कागजमा मात्र खुला दिसामुक्त



राजविराज : सप्तरीमा कागजमै भए पनि धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहर चलेको छ। सन् २०१७ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्न असफल सप्तरीमा एक साताको अवधिमा दर्जनौं क्षेत्र खुला दिसामुक्त घोषित भएका छन्।

बिहीबार मात्र बेल्ही चपेना, तिरहुत र बलान बिहुल गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ। राजविराज, बोदे बर्साइन, डाकनेश्वरी, हनुमाननगर कंकालिनी, खडग नगरपालिका र तिलाठी कोइलाडी, विष्णुपुर गाउँपालिका र बलान बिहुलका दुई वडालाई बुधबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख लोकेन्द्रप्रसाद यादवले मंगलबार रुपनी, छिन्नमस्ता र महदेवा गाउँपालिका, सोमबार शम्भुनाथ नगरपालिकामा खुला दिसामुक्त घोषणा गरिएको जानकारी दिए।

पूर्णरूपमा चर्पी निर्माण नभए पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुपर्ने बाध्यता रहेको स्थानीय तहका पदाधिकारी बताउँछन्। नगरपालिकाभित्र बस स्टेन्डलगायत ठाउँमा युरिनल नराखेसम्म घोषणाले सार्थकता नपाउने राजविराज–५ वडाध्यक्ष प्रेमकुमार यादवले बताए। बस स्टेन्ड, राजमार्गका चोक, प्रसिद्ध मन्दिर, हटिया, बजारमा सार्वजनिक शौचालय नहुँदा त्यस्ता ठाउँमा दिसापिसाब गर्न सर्वसाधारण बाध्य छन्।

अधिकांश स्थानीय तह निर्धारित अवधिमा खुला दिसामुक्त हुन नसकेपछि कागजमै भए पनि घोषणा गर्न सरोकारवाला क्रियाशील।

अधिकांश स्थानीय तह निर्धारित अवधिमा खुला दिसामुक्त हुन नसकेपछि कागजमै भए पनि घोषणा गर्न सरोकारवाला निकायदेखि जनप्रतिनिधिसमेत क्रियाशील देखिएका छन्। प्रदेश २ मा हालै सिरहा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि दबाबमा परेको सप्तरीमा केही सरोकारवाला गैरसरकारी संस्थाले मापदण्डविपरीत हतारमा घोषणा गर्न थालेको स्थानीयको गुनासो छ। संघीय फोरमका नवनीत झाले नगरपालिका छेउछाउकै पर्खालमा शौच बसिरहेकाले कडाइ गर्नुपर्ने बताए।

अहिले पनि कतिपयका घरमा चर्पी नभएको र भएकाहरूले प्रयोग नै नगरिरहेको स्थानीय नै बताउँछन्। पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले दबाबमा चर्पी बने पनि बारी–झाडीमा शौच गर्ने बानी नहटेको बताए। अब चर्पी प्रयोग गर्ने बानीको विकास गर्न जरुरी रहेको उनको भनाइ छ। जग्गा नभएको र प्रयोग गर्ने बानीसमेत नभएकाले चर्पी बन्न नसकेको राजविराजकी कृष्णा गिरीले बताइन्।

राजविराज सिंग्यौनस्थित मुसहरी बस्तीका रुनाई सदाले अपमान र दबाब झेल्न नसकेर भान्सामै चर्पीको प्यान राखेका छन्। चर्पीको आवश्यकता बुझे पनि जग्गाविहीन विपन्न दलित परिवारलाई कहाँ बनाउने भन्ने समस्या रहेको बहुरी सदाले बताए। नम्बरी जग्गामा चर्पी बनाउन खोजेको भन्दै स्थानीयले फागुन २५ गते सिंग्यौनका शनिचर सदा, रुवी सदा, सोमनी सदा र ममतादेवी सदामाथि कुटपिट गरे।

एकै दिन धेरै ठाउँमा खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम राखेपछि जिल्लाका प्रशासनिक प्रमुख, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख, जिल्ला समन्वय समितिका कर्मचारीदेखि गैसस र दातृनिकायका प्रतिनिधिलाई तीन दिनदेखि भ्याइनभ्याइ छ। घोषणासभामा स्थानीय तहमा जुन पार्टीका निर्वाचित भएका छन्, सोही पार्टीबाट बनेका प्रदेशमन्त्री र नेता मात्र सहभागी देखिन्छन्।

एक लाख १९ हजार ६ सय ८२ घरधुरीमा शौचालय निर्माण गरी मार्चभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने चुनौतीका साथ बिहीबारसम्म सम्पूर्ण तहमा घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्