विप्लवका प्रवक्ता प्रकाण्डको घरमा टाँसियो पक्राउ पुर्जी



कालिकोट : कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकास्थित माल्कोटमा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा पक्राउ पुर्जी टाँस गरिएको छ । भोजपुर जिल्ला अदालतले विश्वकर्माको कालिकोट नरहरिनाथ गाउँपालिका-६ माल्कोटस्थित घरमा ‘ज्यान मार्ने उद्योग र विस्फोटक प्रदार्थ’ मुद्दामा पक्राउ पुर्जी टाँस गरेको हो । विश्वकर्मालाई भोजपुर अदालतमा हाजिर हुन ७० दिनको म्याद तोकिएको छ ।

यसअघि नै भोजपुर जिल्ला अदालतले दिएको आदेश अनुसार नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि सर्कुलर जारी गरिसकेको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।

गत कात्तिक २८ गते चुनावी प्रचारका क्रममा भोजपुरमा एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो । जिल्लाका अन्य भागमा पनि विस्फोट भएका थिए । सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी रणदीप ऐडीले पार्टी प्रवक्ताको घरमा पक्राउ पुर्जी टाँस्न आएका प्रहरीलाई स्थानीय गाँउलेहरुले लखेटेको बताएका छन् । उनले भने ‘गाउँमा पार्टी प्रवक्ताको घरमा पुर्जी टाँस्न आएका थिए । तर गाँउलेहरुले टाँस्न दिएनन् । उल्टै प्रहरीलाई नै लखेटिए।’ तर जिल्ला प्रहरी कार्यालय प्रमूख सुबासचन्द्र बोहोराले प्रकाण्डको घरमा स्थानीय नागरिककै रोहोबरमा पुर्जी टाँस गरी प्रहरी टोली फर्किएको बताए । उनले भोजपुर जिल्ला अदालतबाट आएको पक्राउ पुर्जी नरहरीनाग गाउपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालयको टोलीले प्रकाण्डको गाउँमै गएर स्थानीय नागरिकको रोहबरमा घरमा पुर्जी टाँसेको बताए । (अन्नपूर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्