विराटनगर, १६ चैत
भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ ।
चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ ।
मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराउनुभयो । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० वटा बत्तीको व्यवस्था गरिएको छ ।
विराट गोल्ड कपको पहिलो दिन अर्थात भोलि मोरङ–११ र भुटानको थिम्पु क्लबबीच प्रतिस्पर्धा हुने संयोजक रिजालले बताउनुभयो ।
उक्त प्रतियोगितामा भारतको दुई, भुटानको एक र नेपालको सातवटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको छ । भारतको सिक्किम युनाइटेड क्लब र मोहम्मद स्पोटिङ क्लब तथा भुटानको थिम्पु क्लब छन् । त्यस्तै नेपालका टिममा मनाङ–मस्याङ्दी क्लब, सशस्त्र प्रहरी बल, ‘थ्री’ स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, रमपम झापा– ११ र मोरङ– ११ छन् ।