सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता



दार्चुला : दार्चुलाको उत्तरी सीमाक्षेत्रमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। राज्यको पहँुच नहुँदा छिमेकी हस्तक्षेप बढ्न थालेपछि उच्च सुरक्षा सकर्तता अपनाइएको सुरक्षा निकायले जानकारी दिएका छन्।

महिना दिनअघि भारतीय पक्षबाट सीमा नदी महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा गस्तीमा थियो। दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गा दल गुल्मबाट सेनाको टोली दुई हप्ताअगाडि बन्दोबस्तीका सामानसहित महाकाली तटीय क्षेत्र भएर उत्तरतर्फ तिंकरसम्म गस्तीमा गएको थियो। सीमाक्षेत्रका छिमेकी पक्षका गतिविधि बढेको समाचार सार्वजनिक भएपछि सुरक्षा सतर्कताका साथ सेना यस क्षेत्रको स्थलगत सुरक्षा गस्तीमा निस्किएको हो।

सेनाको टोली फिर्ता हुन लागेकाले अब उक्त क्षेत्रमा सीमाको रेखदेख गर्न सशस्त्र प्रहरी गस्तीमा निस्किएको छ। सशस्त्रको सीमा सुरक्षा गुल्म दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङरु सीमाक्षेत्रमा गस्ती तथा सीमा निगरानीमा निस्किएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए।

सीमाक्षेत्रका छिमेकी पक्षका गतिविधि बढेको समाचार सार्वजनिक भएपछि सुरक्षा सतर्कताका साथ सेना यस क्षेत्रको स्थलगत सुरक्षा गस्तीमा निस्किएको हो।

‘सशस्त्र प्रहरी नायव निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा बन्दोबस्तीका सामानसहित मंगलबार सीमाक्षेत्रको वस्तुस्थिति बुझ्न र सीमाक्षेत्रमा भइरहेका गतिविधि नियन्त्रण सशस्त्रको टोली पुनः सीमा निगरानीमा गएको छ’, गुल्मपति जोशीले भने, ‘हाम्रो टोली मौसमले साथ दिएमा व्यास गाउँपालिकाका–१ को त्रिदेशीय सीमा तिंकरसम्म पुग्ने लक्ष्य छ।’ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा हुने सबै किसिमका गतिविधिको निगरानी गर्नेछ। साथै उक्त क्षेत्रमा नियमित सुरक्षा पहुँच हुने भन्दै उनले त्यस क्षेत्रमा गएको सेनाको टोली फिर्ता हुने क्रममा रहेकाले सुरक्षा निकायको नियमिततासमेत हुने विश्वास व्यक्त गरे।

नेपाली भूभागमा भारतीय पक्षले आफूअनुकूलका गतिविधि सञ्चालन गरिरहेको अवस्थामा नेपाली सुरक्षा निकायको क्रियाशीलताले भारतले एकतर्फी रूपमा गर्ने अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीतका गतिविधिमाथि अंकुश लाग्ने देखिएको छ।

नेपालीले भत्काए पाँच पुल
नेपाली पक्षको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्न नदिने र मानवीय बस्ती नभएको क्षेत्रमा पुल निर्माण गरेको भन्दै स्थानीय आक्रोशित छन्। स्थानीयले मंगलबार आफ्नो आवश्यकता रहेको क्षेत्रमा पुल निर्माण गर्न भारतले अनुमति नदिएको भन्दै पाँच ठाउँका अस्थायी काठेपुल हटाइदिएका छन्। आक्रोशित भई स्थानीयहरू पुल भत्काउन भन्दै सीमाक्षेत्रतिर गएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाबाट सशस्त्र एवं दुम्लिङ र सुन्सेरा प्रहरी चौकीबाट नेपाल प्रहरीको टोली समेत सीमाक्षेत्रमा गएको थियो।

उत्तरी सीमाक्षेत्रमा फागुन अन्तिमतिर नेपाली सेनाको दुर्गादल गुल्मबाट सेनाको टोली पनि त्यस क्षेत्रमा गएको छ। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्