संखुवासभाको खाँदबारी नगरपालिका–९ का ४० वर्षीय कुमार माझी कष्टपूर्ण जीवन बाँचिरहेका छन् । पर्शुराम माझी र चन्द्रकुमारी माझीको पहिलो सन्तान कुमार अहिले ४० वर्षका भए ।
आठ वर्षको उमेरदेखि अपांग भएका उनलाई खुवाउने, सुताउनेदेखि शौचालय लैजानेसम्म सहयोगी चाहिन्छ । उनी अर्काको सहारामा बाँच्न थालेको ३२ वर्ष भयो ।
सानामा साह्रै चलाख थिए कुमार
बाल्यकालमा कुमार अत्यन्तै चकचके थिए । चकेचके मात्रै होइन, चलाख पनि त्यत्तिकै थिए । आठ वर्षको उमेरसम्म उनी नियमित विद्यालय पनि गए ।
सानै भए पनि उनी आमा चन्द्रकुमारीलाई काममा सघाउँथे । ०४२ सालको एक दिन उनी जंगलमा बाख्रा चराएर घर फर्किएपछि बिरामी परे । ज्वरो आउने र टाउको दुख्ने बिरामीले उनलाई च्याप्यो ।
कुमार अपांग भएर बाँचे
सँगै बाख्रा चराउन गएका छिमेकी मामा र भान्जा कुमार बाख्रा चराएर साँझ घर फर्किएपछि दुवैजना सिकिस्त बिरामी परे । रातभरि धामीझाँक्री गरियो ।
कुमारसंँगै गोठालो गएका मामाको त्यही रात मृत्यु भयो । केही दिन सिकिस्त बिरामी भएपछि कुमार बौरिए । तर, उनी पहिलाको जस्तो चलाख रहेनन् ।
नजिकै स्वास्थ्य संस्था थिएन । उपचारका लागि टाढाको अस्पताल लैजाने धन माझी परिवारसँग थिएन ।उनी के कारणले बिरामी भए, उनलाई जंगलमा के भएको थियो, कुनै जानकारी भएन ।
मृत्युको मुखमा पुगेर उनी बाँच्न त बाँचे । तर, अपांग भएर । सानाको चलाख बालक कुमार विगत ३२ वर्षदेखि दुःखदायी किसिमको अपांग जीवन बिताइरहेका छन् ।
के कारणले कुमार अपांग बने थाहा छैन
‘यो बाबु, सानामा साह्रै चलाख थियो । पढ्नमा पनि उत्तिकै राम्रो । स्कुल बिदाका दिन अरुणनदीको बगरतिर साथीहरूसँग गोठालो गएर फर्किंदा यसलाई के भयो ? हामीले अझै केही पत्तो पाएका छैनौँ’ आमा चन्द्रकुमारीले आँशु झार्दै भनिन्, ‘मामा त्यही रात म-यो । धन्न यो बाँच्यो । मुख हेर्न पाएको छु । यसमै खुसी लाग्छ ।’
आर्थिक अवस्था कमजोर भएका माझी परिवारले कुमारलाई तत्कालै डाक्टरकहाँ उपचार गर्न लैजान सकेनन् । त्यतिवेला त्यस खालको चेतना पनि भएन । गाउँघरमै धामीझाँक्री गरेँ । कुखुरा र बोकाको बली चढाएँ । तर, कुमारको अपांगता हटेन ।
‘केही वर्षअघि जिल्ला अस्पताल खाँदबारीमा उपचारका लागि लगेका थियौँ,’ चन्द्रकुमारीले भनिन्, ‘डाक्टरले सहर उपचार गर्न लैजानू भनेर पठाए । आफूसँग धन थिएन लान सकेनौँ । हातमुख जोड्न त धौधौ छ, केले छोराको उपचार गर्नु ?’
सरकारले दिने भत्ता जीवन गुजाराको आधार
कुमारलाई सरकारको अपांगता भत्ताबापत मासिक दुई हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिने त्यही भत्ता कुमारको जीवन गुजाराको आधार बनेको छ । तर, त्यही भत्ता पनि विगत सात महिनादेखि नपाएको आमा चन्द्रकुमारीले गुनासो गरिन् ।
सहयोग पाए उपचार गर्न लैजान्थ्यौँ
दाताले सहयोग गरे अझै पनि माझी परिवार कुमारको उपचार गर्ने पक्षमा छ । तर, आजसम्म कुमारको उपचारमा सहयोग गर्ने दाता फेला नपरेका आमा चन्द्रकुमारी बताउँछिन् ।
कुमारको घरनजिकै तुम्लिङटारको मनकामना हुँदै भोजपुरको दिङ्ला निस्कने सडक छ । उक्त सडक हुँदै दैनिक सयौँ मानिस आवतजावात गर्छन् ।
सडकमा मनकामना मन्दिरमा दर्शन गर्न जानेको भिड लाग्छ । तर, मन्दिरनजिकै रहेका कुमारको कष्टकर जीवनका बारेमा कसैले चासो दिँदैनन् ।
फुसको छानो भएको सानो झुप्रोले माझी परिवारको दयनीय आर्थिक अवस्था बोलिरहेको छ । घरको आर्थिक अवस्थाले कुमारको उपचार सम्भव देखिँदैन ।
वैदेशिक रोजगारीमा गएको कान्छो छोराले पनि पैसा कमाउन नसकेको चन्द्रकुमारीले गुनासो गरिन् । ‘भाइले पैसा कमाएर पठाउला र दाईको उपचार गरौँला भन्ने लागेको थियो । तर, त्यो पनि नहुने भयो,’ मलिन अनुहार बनाउँदै चन्द्रकुमारीले भनिन् । (नयाँ पत्रिका)