तत्काल निजी विद्यालय बन्द गर्न शिक्षाविद्को सुझाव



काठमाडौं, १४ चैत

अहिले सञ्चालनमा रहेका निजी विद्यालय बन्द गर्नुपर्ने शिक्षाविद् डा. मनप्रसाद वाग्लेले सुझाव दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले अहिले सञ्चालनमा रहेका निजी विद्यालय बन्द वा सार्वजनिक विद्यालयमा परिवर्तन गर्न सुझाव दिए । निजी

विद्यालयले घोकन्ते विद्यार्थी मात्रै उत्पादन गरिरहेको उनको भनाइ थियो ।
काठमाडौंमा शिक्षा नेपालका लागि राष्ट्रिय अभियान ले आयोजना गरेको “निजी विद्यालयमा शिक्षा अधिकार र शुल्क संरचना सम्बन्धि अन्तरक्रिया कार्यक्रम” मा बोल्दै उनले निजी विद्यालयले विना व्यवहारिक शिक्षाको विद्यार्थी उत्पादन गरिरहेका र उनीहरुको मस्तिष्कलाई नाली बनाइरहेको बताए ।

उनीहरुले नेपाली भाषाको मान्यतालाई नकारेर विदेशी भाषाको प्रचार गरिरहेको समेत आरोप लगाए । वाग्लेले भने,“निजी क्षेत्रलाई उच्च शिक्षामा लगानी गर्न दिनुपर्छ तर उनीहरुलाई आधारभूत र माध्यमिक तहमा विद्यालय खोल्न भने दिनुहुँदैन ।”
सरकारले शिक्षामा न्यूनतम २० प्रतिशत बजेट छुट्टाउनुपर्ने बताउँदै स्थानीय सरकारले निजी विदालयहरुलाई सार्वजनिकमा परिवर्तन र अनिवार्य शिक्षामा आफ्नो बोर्डमा नीति बनाउनु पर्ने बताए ।

मुलुक भर सञ्चालनमा रहेका निजी विद्यालयमध्ये काठमाडौंमा मात्रै ७० प्रतिशत सञ्चालनमा छन् । तथ्यांक अनुसार सरकारले प्रति वर्ष एक जना विद्यार्थीका लागि रु १७ हजारका दरले खर्च गरिरहेको छ । जबकि निजी विद्यालयले भने प्रति विद्यार्थी १७ हजारदेखि ३८ हजारसम्म शुल्क असुल गरिरहेका छन् ।

विभिन्न शिक्षक संघ, शैक्षिक संस्थाका नीतिका कारणले स्थानीय तह अन्यौलमा रहेको कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष राजाराम पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्