नायिका भन्नेबित्तिकै अग्ली, ठूला आँखा, सुन्दर अनुहार यस्तैयस्तै मानक थियो। त्यस्तो बेला चिम्सा आँखा, सानो कद, थेप्चो नाक भएकी सृजना सुब्बाले फिल्मकी नायिका बन्ने सपना देखिन्। सृजनाको सपना अहिले साकार भएको छ। उनी अहिले नेपाली रंगमञ्चमा स्थापित छिन्। नाटकसँगै चलचित्रमा अभिनय गरिरहेकी उनलाई दर्शकहरूले क्यारेक्टरका नामले बोलाउँछन्। घरकी एक्ली छोरी सृजना अहिले चलचित्र पञ्चेबाजामा ‘साइँली’ बनेर अभिनय गरिरहेकी छन्।
काका खड्ग पन्धाक गाउँमा चाडपर्वका बेला नाटक देखाउँथे। फुपूचाहिँ नाटककी नायिका। टेन्ट टाँगेर, बत्ती बालेर सानो ठाउँमा देखाइने त्यस बेलाका नाटक फिल्मजस्ता हुन्थे। हिरो, हिरोइन, भिलेन। चक्कु हानेका दृश्य हुन्थे।
देउसी खेल्ने क्रममा गाउँगाउँ पुगेर नाचिन्थ्यो। त्यसको तयारी सृजनाकै घरमा हुन्थ्यो। फुपूहरू नाच्थे। उनलाई अहिले पनि ‘माछी मार न हो दाइ हो’ गीत सुन्यो कि त्यस बेलाको डान्स स्टेपको याद आइहाल्छ। त्यही नाचगान, नाटकले होला उनमा फिल्मकी नायिका बन्ने सपना पलायो। २०६१ सालमा पूर्वबाट काठमाडौं छिरेकी सृजनाले सुरुमा गाउँका काका सुरेन्द्र सेर्माको मेनपावर कम्पनीमा रिसेप्सनिस्टको काम पाइन्।
मासिक तीन हजार रुपैयाँको जागिर। जीवनको पहिलो कमाइ त्यही थियो। जागिर खाँदै डान्स क्लास पनि जान्थिन्। त्यही बेला ‘मिस्टर एन्ड मिस ओमकार’ नामको प्रतियोगिता हुँदै थियो। उनी पनि ‘केही सिकिन्छ’ भन्ने सोचले सहभागी भइन्। प्रतियोगितामा उनी सेकेन्ड रनरअप भइन्। उनले जित्छु भनेर कल्पनै गरेकी थिइनन्। हार्नेहरू रोएको देखेरचाहिँ उनलाई अचम्म लाग्यो।
२०६२ तिरको कुरा, नृत्य सिकेको तीन महिनाजति भएको थियो। राष्ट्रिय नाचघरले पोखरामा नाटक प्रतियोगिता गरेको थियो। लोकेन्द्र लेखकको निर्देशन र राजन उप्रेतीको लेखन रहेको नाटक ‘मैना’मा मुख्य भूमिका गर्ने केटी चाहिएको रहेछ। सृजनालाई नाटक खेल्ने अफर आयो। रिहर्सल गर्ने समय तीन दिन मात्र थियो। सोच्दै नसोचेको अफर आए पनि सिर्जना अभिनय गर्न कम्मर कसिन्।
त्यसपछि दुई दिनमात्र रिहर्सल गरेर टोली पोखरा हिँड्यो। त्यही नाटकमा उनी बेस्ट एक्ट्रेस घोषणा भइन्। उत्कृष्ट नाटक, उत्कृष्ट लेखन, उत्कृष्ट निर्देशनको पुरस्कार पनि मैनाले नै जित्यो। त्यति बेला कस्तो संयोग पर्यो भने सृजनालाई डान्स सिकाउने गुरुको नाटकले पुरस्कार जित्न सकेन। त्यसपछि ती गुरु रिसाएका थिए। सृजनालाई बधाई पनि नदिई जुरुक्क उठेर हिँडे। मान्छे आफूले जित्न नसक्दा किन यस्तो व्यवहार गर्छ भनेर अचम्म लाग्यो उनलाई। उनी ख्यालख्यालमै सेकेन्ड रनरअप, बेस्ट एक्टर्स भइन्।
नसोचेको बाटोमा सफलता मिल्न थाल्यो सृजनालाई। पोखरामा ‘बेस्ट एक्टर’ जितेपछि भने उनलाई अभिनय सिक्नुपर्छ भन्ने लाग्यो। त्यसपछि पुगिन्, अनुप बरालको एक्टर्स स्टुडियोमा। तीनमहिने क्लास लिन एक्टर्स पुगेकी उनले डेढ वर्ष त्यहीँ काम गरिन्। त्यस बेला स्कलरसिपमा अभिनय सिक्नेमा सृजना, दयाहाङ राई, लुनिभा तुलाधर, असाम शर्मा, सुमन घिमिरेलगायत थिए। सँगै सिके, सँगै केही नाटक गरे। त्यसको एकडेढ वर्ष नाटक नगरी बित्यो।
रंगमञ्चमै केही गर्ने सोच भएका सृजना र दयाहाङको राजन खतिवडासँग कुरा भयो। त्यसपछि जन्मियो मण्डला बनाउने योजना। त्यो बेला नाटकको अहिले जस्तो चार्म पनि थिएन। न साथमा पैसा थियो, न कार्यालय। अरूका कोठामा दुईचार मिटिङ भयो। त्यसपछि नाटक प्रदर्शन हुन थाल्यो। त्यस क्रममा तीनचार लाख रुपैयाँ ऋण लाग्यो। मण्डला निर्माण भएपछि भने सहज भयो। विस्तारै नाटकको माहोल बन्यो। यसरी सुरु भएको रंगमञ्च यात्रामा सृजनाले ३० वटा नाटकमा अभिनय गरिन्। एउटै नाटकका दर्जनौंदेखि सयौं सोहरू भए। जम्मा कति सोमा अभिनय गरिन्, त्यो त उनलाई पनि याद छैन।
माइला डटकम, डिग्री माइला, चरनदास चोर हुँदै एन्टिगोनीसम्ममा अभिनय गरेकी सृजनाले युग पाठकको नाटक युमाको निर्देशन गरिन्, जहाँ आफैं मुख्य भूमिकामा थिइन्। युमाले उनलाई रंगमञ्चमा अझै दरिलो बनायो। हुन त अभिनय थालेको १२/१३ वर्षपछि युमा निर्देशन गरेकी हुन् सृजनाले। तर, सुरुमा उनलाई आँट आएन। ५/६ वर्षपछि मात्र निर्देशन गर्ने सोचेकी उनलाई साथीहरूले हौसला र दबाब सँगै दिए। ‘अघिल्लो दिनसम्म डर लागेको थियो तर नाटक हेर्नेले मन पराए। राम्रो समीक्षा भयो। यहाँ पनि नसोचेको सफलता मिल्यो’, उनी भन्छिन्।
कबड्डी कबड्डीमा सोल्टिनी, लुटमा भट्टीवाल्नी, साल्गीको बलात्कृत आँसुमा बेचिएकी चेलीको रोल गरेकी छन् उनले। उनलाई भने डाइङ क्यान्डलमा आफूले गरेको अभिनय सबैभन्दा मन पर्छ रे। चलचित्रहरूमा सानो भए पनि उनको रोल दर्शकहरूले ‘नोटिस’ गरेका छन्। त्यसैले त उनलाई कसैले नाटककै नामले बोलाउँछन्। कसैले सोल्टिनी भन्छन् अनि कसैले एन्टिगोनी। तर, उनलाई एउटा फिल्ममा भट्टीवाल्नीको रोल गरेपछि अरूले पनि यस्तै रोलको अफर गर्दा दुःख लाग्छ। भन्छिन्, ‘मंगोलियन अनुहार देख्नेबित्तिकै अहिले पनि यस्तै रोल दिन्छन्। समाजको मानसिकता अझै फेरिएको छैन।’
सृजनालाई धेरैले ‘केटीको जस्तो रोल भएन, अलि स्ट्रोङ, घमण्डी भयो’ भनेर कमेन्ट गर्छन्। तर, उनलाई चलचित्रमा अझै स्ट्रोङ खेलाडी भएर अभिनय गर्न मन छ। स्ट्रोङ पोलिटिसियन भएर अभिनय गर्ने रहर छ। भन्छिन्, ‘केटीहरूचाहिँ सधैं कोमल, भावुक, सहनशील मात्र हुनुपर्ने, पुरुषको सहायक मात्र हुनुपर्ने भन्ने मानसिकता छ।’
उनलाई लाग्छ, नेपाली चलचित्र क्षेत्रका महिलाहरूले अझै पनि समाजको घेरा तोड्न सकेका छैनन्, त्यसैले पछि परेका छन्। कोही जे पनि गर्न तयार भएर यो क्षेत्रमा आएका छन्। कोही प्रतिभा भएर पनि फेरि काम नपाइएला भन्ने डरले आवाज उठाउन सक्दैनन्। सत्य कुरा बोल्न सके मात्र यो क्षेत्रमा परिवर्तन आउने उनको बुझाइ छ।
रंगकर्म गर्दा अरू पेसाजस्तो आर्थिक अवस्था सबल हुँदैन। पैसा नहुँदा त कतिपटक निराश भएकी छन् उनी। यो क्षेत्रै छाडौं कि जस्तो लाग्थ्यो तर भित्री मनले पटक्कै नमान्ने। उनले सोचिन्, नेपालमा पनि एउटै मात्र जागिर गरेर पर्याप्त पैसा कमाइँदैन। रंगमञ्च पनि त्यस्तै त हो। त्यसपछि आफंन चित्त बुझाइन्। अहिले त यही क्षेत्रबाट जीवन चलेको छ। उनलाई धेरै पैसा कमाउने सपना पनि छैन। ‘आफूलाई बचाउन पुगोस्, ठूलो रोग नलागोस् त्यति भए पुग्छ’, उनी भन्छिन्, ‘सास रहुन्जेल अब यही कर्म गरिन्छ। अरू केही सोचेको छैन।’
उनलाई आफ्नै केही बानी मन पर्दैनन्। जस्तो उनलाई छिटो रिस उठ्छ। कति कन्ट्रोल गर्न खोज्दा पनि सक्दिनन् रे। उनी मान्छेका कुरामा तुरुन्त रियाक्सन दिन्छिन्। भन्छिन्, ‘म देखावटी गर्न सक्दिनँ, जे सही लाग्छ, त्यो गर्छु। तर, सबैले यसरी बुझ्दैनन्।’
उनलाई महिलाका धेरै विषय अलि राम्रोसँग रंगमञ्चमा उतार्ने विचार छ तर ज्यादा नारीवादी भएर पनि होइन। लेखेर र नाटकमार्फत महिलाका संवेदनशील मुद्दाहरू समाजलाई बुझाउने योजना छ उनको। उनकी आमाको योजनाचाहिँ अर्कै छ। जब फोनमा कुरा हुन थाल्छ, उनकी आमा भन्न थाल्छिन्, ‘नाटक गरेर मात्र के गर्छेस्, अब विवाह गर्नुपर्छ।’ तीनचार वर्षदेखि आमाको यही कुरा सुनिरहेकी सृजना अहिले आमासँग फोनमा लामो बोल्दिनन्। कुरा अर्कैतिर बंग्याउँछिन्। सृजना सुनाउँछिन्, ‘उहाँहरू नाटकबाट जीवन चल्छ र भन्नुहुन्छ। म चलाउनुपर्छ भनेर लागिरहेकी छु।’
सानो छँदा मावलीतिरका आफन्तले उनको नाम राखिदिएका थिए, सृजना। अहिले नामसँगै मिल्दो छ उनको कर्म। यही कर्ममा निरन्तर लाग्ने सोच बनाएकी सृजना भन्छिन्, ‘आत्मसन्तुष्टि नै सबैभन्दा महत्र्वपूर्ण रहेछ। त्यसैले टिकाएको छ र अझै टिक्छु भन्ने आँट पलाएको छ।’ (साभार : अन्नपुर्ण पोस्ट)