दोस्रो धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा



घरेलु क्रिकेटकै सर्वाधिक धनराशि भएको धनगढी प्रिमियर लिग १७ चैतदेखि

दोस्रो धनगढी प्रिमियर लिग (डिपिएल)को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता १७ चैतदेखि सुरु हुँदै छ । एसएसपी कार्यकालको मैदानमा पिच निर्माण भइसकेको छ । अहिले मैदानमा अन्तिम फिनिसिङ कार्य मात्र बाँकी रहेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । प्रतियोगितामा सहभागिता जनाउने खेलाडी र कर्मचारीका लागि आवश्यक सबै व्यवस्थापन कार्य पूरा भएको शाहीले बताए ।

मैदानको स्वरूप परिवर्तन
डिपिएलसँगै सेती अञ्चल प्रहरी कार्यालयको मैदानको स्वरूप नै फेरिएको छ । दुई महिनाअघिदेखि काठमाडौंबाट क्युरेटर झिकाएर पिच पनि तयार पारिएको छ । सात हजारभन्दा बढी दर्शक अटाउने अस्थायी प्याराफिट बनाउने काम सुरु भएको छ । यति मात्र होइन, अरू व्यवस्थापकीय काम पनि अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । ‘आइसिसीको मान्यता पाएपछि डिपिएलको महत्व थप बढेको छ,’ शाहीले भने, ‘यसपटकको प्रतियोगितामा अघिल्लो संस्करणभन्दा केही फरक आर्कषण रहेको छ ।

३ करोड लगानी
आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न ३ करोड बजेट छुट्याइएको छ । डिपिएलमा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । ६ वटै टिमले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । विदेशी खेलाडी ल्याउने काम पनि अन्तिम चरणमा पुर्‍याएका छन् ।

प्रतियोगिताको मिति नजिकिँदै जाँदा टिमले प्रशिक्षण सुरु गर्ने तयारी गरेको साविक विजेता चौराह धनगढीका टिम मालिक राजकुमार श्रेष्ठ बताए । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ।

विजेताले २५ लाख पाउने
घरेलु क्रिकेट प्रतियोगिताकै सर्वाधिक धनराशि पुरस्कार भएकोे प्रतियोगिताको च्याम्पियनले २५ लाख तथा उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले तीन लाख र चौथो हुनेले २ लाख रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान फ दी म्याचले १० हजार तथा म्यान अफ दी सिरिजले मोटरसाइकल पाउने आयोजकले जनाइसकेको छ ।

पूर्वक्रिकेटर सम्मानित हुने
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रको नाम उँचो बनाउन योगदान दिएका पूर्वखेलाडीलाई सम्मानित गरिने अध्यक्ष शाहीले बताए । धनगढी क्रिकेट सम्मान र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गर्ने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने उनले बताए । सम्मानित हुने दुई क्रिकेटरले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

क्रिकेट विकासमा सहयोग
प्रतियोगितामा सहभागी हुन आएका नेपाली टोलीका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिगको नेपालको क्रिकेट विकासमा महत्वपूर्ण योगदान रहेको बताए । ‘यस प्रतियोगिताले नेपालको क्रिकेट विकासमा विशेष योगदान दिनेछ,’ खड्काले भने, ‘प्रतियोगिताले धनगढीलाई क्रिकेटको सहर भनेर चिनाएको विश्वास लिएको छु ।’ (नयाँ पत्रिका)

 

प्रतिक्रिया दिनुहोस्