काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गरेकी छिन्।
बिहीबार संघीय संसदमा सम्बोधनका लागि राष्ट्रपतिको सवारीका लागि कम सवारी चाप हुने सडकलाई रुट बनाइएको थियो। राष्ट्रपति शीतल निवास, एकदेवी मोड, बालुवाटर, भाटभटेनी, नक्साल भगवती, लुस्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, गोल्डेनगेट कलेज, सिनामंगल, तीनकुने, शान्तिनगर हुँदै बानेश्वपर पुगेकी हुन्।
तीन तहको निर्वाचनपछि बिहीबार राष्ट्रपतिले दुवै सदनलाई पहिलो पटक ऐतिहासिक सम्बोधन गरेका हुन्। संघीय संसदको संयुक्त बैठक सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए। शान्तिनगर गेटबाट बग्गीसहित संघीय संसद भवनमा पुगेकी राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए।
संघीय संसद भवनमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो। संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाएर आकर्षक बनाएको थियो। (अन्नपुर्ण पोस्ट)