मनाङ मर्स्याङ्दी सेमिफाइनलमा



बुटवल : स्ट्राइकर अञ्जन विष्ट नायक बन्दा मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रामनगरस्थित फुटबल मैदानमा बिहीबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। सेमिफाइनल समितीकरण पूरा हुँदा सबै विभागीय टोली बाहिरिएका छन्।

यसअघि दुई विभागी टिम नेपाल आर्मी र एपीएफलाई पाखा लगाउँदै आयोजक मदन भण्डारी र सुनौलो संगम सेमिफाइनल प्रवेश गरेका थिए। खेलमा पुलिसले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिनु प¥यो। १४औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्दे १–० को अग्रता लिएका थिए। उनले डीबक्समा पाएको आकस्मिक पासलाई सदुपयोग गर्दै जाली चुमाएका थिए।

६१औं मिनेटमा मनाङले खेललाई बराबरीमा ल्याएको थियो। मनाङका विदेशी खेलाडी भिक्टरको क्रसलाई अञ्जन विष्टले आकर्षक गोलमा परिणत गर्दा प्यारापिटका सयौं दर्शकले हुटिङ गरेका थिए। ७५औं मिनेटमा अञ्जनले नै पुनः गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। पुलिसका गोलरक्षक शत्रुवनले घम्साघम्सीका बीच हातबाट बल फुत्काएपछि उनुको कमजोरीलाई अञ्जनले गोलमा परिणत गरेका थिए। सोही गोल नै निर्णायक बनेपछि पुलिस पहिलो खेलबाटै बाहिरिएको हो।

खेलको अन्तिम समयमा पुलिसका रवि सिलवाल एक्लैले मध्यभागबाट पोस्ट नजिक पु¥याएको बल मनाङका किपर दिनेश थापाले रोक्दा बराबरी गर्ने पुलिसको लक्ष्य टरेको थियो। त्यसअघि दुवै टिम आकर्षक गोलको अवसर सिर्जना गर्न चुकेका थिए। प्रतियोगिताको म्यान अफ दी म्याच बन्दै मनाङका अञ्जन विष्टले १० हजार रुपैयाँ पाए। मनाङले चैत १७ गते साबिक विजेता सुनौलो संगमसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र थ्रीस्टार भिड्नेछन्।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीले एक/एक लाख रुपैयाँ पाउनेछन्।

उत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्टलाई २०/२० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्