विद्युत् अभावले स्वास्थ्य केन्द्रको उपकरण प्रयोगबिहीन, बिरामी मर्कामा



जुम्लाको हिमा गाउँपालिकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोग नभएरै खिया लागेका छन् । तिन सैयाको सुविधा सम्पन्न स्वास्थ्य केन्द्रमा बिरामी चेकजाँचमा सहजताका लागि भनेर पटक पटक खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरणहरु प्रयोग नभएरै खिया लागेका हुन् । विद्युत् समस्याका कारण स्वास्थ्य केन्द्रमा रहेका सबै उपकरणहरु प्रयोग बिहीन हुँदा बिरामीले सास्ती खेप्नुपरेको हेल्थ असिस्टेन हंश महताराले बताए ।

उनका अनुसार नेबुलाईजेसन, ईन्फाण्ट अर्मर, माईक्रोस्कोप, बायो क्यामेस्ट्री एनालाईजर मेसिन, क्यालोरी मिटर, सेन्ट्री फ्युज, एक्सरे मेसिन, फ्रिज, ल्याव्रेटरी मेसिन लगाएतका महत्वपुर्ण उपकरणहरु विद्युतीय समस्याले प्रयोग नगरेरै थन्काईएका छन् ।

‘स्वास्थ्य केन्द्रमा दैनिक ५० बढी बिरामी आँउछन्, सामान्य ओपिडी सेवा बाहेक अरु बिरामी चेकजाँच गर्न समस्या छ, भएका उपकरण प्रयोगबिहीन हुँदा आफुले सिकेको सिप पनि बिर्सिँदै गएको छ’ ल्याव असिस्टेन निर्मल काफ्लेले भने, ‘सामान्य दिसा, पिसा, रगत, खकार जाँच गर्नुपर्ने बिरामी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुपर्छ, यहाँ २ सय रुपैयाँले हुने काम बिरामीले प्रतिष्ठानमा जाँदा, आँउदा ४/५ हजार खर्च गर्ने गरेका छन् । ’

बर्थिङ सेन्टर समेत संचालनमा रहेको उक्त स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउनेहरुको संख्या बढ्दै गएपनि सुरक्षित प्रसुतिपछि नवजात शिशुलाई न्यानो बनाउने ईन्फाण्ट अर्मर मेसिन संचालनमा नआँउदा समस्या बढ्दै गएको अनमी देवकी खड्काले बताईन् । स्वास्थ्य केन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मी र सामाग्री भएपनि त्यसको उचित प्रयोग हुननसक्दा बिरामी रेफर गर्न बाध्य भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

‘घर नजिकै रहेको स्वास्थ्य केन्द्रबाट विशषज्ञ सेवा पाउने आशा थियो, तर सामान्य घाउ ड्रेसिङ गर्न पनि प्रतिष्ठानमा जान बाध्य छौँ, स्थानीय तहपछि स्वास्थ्य केन्द्रको हालत अझैँ बिग्रिएको छ’ सेवाग्राही कालिबहादुर शाहीले बताए ।

स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नन्दबहादुर रावतले तत्काल स्वास्थ्य केन्द्रमा विद्युतिय समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । उनले भने, ‘गाँउपालिका तथा अन्य निकायमा यो समस्या राख्नेछुँ, र आगामि आर्थिक बर्षसम्म आवश्यक बजेटको ब्यवस्था गरी उपकरणहरु संचालन गरेर विरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरिनेछ’ ।

२ जना एमबिबिएस डाक्टरसहित १२ जना कर्मचारी दरबन्दी रहेको कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा एक जना बाल विशषज्ञ डाक्टर माग गरिएको छ । प्रयोग बिहिन भएका उपकरण संचालनका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य संघसंस्थासँग सोलार ब्याकपको माग गरिए पनि सुनुवाई नभएको हेल्थ असिस्टेन हंश महताराले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्