वैज्ञानिक वन व्यवस्थापनको नाममा रौतहटको एक सामुदायिक वनमा धमाधम सालका काँचा रूख काटिन थालेपछि स्थानीय बासिन्दा अचम्ममा परेका छन् । रौतहट जिल्लामा केही समययता वैज्ञानिक वन व्यवस्थापन र बाटो निर्माणको नाममा व्यापक रूपमा काँचा रूख कटान भइरहेका छन् ।
चन्द्रनिगाहपुरमा रहेको हातेमालो सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा करिब तीन सय काँचा रूख काटिँदै छन् भने धन्सार जंगलसहिया बाटो निर्माणका नाममा पाँच सयभन्दा बढी सालका काँचा रूख काटिएका छन् ।
८० वर्ष पुराना रूख काट्ने भनिए पनि सो स्थानमा सालका साना–साना रूखसमेत काट्ने काम भएको छ । बर्सेनि चोरीकटानले सकिँदै गएको रौतहटको वनजंगल यसपटक भने वैज्ञानिक वन व्यवस्थापन र बाटो निर्माणका नाममा सकिन थालेको स्थानीय बासिन्दाको भनाइ छ ।
चन्द्रपुरमा पर्ने हातेमालो सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा पुराना–नयाँ सबै रूख काटिएका छन् । चोरीकटान, सडक निर्माण र वैज्ञानिक वन व्यवस्थापनका नाममा रौतहटका सालका रूखहरू सकिन थालेका छन् । संरक्षणको नाममा करोडौँ धनराशि खर्च भए पनि उपलब्धि शून्य रहेको रौतहटको वनमा एक सातादेखि सालका हरिया रूख कटान भइरहेका छन् । तीन सयवटा सालका रूख काट्ने लक्ष्यका साथ एक सातादेखि वनमै आधुनिक मेसिन प्रयोग गरेर धमाधम रूख काटिएका छन् ।
८० वर्ष पुराना रूखसँगै साना रूख पनि काटिएको विषयमा जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले ठूला रूख काट्दा साना रूख ढल्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । वैज्ञानिक वन व्यवस्थापनको नाममा काटिएका सालका रूख यतिवेला जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिका लागि राम्रो कमाउने माध्यम बनेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा केदार तिमल्सिना बताउँछन् । (नयाँ पत्रिका)