भद्रपुर नगरपालिका क्षेत्रका सडकमा रहेका कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । बिहीबार सुरु गरिएको बन्ध्याकरण अभियान सोमबारसम्म चल्नेछ । पहिलो दिन ४० कुकरको बन्ध्याकरण गरिएको छ ।
कुकुरको टोकाइबाट सर्न सक्ने प्राणघातक रेबिज फैलन नदिन कुकुरको संख्यामा कमी ल्याउने उद्देश्यले बन्ध्याकरण अभियान चलाइएको भद्रपुर नगरपालिकाले जनाएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यता भएका कारण कुकुरको बन्ध्याकरण गरी प्रजननदर घटाउने उपाय अपनाइएको हो । भद्रपुर नगरपालिका पशु सेवा शाखाको आयोजना र जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा सडकमा रहेका कुकुरको बन्ध्याकरण सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख माधव दाहालले जानकारी दिए ।
बिहीबार बिहान भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बन्ध्याकरण शिविरको उद्घाटन गर्दै मार्न नपाइने भएपछि सडकमा रहेका कुकुरको संख्यामा कमी ल्याउन तथा रेबिजको जोखिम न्यूनीकरण गर्न बन्ध्याकरण नै उत्तम विकल्प भएकाले नगरपालिकाले अभियानलाई निरन्तरता दिने बताए ।
भद्रपुर नगरपालिकामा यसप्रकार कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो तेस्रोपटक हो । यसपटक पाँच दिनमा दुई सय कुकुरको बन्ध्याकरण गरिने प्राविधिक सहयोग प्रदान गरेको हर्टका संस्थापक सञ्चालक निर्देशक खगेश्वर भट्टराईले जानकारी दिए । उनले भद्रपुर रेबिजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि प्राथमिकतामा राखिएको बताए । भट्टराईलगायत संस्थाका संस्थापक बेलायती नागरिकहरू बारबरा वेब र जिम पियर्सनसमेत १३ जनाको प्राविधिक टोली यस कार्यमा खटिएको छ ।
दैनिक ४० वटा कुकुरको बन्ध्याकरण गरिनेछ । एउटा कुकुरको बन्ध्याकरण गर्न २० देखि ३० मिनेट लाग्ने उनको भनाइ छ । खासगरी छाउरी कुकुरको बन्ध्याकरण गरिनेछ । खर्चको हिसाबले एउटा कुकुरको बन्ध्याकरण गर्दा दुई हजार रुपैयाँ पर्न जाने भट्टराई बताउँछन् । ‘खर्चिलो छ,’ भट्टराई भन्छन्, ‘त्यसैले सबै व्यवस्थापन गर्न संस्थाले मात्र सक्दैन, स्थानीय तहले सहयोग पुर्याउनुपर्ने हुन्छ ।’
भट्टराईका अनुसार मुलुकबाट रेबिज उन्मूलन गर्न कम्तीमा ७० प्रतिशत सामुदायिक कुकरलाई रेबिजविरुद्धको खोप लगाएको हुनुपर्दछ । नेपालमा हर्टको स्थापना भएपछि सन् २०१० बाट बन्ध्याकरण अभियान सुरु भएको हो । (नयाँ पत्रिका)