हिमालयनलाई २–१ ले पराजित गर्दै थ्रीस्टार मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा



बुटवल : मलेसियाको हिमालयन फुटबल क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले हिमालयनलाई २–१ गोलले पाखा लगायो।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल रामनगरस्थित खेल मैदानमा भएको खेलको अन्तिम ६ मिनेटमा तीन गोल भएको थियो। खेलको ८४औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए। ५४औं मिनेटमा मैदान प्रवेश गरेका बस्नेतले आकर्षक गोल गरेका थिए। तर, उनको अग्रता दुई मिनेट पनि टिक्न पाएन।

थ्रीस्टारका लावलले ८६औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। घरेलु दर्शकको समर्थन पाएको थ्रीस्टारका विदेशी खेलाडी लावलले डिबक्समा पाएको बललाई चाली चुमाएका थिए।

खेलको इन्जुरी समयमा थ्रीस्टारका विदेशी खेलाडी मार्टिनले गोल गर्दै टिमलाई जित दिलाए। नीराजन खड्काको पासमा मार्टिनले आकर्षक गोल गर्दा मलेसियन टोेली निराश हुन पुग्यो।

गोलरहित बराबरीमा सकिएको खेलको पहिलो हाफमा दुवै टोलीले आकर्षक अवसरसमेत सिर्जना गर्न सकेनन्। निकै फितलो देखिएको खेल दोस्रो हाफमा भने प्रतिस्पर्धात्मक बनेको थियो।

प्रतियोगितामा अन्तिम गोल गर्दै जित दिलाएका थ्रीस्टारका मार्टिन म्यान अफ दी म्याच चुनिए। जितसँगै थ्रीस्टारले फाइनल प्रवेशका लागि आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

थ्रीस्टारले दुई साताअघि मात्रै बुटवलमै तिलोत्तमा गोल्डकप उचालेको थियो। खेलपछि प्रतिक्रिया दिँदै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले उत्कृष्ट प्रदर्शन गर्न नसके पनि खेलाडीले अन्तिम समयमा गोल गर्दा खुसी भएको बताए। हिमालयन क्लबका प्रशिक्षक सन्तोष कार्कीले खेलाडीले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा हार बेहोर्नु परेको बताए।

प्रतियोगिताअन्तर्गत बिहीबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्