अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले यसै साता गरेको चीन भ्रमणलाई सकारात्मक बताएका छन् । किमको भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना कार्यमा सकारात्मक प्रभाव पार्ने ट्रम्पले आशा व्यक्त गरे ।
‘किमले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना कार्यका लागि गरेका प्रयास सकारात्मक छन्,’ ट्रम्पले ट्विट गरेका छन् । चिनियाँ राष्ट्रपतिसँग किमले गरेको छलफलबारे आफूले जानकारी पाएको ट्रम्पले बताए । त्यसैगरी, बुधबार एक प्रेस ब्रिफिङमा ह्वाइटहाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समय निकै राम्रो प्रगति भएको टिप्पणी गरेका थिए ।
चीनले उत्तर कोरियाली नेता किम जोङ उन कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमत भएको जनाएको छ । चीन भ्रमणका क्रममा किमले सो जानकारी दिएका हुन् । उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई दक्षिण कोरियाले पनि सकारात्मक रूपमा लिनुपर्ने ट्रम्पको भनाइ थियो ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने जनाएको छ । सत्ता सम्हालेको सात वर्षपछि किम पहिलोपटक विदेश भ्रमणका क्रममा चीन पुगेका थिए । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको छलफलका क्रममा उत्तर कोरियाले वार्ताका लागि उपयुक्त वातावरण खोजेको बताएका थिए ।
किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भएका छन् । किम र ट्रम्पबीच आगामी मेमा शिखर बैठक हुने जनाइएको छ । चीन उत्तर कोरियाको परम्परागत मित्रका अतिरिक्त प्रमुख आर्थिक सहयोगी राष्ट्र पनि हो । त्यसैले उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्नुअघि चीनसँग सल्लाह माग्न सक्ने अनुमान गरिएको थियो ।
किमको चीन भ्रमणलाई दक्षिण कोरियाले स्वागत गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाका लागि फलदायी हुने जनाएको छ । उत्तर र दक्षिण कोरियाली प्रमुखबीच आगामी अप्रिलमा भेटवार्ता गर्ने कार्यक्रम छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यसै साता सो जानकारी दिएका हुन् । (नयाँ पत्रिका)