काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई तत्काल हटाउन दिएको निर्देशन अवज्ञा भएको छ । मन्त्रीले निर्देशन दिएको एक साता बित्नै लाग्दासमेत वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचल कार्यालयमा दरबन्दीमै नरहेका १६ जना कर्मचारीले हाजिरी लगाउँदै आएका छन् ।
हिजरी गर्नेमा हाजिर गर्ने कर्मचारीमा लोकेन्द्रबहादुर रावल, कुमारबहादुर कटवाल, रवीन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैस, सुमन पौडेल, सधूकर डा“गी, डम्बरबहादुर विश्वकर्मा, भवानी थपलिया, रञ्जु दाहाल, तुलसीमान महर्जन रहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
कार्यालयका निमित्त कार्यालय प्रमुख इन्द्रदेव पाण्डेले दरबन्दीभन्दा बाहिर रहेका कर्मचारीको व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए । उनले अतिरिक्त १६ कर्मचारीले अझै पनि कार्यालयमा हाजिर गरिरहेको पुष्टि गरे । निमित्त कार्यालय प्रमुख पाण्डेले स्थानीय तह र प्रदेशमा सरुवा भएका १४ जना कर्मचारी भने रमाना लिएर खटाएको ठाउँमा गएको जानकारी दिए ।
विभागको कार्यालयमै पदस्थापन गराउने प्रयास
१४ महिनादेखि तलब नपाएका कर्मचारीलाई मन्त्री विष्टको निर्देशन अवज्ञा गर्दै ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमै पदस्थापन गराउने प्रयास भइरहेको छ । ‘दरबन्दीका कर्मचारी स्थानीय तह तथा प्रदेशमा रमाना लिएर गएपछि खाली रहेको स्थानमा ती कर्मचारीलाई पदस्थापन गराउने प्रयासमा छौँ,’ प्रमुख पाण्डेले भने, ‘दरबन्दीभन्दा बढी भएर तलब पाउन नसकेका कर्मचारीहरूलाई कार्यालयमै राख्ने विषयमा विभागका महानिर्देशकसमक्ष कुरा राखिसकेको छु ।’
विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले शुक्रबार सो विषयमा विस्तृत छलफल गर्ने जवाफ दिएको निमित्त कार्यालय प्रमुख पाण्डेको भनाइ छ । दरबन्दीमा नरहेका कर्मचारीहरूले सुरुदेखि नै कार्यालयमा हाजिरी लगाउँदै आएकाले हाजिरी रोक्न नसकिएको भन्दै पाण्डेले ती कर्मचारीलाई अन्यत्र कहाँ खटाउने भन्ने विषयमा समेत अन्योल देखिएको बताए । ‘मन्त्रीज्यूको निर्देशन खटाइएका कर्मचारीलाई रमाना दिनु भन्ने मात्रै हो जस्तो लाग्छ,’ उनले भने, ‘तर, मन्त्रालयबाट कुनै लिखित निर्देशन आएको जानकारी भने छैन ।’
ताहाचल कार्यालयकै मलेसिया डेस्कमा रहेका पाण्डे दुई दिनअघिदेखि मात्रै कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा छन् । राष्ट्रिय सतर्कता केन्द्रले बुधबार गरेको अनुगमनका क्रममा दरबन्दीभन्दा बारिहका कर्मचारीहरू गयल देखिएका थिए ।
कार्यालयमा कुल ११० जनाको दरबन्दी छ । तर, दरबन्दीभन्दा बाहिरका कर्मचारीसमेत गरेर कार्यालयमा ८७ जना कर्मचारी कार्यरत छन् । कार्यालयमा रहेका १४ जना कर्मचारी काजमा अन्यत्र खटिए पनि उक्त पद रिक्त भएको मानिँदैन । तर, ती कर्मचारीले खटिएर गएकै कार्यालयमा तलब पाउँछन् ।
लामो समयदेखि तलब नपाउँदासमेत उत्साहसाथ कार्यालयमा काम गरिरहेका १६ जना कर्मचारी नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर पाउँदा पनि जाँदैनन् । विभागको ताहाचल कार्यालयमा दरबन्दीभन्दा बढी १६ कर्मचारीलाई १४ महिनादेखि तलब दिइएको छैन । तर, तलब नपाएकामा ती कर्मचारीले गुनासोसम्म गरेका छैनन् । दरबन्दीभन्दा बाहिरकै भएका कारण तलब नपाएका १६ जना कर्मचारीमध्ये कसैलाई पनि सरकारले प्रदेश र स्थानीय तहमा खटाएको छैन ।