सुर्खेत : एकाबिहानै झण्डावाल गाडी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानभित्र प्रवेश गरे। उद्यानभित्र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। एकैछिनमा कर्णाली प्रदेशका सातै जना मन्त्रीको जमघट भयो। सधैं औपचारिक पोसाकमा सजिने मन्त्रीहरू बिहीबार भने अनौपचारिक पोसाकमै देखिए। त्यत्तिकैमा कुचो लिएर मन्त्रीहरूले उद्यानभित्रको फोहोर बढार्ने काम थाले।
मन्त्रीहरू नै कुचो लिएर फोहोर सफा गर्न थालेपछि सुरक्षाकर्मी र कर्मचारी पनि पछिपछि लागे। सरसफाइमा प्रदेशसभाका सांसद र स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी भए। एकैछिनमा वर्षौंदेखि अलपत्र बुलबुले उद्यान र तालभित्रको फोहोर मन्त्रीहरूले नै सफा गरे। मुख्यमन्त्री महेन्द्रबहादुर शाही फोहोर सफा गर्न तालभित्रै पसेपछि अन्य मन्त्री पनि तालमा पसेर फोहोर उठाए। श्रम गर्ने संस्कृति हराएको र काम गर्न लाज मान्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगको निष्कर्ष निकाल्दै प्रदेश सरकारले हरेक महिनाको दुई दिनलाई ‘ श्रम दिवस’का रूपमा मनाउने निर्णय गरेको छ।
यही निर्णय कार्यान्वयन गर्न मन्त्रीहरू बिहीबार आफैं श्रममा उत्रिएका हुन्। यसअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रूपमा मनाउने र जनतासँगै विकास निर्माणका काममा श्रम गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै कर्णालीका मन्त्रीले बुलबुले उद्यान र तालको सरसफाइ गरेका हुन्। मन्त्रीहरू श्रम गर्न निस्किएपछि सरकारी कर्मचारी र सुरक्षाकर्मीले पनि श्रम गरेका छन्।
श्रमबिना समृद्धि सम्भव छैन, सुकिलामुकिला भएर विकास हुँदैन। अब सबै काममा लाग्नुपर्छ।
महेन्द्रबहादुर शाही मुख्यमन्त्री (कर्णाली)
‘पहिलो दिन सरसफाइ गरेका छौं, अर्को पटकबाट हामी निर्माणका काममा सामेल हुनेछौं’, मुख्यमन्त्री शाहीले भने, ‘उपभोक्ताले सुरु गरेका र निजीक्षेत्रको पहलमा थालिएका सार्वजनिक हितका विकास आयोजनामा हामी श्रम गर्नेछौं।’ श्रमको सम्मान र काम गर्न उत्प्रेरित गर्न आफूहरू जनतासँगै प्रत्यक्ष श्रममा उत्रिएको उनको भनाइ छ। समृद्ध कर्णालीका लागि पाखुरा चलाउनुपर्ने बेला आएको उनले बताए। ‘पैसाले मात्र समृद्धि हुँदैन, मागेर मात्र कर्णाली आत्मनिर्भर हुन सक्दैन’, उनले भने, ‘सबै मिलेर पाखुरा चलाऔं, पसिना बगाएर समृद्धिको यात्रामा जुटौं।’
ठुलाबडाले प्रत्यक्ष श्रम नगर्ने र पसिना बगाउन लाज मान्ने संस्कार व्याप्त रहेको सहकारीमन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता विमला केसीले बताइन्। ‘यसरी प्रदेश समृद्ध बन्न सक्दैन, यसलाई चिर्न हामी आफैं श्रममा उत्रिएका हौं’, उनले भनिन्। पर्यटनमन्त्री नन्दसिंह बुढाले पनि अब उत्पादनमा जुट्नुपर्ने बेला आएको प्रतिक्रिया दिए। आफूले काम नगर्ने र अरूको पनि आलोचनामा समय खर्चने संस्कृति हाबी भएका कारण विकासमा गतिरोध आएको उनको भनाइ छ।
अबदेखि श्रम दिवसका दिन प्रदेशका जनप्रतिनिधि र सरकारका उच्च तहका कर्मचारी पनि श्रमदानमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले बताए। ‘ श्रमबिना समृद्धि सम्भव छैन, सुकिलामुकिला भएर विकास हुँदैन’, मुख्यमन्त्री शाहीले भने, ‘अब हामी आफैं महिनाको दुई दिन भए पनि माटो खन्नेछौं, हातमा औजार लिएर जनतासँगै काममा खट्नेछौं।’
प्राथमिकतामा बुलबुले र काँक्रेविहार
प्रदेश सरकारले सुर्खेतका प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यान र काँक्रेविहारको संरक्षणमा प्राथमिकता दिने भएको छ। कर्णालीमा समृद्धिको पहिलो आधार पर्यटन रहेको भन्दै सरकारले पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्ने जानकारी दिएको हो।
संरक्षणको अभावमा यी दुई पर्यटकीय स्थल ओझेलमा परेकाले अब यसको विकासमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। ‘हामीले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ घोषणा गरेका छौं’, उनले भने, ‘कर्णालीको अर्थतन्त्र पर्यटनबाटै थेग्न सकिन्छ। यसका लागि बुलबुले र काँक्रेविहारमा पनि पर्यटक भित्र्याउनुपर्छ।’ (अन्नपुर्ण पोस्ट)