संखुवासभा : सभाखोलामा बाँध बाँधेर ३ सय ८७ दशमलव ४ वर्ग किलोमिटरको सभाताल निर्माण गरिने भएको छ। खाँदबारी, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका अन्र्तगत बग्ने सभा खोलालाई ५ सय मिटर अग्लो बाँध बाँधेर सभातालको निर्माण गरिने भएको छ।
बाँध बाँधेर ताल निर्माण गरिने सभाताल निर्माण समितिका अध्यक्ष हरिवैरागी दाहालले बताए। समुद्र सतहदेखि करिब २ सय ८० मीटर उचाइमा रहेको विश्वकै होचो उपत्यका अरुण उपत्यका क्षेत्रमा पर्ने पाँचखपन नगरपालिका र खाँदबारी नगरपालिकाको बीचमा बाँध बाँधेर निर्माण गरिने उनले बताए। उत्तरबाट बग्दै आएको सभा खोलालाई बाँध बाँधेर ताल निर्माणपछि तुम्लिङटार र आसपासका क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना बनाएको छ।
सार्वजनिक–निजी साझेदारी अवधारणामा निर्माण गरिने कृत्रिम ताल आयमूलक मोडेलमा सञ्चालन गरिने छ। राजनीतिक दल, नागरिक अगुवा र उद्योगी व्यवसायीबीच छलफल गरी तालको सञ्चालन विकास आयोजनाका रूपमा गर्ने तयारी थालेको छ। विश्वको पाँचौं अग्लो हिमाल मकालु, बरुन्त्से, चाम्लाङ, मेरापिकलगायत दर्जनौं हिमाल आरोहण गर्न र मकालु बरुण राष्ट्रिय निकुन्ज, गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अध्ययन अनुसन्धानमा आउने पर्यटकलाई समेत यो ताल प्रमुख आर्कषक बन्ने छ।
सभापोखरी, पाँचपोखरी, सिद्धपोखरी, बरुणपोखरी, पोप्टीपोखरी, किम्पुपोखरी, छावापोखरी, मत्स्यपोखरी, शिवधारालगायत दर्जन बढी धार्मिक क्षेत्रका लागि पनि सभाताल सहयोगी बन्ने अपेक्षा छ। ताल निर्माणपछि देश विदेशका गरी वार्षिक २ लाखभन्दा धेरै पर्यटक भिœयाउने लक्ष्य छ भने २१ करोड रुपैयाँ आम्दानीको लक्ष्य छ। बाँध निर्माण गर्न १ करोड र ताल निर्माण गर्न ६ अर्ब ९४ करोड २८ लाख रुपैयाँ लाग्ने प्रारम्भिक लागत अनुमान छ।
सभा खोलालाई बाँध बाँधेर ताल निर्माणपछि तुम्लिङटार र आसपास क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना।
भोजपुर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र चीनको तिब्बत क्षेत्रसँग सिमाना जोडिएको संखुवासभामा ताल निर्माणपछि अन्य पर्यटन गन्तव्यको पनि विकास हुने छ। जलस्रोतविद् डा.बलबहादुर पराजुली, डेडराज खड्का र पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितले ताल निर्माणको अगुवाइ गरिरहेका छन्। ग्रेट हिमालयन ट्रेल, मध्यपहाडी लोकमार्ग, किमाथांका नाका यही क्षेत्र हँदै जान्छ। तेन्जिङ नोर्गे र एडमन्ड हिलारी तुम्लिङटार हुँदै सगरमाथा आरोहणमा गएको पहिलो बाटो भएकाले पर्यटकका लागि सभा ताल हेर्न घुम्न सहज बन्ने छ।
ताल निर्माणसँगै ड्याम र नदी क्षेत्रमा हाइकिङ, वातावरणीय अध्ययन अनुसन्धान केन्द्र, स्थानीय २५ भन्दा धेरै जातिका कला, संस्कृति र रहनसहनसमेत प्रत्यक्ष हेर्न पाइने छ। ताल निर्माणसँगै बाँधको हेडबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने पनि लक्ष्य छ। हाल अरुण, सभा, पिलुवा, संखुवा, ईर्खुवालगायत नदीबाट ४ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न कम्पनी दर्ता भइसकेका छन्। (अन्नपुर्ण पोस्ट)