एएफपी । बीस वर्ष अघि ‘भियाग्रा’ नामक एक मसिनो निलो टयाबलेटले अमेरिकामा सांस्कृतिक परिवर्तन ल्यायो । यसले लाखौँ मानिसहरुलाई पुनः एक पटक यौनमा सक्रिय बन्न सक्षम बनायो । यसले कुनै समय निषेधितझैँ लाग्ने नपुंसकताको विषयलाई दैनिक संवादमा ल्याइदियो ।
यसले शुरु गरेको यौन सुधारको क्रान्तिले धेरै जोडीहरुको यौन जीवनमा पुनःताजगी ल्याएपनि, यसले यौन इच्छा हराएका महिलाहरुलाई भने सम्बोधन गर्न सकेन ।
लगभग ६ करोड ५० लाख मानिसहरुले प्रयोग गरेको यो अत्यन्त लोकप्रिय औषधीलाई पीफिजर फरमास्युटिकलले बजारमा ल्याएको थियो । बीस वर्ष अगाडी २७ मार्च १९९८ मा अमेरिकी सरकारको औषधीको गुणस्तर जाँच गर्ने संस्थाले यसलाई स्वीकृती प्रदान गरेको थियो ।
पुरुषहरुको उत्तेजनामा सघाउने उद्देश्यले नै बनाइएको यो पहिलो औषधी थियो ।
अचानक वुढा मानिसहरुको लिङ्ग पनि उत्तेजित बनाउने ‘चमत्कारी’ औषधीको बारेमा पत्रिका र टीभीमा चर्चा देखिन थाल्यो ।
भियाग्राको बृद्धी इन्टरनेटको विस्तार र अनलाइन पोर्नोग्राफीको वृद्धी लगभग एकै समयमा भयो ।
भियाग्राको विज्ञापन ‘पुरुष नपुंसकता’को रुपमा हेरिने ‘उत्तेजना नहुने समस्या’को समाधानको रुपमा आउन थाल्यो । कुनै समय समाधान नहुने समस्याको रुपमा हेरिएको यसको मेडिकल समाधानको रुपमा भियाग्रा आएको थियो ।
रिपब्लिकन सिनेटर, पूर्व सैनिक र एक समय अमेरिकी राष्ट्रपति उमेद्वार रहेका बब डोल टीभीमा पहिलो पटक भियाग्राका प्रवक्ताका रुपमा देखिए । उनले आम दर्शक माझ आफ्नो ‘उत्तेजना नहुने समस्या’ को डरको खुलासा गरे ।
“‘उत्तेजना नहुने समस्या’ बारे कुरा गर्नुलाई लाजमर्दो मानिन्छ तर यो लाखौँ पुरुष र तिनको जोडीका लागि निक्कै महत्वपूर्ण भइदिन्छ,” उनले भनेका थिए ।
यो रणनीतिले काम गर्यो ।
“भियाग्रा आउनुभन्दा अघि पुरुषहरु तिनको उत्तेजनाका समस्याहरुको कुरा गर्न चाहन्थे र गर्थे पनि तर संवाद निक्कै असहज र कठिन हुनेगथ्र्यो,” त्यतिबेलाको स्थिति सम्झना गर्दै युरोलोजिष्ट विशेषज्ञ एलिजाबेथ काभलरले भनिन् ।
बुढ्यौली बढ्दै जाँदा यौन हाम्रो जीवनको असहज हिस्सा भइन्छ । भियाग्राले त्यसमा सहयोग गर्न सक्छ । “भियाग्राको प्रभावलाई एन्टिवायोटिकको आविष्कार पछि संक्रमण उपचारमा भएको परिवर्तन र स्टाटीनको विकासले मुटु रोगविरुद्धको उपचारमा भएको सहयोगसँग तुलना गर्न सकिन्छ,” न्यु योर्कस्थीत नर्थवेल हेल्थमा युरोलोलीका अध्यक्ष रहेका लुई कभोस्सी भन्छन् ।
“फेरी भियाग्रा त्यो समय सार्वजनिक भयो जब औसधी कम्पनीहरुसँग सहकार्य गर्ने चिकित्सकहरुमाथि एक हिसाबले कारबाही शुरु भएको थियो,” उनले भने, “यो उपभोक्तालाई चिकित्सकबिनानै प्रचार गर्न सकिने औषधीको राम्रो नमुना थियो । यो जीवनशैलीको हिस्सा हुने औषधी थियो ।”
‘सिल्डेनाफिल साइट्रेट’ रसायनिक नाम रहेको भियाग्रा खासमा उच्च रक्तचाप र मुटु पोल्ने समस्याको उपचारको लागि बनाइएको थियो । तर, सन् १९९० सम्म यसको क्लिनिकल परिक्षणमा सहभागी भएका विरामीहरुले यसले लिङ्गमा रगतको प्रवाहमा बढाएर तिनको उत्तेजनामा सुधार गरेको पाइयो ।
यसको सम्पूर्ण लोकप्रियता बावजुद पनि यसलाई अझै राम्ररी बुझिएको छैन । ‘यो खासमा प्रेम बढाउने औषधी होइन,’ कभोस्सीले भने ।
“यसको बारेमा सोधखोज गर्ने धेरै पुरुषहरुले ‘मेरो श्रीमती सम्बन्धमा धेरै चाख राख्दिनन्’ भन्छन्,” उनले भने, “र, भियाग्राले सम्बन्ध सुधारमा केही गर्न सक्दैन ।”
सन् २००० मा कमेडी सो “सटरडे नाइट लाइभ” ले भियाग्राबारे मा एक ठट्यौली विज्ञापन देखायो । त्यसमा यौन सन्तुष्ट पुरुषले “धन्य, भियाग्रा” भनेको देखाइएको छ । यो रमाइलो थियो तर यसले कम मानिसहरुले मात्र चर्चा गरिरहेको यथार्थ व्यक्त गरेको थियो ।
“खासमा अमेरिकी समाजमा यौनको मामिलामा संकिर्ण छ । मलाई लाग्छ भियाग्राले यसलाई केही खुकुलो बनाइदियो,” स्टाटेन आइल्याण्ड युनिभरसिटीका युरोलोजी र प्रजननका निर्देशक नचुम कटलोविचको भनाई छ, “तर अझै पनि महिलाहरु यौन सुधार क्रान्तीबाट बाहिरै छुटे ।”
सन् २०१५ मा अमेरिकी औषधी निगरानी निकायले मिडियामा ‘महिलाको भियाग्रा’ उपनाम दिइएको ‘अडीइ(फ्लीबानसेरिन)’ लाई स्वीकृती प्रदान गर्यो । यसले यौन इच्छा हराएको महिलामा पुनः यौनमा चाख बढाउने दाबी गराएको थियो । यो औषधी भने शुरुदेखिनै विवादमा आयो ।
एक हिसाबले एन्टी डिप्रेशनको औषधी पनि रहेको यो औषधीलाई रक्सीसँग खाँदा खतरनाक हुने चेतावनी दिइएको छ । यो फेरि सयौँ अमेरिकी डलर पर्छ । यसले वाकवाकी लाग्ने, वान्ता हुने र आत्महत्याको सोच आउनेजस्ता कडा खालका साइड इफेक्ट हुनेगर्छ ।
“यो भियाग्रा जस्तो सफल रहेन,” कटलोविचले भने ।
(साभार : रातोपाटीबाट)