सरकारी ढुकुटी ४७ अर्ब घाटामा



काठमाडौं: सरकारको ढुकुटी ४७ अर्ब रुपैयाँ घाटामा गएको छ । सरकारले खर्चको तुलनामा आम्दानी गर्न नसकेपछि सरकारी ढुकुटी ठूलो मात्रामा घाटामा गएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

अर्थमन्त्री डा.खतिवडा

‘शुक्रबार साँझको तथ्यांकअनुसार चालू आवमा सरकारले कुल ६ खर्ब ३० अर्ब रुपैयाँ खर्च गरेको छ, त्यस्तै अघिल्लो आर्थिक वर्षको ७१ अर्ब सञ्चित घाटा छ,’ महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले भने, ‘खर्च ७ खर्बभन्दा बढी छ, तर आम्दानी भने ६ खर्ब ५३ अर्ब मात्रै भएको छ ।’

अर्थमन्त्री डा। युवराज खतिवडाले शुक्रबार संसद्मा मुलुकको आर्थिक स्थितिबारे श्वेतपत्र जारी गर्दै सरकारी ढुकुटी शून्यमा रहेको बताए । स्थापित प्रणाली र मान्यताविपरीत कर छुट दिनु, विनायोजना, विनाआधार तथा विनास्रोत आयोजना कार्यान्वयनका नाममा स्रोतको सुनिश्चितता दिइएका कारण सरकारी ढुकुटी रित्तिएको अर्थमन्त्री डा.खतिवडाको तर्क छ ।

‘चालू आर्थिक वर्षको बजेटमा मनोगत आधारमा स्रोत देखाई बजेटको आकार बढाइएको छ,’ मन्त्री डा। खतिवडाले भने, ‘बजेटमा प्रस्ताव गरिएको खर्च गर्ने स्रोतमा नै झन्डै २ खर्ब अपुग छ ।’ गत आर्थिक वर्षको बजेटबाट बचत भएर आउने १ खर्ब ३ अर्ब रुपैयाँ आउनुको साटो उल्टै ४८ अर्ब ६१ करोड घाटा भएको र संस्थानमा गरिएको ऋणको सावाँ फिर्ताबापत प्राप्त हुने भनिएको १५ अर्ब पनि नपाइने स्थिति रहेको उनले बताए । वैदेशिक सहायता प्राप्त हुने अपेक्षा गरिएका कतिपय आयोजनाको बारेमा सामान्य छलफलसमेत नभएकाले ती आयोजनामा रकम नआउने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्