अब एकीकृत पार्टीमा उमेरको हद नलाग्ने भएपछि वामदेव खुशी



काठमाडौँ, १५ चैत

एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन् । कार्यदलले बुधबार तयार पारेको संगठनको मस्यौदामा कार्यकारी तहको एकै पदमा दुई कार्यकाल र नेतृत्वबाट अवकाशका लागि सत्तरी वर्ष उमेर हदको व्यवस्था हटाउन प्रस्ताव गरिएको छ । ‘सत्तरी वर्षमा सक्रिय राजनीतिक जीवनबाट निवृत्त हुने व्यवस्था हटाइएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैगरी एउटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने व्यवस्था हटाइएको छ ।’

बहुपदीय संगठन संरचनामा एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल बस्न नहुने र नवौं महाधिवेशनबाट सत्तरी वर्षको उमेरमा अवकाश हुने व्यवस्था लागू गरेको थियो । यसअनुसार एमालेका दुई नेताहरु भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय पार्टी राजनीतिबाट बिदा लिएका थिए ।

आठौं महाधिवेशनमै सत्तरी वर्षको प्रावधान लागू गर्न खोजे पनि त्यसको कारण पार्टी छाड्ने पहिलो व्यक्ति साहाना प्रधान हुने भएकाले रोकिएको थियो।

एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रले सो विषयमा आपत्ति जनाउँदै आएका थिए । एमाले वरिष्ठ नेता झलनाथ खनालले सत्तरीवर्षे उमेर हदबारेमा अन्य नेताहरुसँग कुराकानी गर्ने बताउँदै आएका थिए । उमेर हदका विरोध गर्दै आएका नेता गौतमलाई एकीकृत पार्टीमा अध्यक्ष बन्ने बाटो खुलेको छ ।

एमालेले नयाँ पुस्तालाई राजनीतिमा अघि बढाउन यो व्यवस्था लागू गरेको थियो ।‘कार्यदलमा विधानका मस्यौदा तयार भएको छ । अब यो एकता संयोजन समितिमा प्रस्तुत गर्नेछौं,’ कार्यदलका सदस्य तथा एमाले उपमहासचिव विष्णु पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्