हुनुभयो। कारामुक्तिका क्रममा बीपीले तत्कालिन कार्यकारी सभापति सुवर्णशमशेरको १५ मई १९६७ को सहयोग वक्तव्यलाई अनुमोदन गर्नु भएको थियो। लगत्तै बीपी र सुवर्णमा प्रजातान्त्रिक संघर्षको सञ्चालनको विषयलाई लिएर मतभेद प्रकट भयो। औपचारिकरूपले पार्टी विभाजन भएन। तर बाँकी सबथोक भयो। पार्टीपंक्तिभित्र हुनुपर्ने सौहार्द, सौजन्य र समबोध हरायो।

अहिले कांग्रेसभित्र देउवा पक्ष र पौडेल पक्ष भन्ने छ । पार्टीभित्र वैचारिक छलफल, अध्ययन, निरुपण, बहस इत्यादि छैन भने पनि हुन्छ । तर सैद्धान्तिक निरुपणलाई बिर्सिएर तँ ठूलो कि म ठूलो, तँ मन्त्री बन्ने कि म मन्त्री बन्ने तँ संसदीय दलको नेता बन्ने कि म बन्ने भन्नेमा साथीहरू लागे भने त्यस्तोमा गिरोहवाद फस्टाउँछ ।

बीपीको १९७६ डिसेम्बरको ऐतिहासिक प्रत्यागमनपछि पार्टीले राष्ट्रिय मेलमिलापको नीति लियो। राष्ट्रिय मेलमिलाप नीतिको यस नाराभित्र ०४०/४१ सालताका सत्याग्रह पर्छ कि पर्दैन भन्ने विषयमा कांग्रेसभित्र बहस भएको थियो। सत्याग्रहपछि पनि जनआन्दोलन कसरी गर्ने, राजासँग कस्तो दृष्टिकोण राख्ने भन्ने कुरा कांग्रेसभित्र बारम्बार उठिरह्यो। यस्ता बहस र मतान्तरका दरर्भियान गुटको निर्माण र विनिर्माण हाराहारी चलिरहे। त्यस्तो गुटबन्दीले कांग्रेस पार्टीलाई त्यस्तो शिथिल बनाएन।

पार्टीभित्रका साथीहरूले कुनै लक्ष्य र कार्यक्रमका बारेमा मतभेद राखेर समूह बनाउँदा त्यसलाई गुट भन्न सकिन्छ। त्यो आफैंमा त्याज्य हुँदैन। तर त्यस्तो कुनै मतभेद छैन र मतभेदको आधार पनि छैन, तापनि तँ मेरो मान्छे कि उसको मान्छे भन्ने कुराले मात्र मान्यता पायो भने त्यसलाई गुट नभनेर गिरोह भन्नुपर्छ।

०४७ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि कांग्रेस सत्तामा पुग्यो। प्रतिबन्धकालको गुटबन्दी र बैमनस्यको पुनरावृत्ति पार्टीमा देखियो। पार्टीका कार्यकर्ता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुका बीचमा ध्रुवीकृत भए। सत्तारुढ कांग्रेसभित्र अस्वस्थ संघर्ष सुरु भए। यी संघर्षको प्रस्तुतीकरण–निरुपण भएन। भट्टराईको उपनिर्वाचनमा ‘अन्तर्घात’ भयो। अन्तर्घातको त्यो तीतोपन र अवशेष अझैं पनि छ।

तर त्यस अन्तर्घातको अन्तर्वस्तु के थियो त ? त्यो अझै पनि अगाडि आएको छैन। त्यसका बारेमा पार्टीभित्र आज थोरै मात्र पनि एकनासको विचार छैन। यस परिस्थितिमा गुटबन्दी र गिरोहवाद मौलाउनु स्वाभाविक हो।

अन्तरघात आकाशबाट चट्याङ खसे झैँ घटना थिएन। त्यस परिघटनाका व्यापक हाँगाबिँगा र जरा थिए। प्रतिबन्ध, कारावास र निर्वासनको श्रेणीबद्धता थियो। कटुता थियो। पार्टी ठूलो कि सरकार ठूलो भन्ने सदाको विवाद बल्झिएको थियो। एकातिर जनआन्दोलनको नेतृत्व गरेका तर सदनमा नभएका सर्वोच्च नेता गणेशमान सिंह र पार्टी सभापति भट्टराई थिए। अर्कोतिर जनताबाट निर्वाचित सांसदबाट छानिएका प्रधानमन्त्री गिरिजाप्रसाद हुनुहुन्थ्यो। राज्य र सरकारबाट विमुख रहनै नसक्ने परा श्रयी चैते कांग्रेसी कार्यकर्ताको ठूलो जमात थियो। अर्कोतिर आफ्नो खाइपाइ आएको सत्ता खोसिएको कुण्ठामा छटपटिएको राजदरबार थियो। चौहत्तर र छत्तीसेको कुटपिटमा हाम्रो ध्यान त्यता गएन। पार्टीभित्र नेताहरूको फोटो च्यात्ने र जुत्ताको माला लगाउनमा हामी दत्तचित्त रह्यौं।

तिनताक नै पार्टीएकताका नाममा एउटा रमाइलो परिदृश्य बारम्बार देखिन्थ्यो। कार्यकर्ताको होहल्ला र हानथापका बीच नेतात्रयको एकताको शोभा–समारोह पनि लगातार जारी थियो। नेतात्रय अंकमाल गर्थे। सँगै फोटो खिचाउँथे। अब हाम्रो झगडा सिद्धियो भन्थे, तर झगडा कसरी सिद्धिने ? झगडाको जरोतिर चिहाउने र जाने कुनै प्रयास नै भएन। पार्टीएकता यान्त्रिक विषय होइन। यो एक राजनीतिक प्रक्रिया हो। यो भावनात्मक विषय होइन। कांग्रेसका सामु यो राजनीतिक चुनौती यथावत छ।

आजको कांग्रेसभित्र गुट हुनु आफैंमा चिन्तनीय कुरा होइन्। तर गुट तेजीले गिरोहहरूमा परिणत भएका छन्। एउटै गुट चाँडै दुई–तीनवटा गिरोहमा परिणत भएका छन्। अहिले कांग्रेसभित्र देउवा पक्ष र पौडेल पक्ष भन्ने छ। तर फेरि देउवा गुटभित्र पनि अनेक उपगुट सिर्जना भएको छ। पौडेल गुटभित्र पनि त्यस्तो उपगुटहरू हाबी छन्। पार्टीभित्र वैचारिक छलफल, अध्ययन, निरुपण, बहस इत्यादि छैन भने पनि हुन्छ। सैद्धान्तिक निरुपणसँग सम्बन्ध जोडिँदासम्म गुट, गुट नै रहन्छ। पार्टीको शक्ति सञ्चयका निमित्त वाधा हुँदैन। तर सैद्धान्तिक निरुपणलाई बिर्सिएर तँ ठूलो कि म ठूलो, तँ मन्त्री बन्ने कि म मन्त्री बन्ने तँ संसदीय दलको नेता बन्ने कि म बन्ने भन्नेमा साथीहरू लागे भने त्यस्तोमा गिरोहवाद फस्टाउँछ।

सामान्यतः डाँका वा चोरहरूको समूहलाई गिरोह भनिन्छ। गिरोह विशुद्ध स्वार्थमा केन्द्रित रहन्छन्। माफियाभाव रहन्छ। सरदारको सर्वोपरि हुन्छ। बाहुबलीको दबदबा हुन्छ। भय र लोभबाट क्रियाशील रहन्छ। ‘शोले’ भन्ने एउटा नामी पुरानो हिन्दी सिनेमा छ। त्यहाँ डाँकुको सरदार गब्बर सिंहको जीवन्त प्रस्तुतिका रूपमा यस प्रवृत्तिले पहिचान पाएको छ।

गब्बर सिंहले ‘तेरा क्या होगा कालिया ? ’ भनेर सोध्दा कालियाले थरथर काप्दै ‘आपका नमक खाया हैं–सरकार !’ भन्छ। तैपनि कालिया बाँच्दैन। गणतान्त्रिक नेपालमा राजनीतिक दलहरूका नाममा दलीय नेताहरू अत्यधिक शक्तिशाली भएका छन्। गिरोहवादले दलहरूभित्र यस्तो स्थिति आएको हो। दलहरूलाई गिरोहवादबाट मुक्त गर्ने हो भने गब्बर सिंहलाई सरापेर मात्र हुँदैन्। साथीहरूले पनि आफ्नो सिद्धान्त र स्वाभिमानको रक्षा गर्न आपैंm उद्यत रहनुपर्छ।

अंग्रेजीमा माफिया भन्ने एउटा शब्द छ। हिन्दीको गिरोहसँग मिल्दोजुल्दो शब्द छ यो। तत्कालिन अमेरिकामा माफियाको विचार र व्यवहारलाई देखाउने गरी हलिउडमा द गड फादर (१९७२) भन्ने सिनेमा बनेको थियो। त्यो सिनेमा अझै लोकप्रिय छ। गिरोह वा माफिया कस्तो हुन्छ भन्ने बुझ्न त्यस सिनेमाले मद्दत गर्छ। माफियाले राज्यको कानुन, नियम र मर्यादापालन गर्दैन। गिरोहको भावना भएपछि पार्टीभित्र विधि, विधान, नियम, मूल्य र मर्यादाको निर्वाह हुँदैन। कांग्रेसको चुनावी हारको सिलसिलामा केन्द्रीय समितिको बैठक चलिरहेको छ। पार्टी, गुट, गिरोह वा माफियाको पारिभाषिक पृष्ठभूमिमा चालू छलफललाई हेर्न सकिन्छ।

बालिग मताधिकारबाट हुने चुनावमा खास गरेर भारतमा बाहुबलीहरूको भूमिका चर्चामा छ। चुनावका दरमियान उत्तरप्रदेश र बिहारमा दादाहरूले पहिले नेताका लागि बुथ क्याप्चर गरिदिन्थे। पछि आफ्ना निमित्त बुथ क्याप्चर गर्न थाले। नेपाली राजनीतिमा समेत यताका वर्षहरूमा मनांगे, सांगे, घैंटे, चरी, इत्यादि थरिथरिका बाहुबलीले राजनीतिक संरक्षण पाएको कुरा चर्चित छ। राज्य वा पार्टीको प्रमुख कार्यकारीले संविधान, विधान, कानुन र नियमको रक्षा गर्ने शपथ लिनुपर्छ। तर मेरो मान्छे वा तेरो मान्छे भनेर आफ्ना खसोखास पार्षदहरूलाई जोगाउने र जगाउने कृत्य भएपछि राज्यभित्र माफिया र पार्टीभित्र गिरोह बद्धमूल हुन जान्छ।

अहिले सिंगो नेपालमा यस्तो प्रवृत्ति बढ्दै जाला कि भन्ने त्रास छ। यो नेपाली कांग्रेसको मात्र कुरा होइन ! (साभार : अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्