ओलीकै पालामा पञ्चेश्वर



धनगढी : नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले प्रधानमन्त्री केपी ओलीकै कार्यकालमा बहुचर्चित पञ्चेश्वर परियोजनाको काम अघि बढ्ने बताएका छन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेका बेला पश्चिम नेपालको भ्रमणमा निस्किएका राजदूत पुरीले नेपाल–भारत मैत्री संघले धनगढीमा गरेको स्वागत कार्यक्रममा यस्तो बताएका हुन्।

‘अहिलेका प्रधानमन्त्री ओलीकै कार्यकालमा पञ्चेश्वरको सुरुवात भएर निर्माण अघि बढ्छ’, उनले भने, ‘यसपालिको भारत भ्रमणमा पनि पञ्चेश्वरबारे छलफल हुनेछ।’ प्रदेश ७ का लागि भारतले गर्नुपर्ने योजना बनाउन र सञ्चालित योजना हेर्न यहाँ आएको उनले बताए।

मुख्यमन्त्री तथा मन्त्रिपषद्को कार्यालयमै पुगेर राजदूत पुरी र मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ।

‘प्रदेश ७ सँग भारतका उत्तर प्रदेश र उत्तराखण्ड प्रदेश जोडिएका छन्, म ती दुई प्रदेश र नेपालको प्रदेश ७ को व्यापारिक उन्नति, नाकाको स्तरोन्नति र दुवै देशका जनताबीचको सम्बन्धमा कसरी अझ सुधार ल्याउन सकिन्छ भनेर नै यहाँ आएको हुँ’ उनले भने।

मुख्यमन्त्रीसँग भेटघाट
राजदूत पुरीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग पनि शिष्टाचार भेट गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर राजदूत पुरी र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो। ‘त्यो कुनै औपचारिक भेटघाट थिएन, अनौपचारिक शिष्टाचार भेटघाट भएको हो। तर त्यसमा मैले पनि पञ्चेश्वरका कुरा उठाएँ। बैतडीको झुलाघाट र दार्चुलाको सीमा नाकामा पक्की पुल नभएको कुरा उठाएँ’, मुख्यमन्त्री भट्टले भने, ‘त्यसमा राजदूत पुरीको सकारात्मक कुरा आएको छ।’ (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्