शिक्षक विज्ञापनमा मागभन्दा आवेदन कम



काठमाडौं : सामुदायिक विद्यालयका अस्थायी शिक्षकलाई स्थायी गराउन आह्वान गरिएको विज्ञापनमा मागभन्दा कम आवेदन परेको छ। शिक्षक सेवा आयोगले दुई पटकसम्म विज्ञापन गरे पनि आवश्यक संख्यामा आवेदन नपरेपछि प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा स्थायी प्रतिस्पर्धाका लागि फाराम भरेका शिक्षकले स्थायी हुन न्यूनतम अंक मात्रै ल्याए पुग्ने भएको छ। आयोगका अनुसार कुल एक सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन ४० नम्बर ल्याउनुपर्ने हुन्छ।

चालिस प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने आयोगले जनाएको छ। कुल अस्थायी शिक्षकमध्ये ७५ प्रतिशत कोटामा आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नका लागि आयोगले तीनै तहमा तीन प्रकारको विज्ञापन आह्वान गरेको थियो। जसअनुसार २०४९ साल पुस २० गते भन्दाअघि सेवा प्रवेश गरेकालाई पहिलो समूह, २०४९ देखि २०६१ सम्म सेवा प्रवेश गरेकोलाई दोस्रो समूह र २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ गते (संविधान जारी हुनुभन्दा अघिल्लो दिन) सम्म सेवा प्रवेश गरेकालाई तेस्रो समूह मानेर आवेदन आह्वान गरेको थियो।

पहिलो समूहअन्तर्गत प्राथमिक तहमा एक हजार एक सय ५४ कोटामा विज्ञापन आह्वान गरिएकोमा ६ सय २७ जनाले मात्र आवेदन फाराम भरेका छन्। यस तहमा आवश्यकभन्दा ५ सय २७ दरबन्दी रिक्त रहेको आयोग अध्यक्ष ताना गौतमले जानकारी दिए।

त्यस्तै यही समूहमा पनि निम्नमाध्यमिक तहका लागि दुई सय ६४ कोटामा आवेदन आह्वान गरिएकोमा एक सय आठ जनाले मात्र निवेदन दिएका छन्। यस तहमा आवश्यक संख्याको दुई सय ५६ दरबन्दी रिक्त हुनेछ।

यसै समूहमा माध्यमिक तहमा पनि एक सय ५८ कोटाका लागि आवेदन आह्वान गरिएकोमा ५१ जनाले मात्र प्रतिस्पर्धाका लागि फारम भरेका छन्। यस तहमा एक सय सात दरबन्दी रिक्त हुने भएको छ। यसअनुसार यो समूहमा सहभागी हुने अस्थायी शिक्षकले लिखित परीक्षा दिएर न्यूनतम चालिस अंक मात्र ल्याए पनि स्वतः स्थायी हुनेछन्।

कुल अस्थायी शिक्षकमध्ये ७५ प्रतिशत कोटामा आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नका लागि आयोगले विज्ञापन आह्वान गरेको थियो।

दोस्रो समूहअन्तर्गत प्राथमिक तहमा आवश्यक रहेको नौ हजार दुई सय ४८ कोटामा पनि सात हजार आठ सय १७ जनाको मात्रै आवेदन परेको छ। यसमा एक हजार चार सय ३१ कोटा रिक्त हुने भएको छ।

यही समूहअन्तर्गत निम्नमाध्यमिक तहमा पनि एक हजार आठ सय ८५ जना शिक्षक छनोट गर्नुपर्नेमा एक हजार चार सय १८ जनाको मात्रै आवेदन परेको छ। यही समूहमा माध्यमिक तहमा एक हजार चार सय २२ जनाका लागि विज्ञापन आह्वान गरिएकोमा एक सय ५९ जना कम अर्थात् एक हजार दुई सय ६३ जनाको आवेदन परेको छ।

तेस्रो समूह अर्थात् २०६१ साउन २२ गतेदेखि संविधान जारी हुनु अघिल्लो दिनसम्म सेवा प्रवेश गरेका तीनै शिक्षकका लागि प्राथमिक तहमा भने आवश्यकताभन्दा धेरै आवेदन परेको छ। आयोगले सबै समूह र तहका कुल २२ हजार ७६ जनाका लागि विज्ञापन आह्वान गरेकोमा २३ हजार दुई सय ८६ जनाको आवेदन परेको छ।

माध्यमिक तहमा आवश्यकताभन्दा धेरै आवेदन परेका कारण समग्रमा आवेदकका संख्या धेरै देखिएको हो। तर प्राथमिक र निम्नमाध्यमिक तहमा भने रिक्त रहेको दरबन्दीलाई खुला दरबन्दीमा परिणत गरी खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गरिने आयोगका प्रशासकीय अधिकृत डा. तुल्सी थपलियाले बताए।

परीक्षा तोकिएको मितिमै हुने

यसैबीच शिक्षक सेवा आयोगले चैत २३ गतेलाई निर्धारण गरिएको शिक्षकको परीक्षा स्थगित नहुने जनाएको छ। परीक्षा स्थगित गर्न दबाब दिँदै शिक्षक र विद्यार्थीका छुट्टाछुट्टै समूह आमरण अनशनमा छन्। सीमित अस्थायी शिक्षकलाई मात्र स्थायी गराउने प्रयोजनका लागि सञ्चालन गर्न लागिएको परीक्षा विभेदकारी रहेको उनीहरूको आरोप छ।

अस्थायी शिक्षकसँगै शिक्षण लाइसेन्स लिएर बसेकालाई पनि प्रतिस्पर्धा गराउनुपर्ने माग गर्दै शिक्षाशास्त्र पढेका विद्यार्थी माइतीघर मण्डलामा आमरण अनशनमा छन्। शिक्षकका एक समूह भने अस्थायी रूपमा कार्यरत सबै शिक्षकलाई यस प्रतिस्पर्धामा सहभागी गराउन दिनुपर्ने माग गर्दै भद्रकालीमा आमरण अनशनमा छन्। आयोगले भने शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार परीक्षा तयारी गर्नुपर्ने भएकाले विद्यार्थी र शिक्षकका माग आफूहरूसँग सम्बन्धित नभएको बताएको छ। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्