बालीघरे चलनले खान मात्रै ठिक्क !
बिहान सबेरै कोइला सल्काएर आरनमा बस्ने मध्यनेपाल नगरपालिका– १० डडुवाका ५८ वर्षीय बालकन्या विकलाई बेलुकी अबेरसम्मै फलामे औजार बनाउन र मर्मत गर्दैमा भ्याइनभ्याई छ । उनको काममा सघाउँछन्, १६ वर्षे कान्छा छोरा अन्तिम विकले । बाबुछोरा मिलेर हँसिया, खुर्पा, कुटो, कोदाली, बन्चरो, फाली, करुवाजस्ता फलामे औजारमा धार लगाउँछन्, पाइन हाल्छन् । दिनहुँ आरनमा काम गरिहन्छन्, तर उनीहरूको वार्षिक आम्दामी प्रतिघर पाँच पाथी अन्न मात्रै हो ।
बालकन्या विक एउटा उदाहरण मात्रै हुन् । लमजुङमा अझै पनि बालीघरे चलन कायम छ । सीप भए पनि दलित समुदायका केही मानिसले पुख्र्यौली पेसा अंगालेका छन् ।
अधिकांश स्थानबाट लोप भएको फलामे औजार बनाउने आरनको काम गरेबापत बाली दिने चलन भएकाले नगद आम्दानी गर्न नसकेको बालकन्याले बताए । उनीजस्तै डडुवा बासेडाँडाका धनबहादुर र चेते विकको आरनको कमाइ पनि बाली नै हो । यी तीनैजनाले गाउँभरिका दैनिक प्रयोगमा आउने फलामे औजारमा धार लगाउने, टुटफुट भएका सामग्री र भाँडाकुँडा मर्मतसम्भार गर्छन् । उनीहरू परिश्रमबापत वार्षिक रूपमा अन्न नै लिने गर्छन् ।
जे अन्न फल्छ त्यही लिन्छन्
विश्वकर्मा समुदायको पुख्र्याैली पेसाका रूपमा चिनिने आरनको सेवा दिने र बदलामा अन्नपात लिने प्रक्रियालाई नै बालीघरे चलन भनिने उनीहरूले बताए । डडुवा, दुर्छा र वरिपरिका झन्डै डेढ सय परिवारलाई उनीहरूले सेवा दिँदै आएका छन् । वर्षभरि आरनमा खट्ने विकहरू गाउँलेले धान, मकै र कोदोलगायतका बाली भित्र्याएपछि घरघरबाट बाली उठाउँदै आएको बालकन्याकी बुहारी संगीताले बताइन् । ‘विष्टहरूबाट मंसिरमा धान र कोदो ल्याउँछौँ, साउन–भदौमा मकै ल्याउँछौँ,’ १५ वर्षे संगीताले भनिन्, ‘कसैकोमा धान नै हुँदैन, उनीहरूले कोदो दिन्छन् ।’
विश्वकर्माहरूले वर्षौँदेखि बालीघरे चलनमै भाँडाकँुडा बनाउँदै आएकाले आफूहरूले पनि अहिलेसम्म अन्नपात नै दिने गरेको डडुवाका सेवाग्राही ५४ वर्षीय मनबहादुर गुरुङले बताए । उनका अनुसार धेरैजसो गाउँलेले ५ देखि १० पाथी धान, ५ पाथीसम्म कोदो, एकथुन्से मकै र चाडपर्वमा खाने परिकारहरूसमेत दिँदै आएका छन् ।
नगदमा काम गर्न चाहन्छन् विश्वकर्मा
सहरबजारमा सबै काम नगदमै हुँदै आएको भए पनि आफ्नो बाउबाजेकै पालादेखि बालीघरे चलन चल्दै आएकाले नगदमा कारोबार गर्न नसकिएको आरन सञ्चालक चेते विक बताउँछन् । हँसिया, खुर्पा, बन्चरो, कुटो, कोदालो, कोदाली, फाली धार लगाएर नगद रुपैयाँ लिन सके दिनहुँ राम्रै आम्दानी हुने १६ वर्षे अन्तिम विकले बताए । तर, गाउँमा दिनभर काम गर्दा पनि नगद देख्न धौ–धौ हुने उनी बताउँछन् । ‘नगदमा काम गर्न पाए त पसलमा जस्तै दिनदिनै पैसा आउँथ्यो,’ उनले बताए । पछिल्लो समयमा बन्चरोमा साँध लगाएको, करुवा बनाएकोलगायतका कामबाट केही नगद लिन सुरु गरेका छन् । तर, त्यस्तो काम थोरै आउने भएकाले कमाइ थोरै हुने उनले बताए ।
नयाँ सामान बजारबाट, मर्मत आरनमा
पुराना औजार र भाँडाकुँडा मर्मत गरिएसँगै नयाँ पनि बनाएर बिक्री गर्न सके नगद आम्दानी हुने आरन सञ्चालकको भनाइ छ । तर, गाउँलेले नयाँ सामान रामबजार, भोर्लेटार र पोखराबाट खरिद गर्ने र तिनको मर्मतसम्भारको काम मात्रै आरनमा आउने गरेका छन् । पुरानो औजारको मर्मत र नयाँ औजारको बिक्री हुन सकेमा आफूहरूले व्यावसायिक रूपमा काम गर्न पाइने उनीहरू बताउँछन् ।
अहिले कतिपय आरन सञ्चालकहरू बिहान–बेलुकी आरनमा र दिउँसो ज्याला–मजदुरीमा खट्दै आएका छन् । आरनको कमाइले खान मात्रै ठिक्क हुने उनीहरू बताउँछन् । वर्षभरि काम गरेर अन्नपातको जोहो गरे पनि उनीहरू परिवारका लागि लत्ताकपडा, पढाइखर्च, औषधोपचार, तरकारी, माछामासु, नुनतेल आदिका लागि मेलापात गर्छन् ।
सीप भएका युवा विदेशमा
विभिन्न सामग्री मर्मत र निर्माणमा सीप भएका युवापुस्ता विदेश पलायन हुन थालेका छन् । आरनको सीप भएका युवा अरूजस्तै कमाउनकै लागि बिदेसिएको बालकन्याले बताए । आरनको कामबाट राम्रो आम्दानी नहुने र ‘कालो काम’ भन्दै युवाले यो पेसा छाडेको उनको भनाइ छ । जंगलबाट कोइला बनाएर ल्याउनु, आगोको रापमा बसेर कालोमैलो हुँदै फलामे औजार बनाउनु सजिलो नभएको आरन सञ्चालक धनबहादुरले बताए । (साभार : अन्नपुर्ण पोस्टक)