काठमाडौं–सुर्खेत नियमित उडान हुने



चैत २१ देखि काठमाडौं–सुर्खेत नियमित हवाई सेवा सञ्चालन हुने भएको छ । सुर्खेतमा नियमित हवाई उडान सुरु हुने भएपछि कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले विमानस्थलको अवस्थाबारे जानकारी लिएका छन् ।

त्यस क्रममा उनले सुर्खेत विमानस्थलमा पनि हप्ताको दुई दिन हवाईजहाजलाई राति बास बस्ने व्यवस्था गरिने बताए । अहिलेसम्म निजी कम्पनीका जहाज राति नेपालगन्जमा मात्रै बास बस्दै आएका छन् ।

चैत २१ देखि सुर्खेत–काठमाडौंका साथै कर्णाली प्रदेशका हिमाली जिल्लामा पनि नियमित हवाई उडान गर्ने तयारी भएको छ । ‘काठमाडौं–सुर्खेत नियमित उडान सञ्चालनका लागि मन्त्रालयले आवश्यक पहल गर्छ,’ मन्त्री बुढाले भने, ‘कर्णाली प्रदेशका यातायातको पहुँच नपुगेका जिल्लामा पनि नियमित हवाई उडान भर्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।’ सुर्खेत विमानस्थलमा पर्याप्त पूर्वाधार विकासका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

वैशाख १ मा रारा–कर्णाली महोत्सव

आगामी वैशाख १ देखि प्रदेश सरकारको आयोजनामा रारा–कर्णाली पर्यटन महोत्सव हुँदै छ । सो महोत्सवमा लक्ष्यअनुसार पर्यटक भित्र्याउन विमानस्थलको सेवा चुस्त राख्न पनि मन्त्री बुढाले कर्मचारीलाई निर्देशन दिए ।

कर्णालीका पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न प्रदेश सरकारले ०७५ साललाई पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको छ । यात्रुअभावका कारण कार्णाली प्रदेशका जिल्लामा निजी हवाई कम्पनीले कहिलेकाहीँ मात्र उडान भर्दै आएका छन् । नेपालगन्ज—सुर्खेत भने दिनमा दुई उडान हुँदै आएको छ ।

विमानस्थलमा समस्या

सुर्खेत विमानस्थलवरिपरि अग्ला डाँडाकाँडाका कारण ठूला जहाज अवतरणमा समस्या हुने गरेको छ । विमानस्थलको उत्तर–दक्षिण धावनमार्गका कारण विमानलाई उडान र अवतरणमा कठिनाइ हुने गरेको विमानचालकहरूले बताएका छन् ।

नजिकै अग्ला डाँडा हुँदा ठूला जहाजलाई उडान तथा अवतरण गर्न समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख विनोदकुमार पन्तले बताए । विमानस्थलको धावनमार्ग बढाउन मिल्ने भौगोलिक वनाबटसमेत नभएको उनको भनाइ छ ।

सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ १ हजार २ सय ५५ र चौडाइ ३० मिटर मात्र छ । पर्याप्त धावनमार्ग नहुँदा ठूला विमान अवरतण गर्न समस्या हुने गरेको हो ।

हुम्ला र डोल्पामा उडान धेरै

सुर्खेत र नेपालगन्ज विमानस्थलबाट हाल कर्णालीका हुम्ला र डोल्पामा धेरै उडान हुने गरेको छ । निजी एयरलाइन्स कम्पनीले हुम्ला र डोल्पामा उडान भर्ने गरेका छन् । विगतका वर्षमा यात्रुको भिड हुने सुर्खेत विमानस्थलमा जहाजको नियमित उडान नहुँदा अधिकांश यात्रुले गाडीबाटै यात्रा गर्ने गरेका छन् । गोमा, मकालु, तारा र सीता एयरले मात्र सुर्खेत विमानस्थलबाट कर्णालीका लागि उडान भर्दै आएका छन् ।

हवाईभाडा महँगो

सुर्खेत र नेपालगन्जबाट हुम्ला र डोल्पाकोे हवाईभाडा दर महँगो भएको गुनासो यात्रुले गरेका छन् । हवाईभाडा महँगो हुँदा अधिकांश यात्रुले गाडीबाटै यात्रा गर्ने गरेका छन् । नेपालगन्जबाट हुम्लाको ११ हजार ५ सय रुपैयाँ हवाईभाडा छ ।

सुर्खेतबाट हुम्ला १० हजार ५ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । यो भाडादर अत्यन्तै महँगो भएको यात्रुहरूको गुनासो छ । सुर्खेतबाट हुम्ला जाँदा हवाई कम्पनीले एक केजी सामानको एक सय १० रुपैयाँ मूल्य लिने गरेका छन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्