आयकर छलीविरुद्ध अख्तियारले छानबिन गर्ने



काठमाडौं: आयल निगमलाई जग्गा बिक्री गर्ने व्यवसायीले करिब ५० करोडबराबर आयकर छली गरेको समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यानाकर्षण भएको जनाएको छ । अख्तियार प्रवक्ता दीर्घराज मैनालीले निगमको जग्गा खरिद अनियमितताको छानबिन भइरहेको र अब कर छलीको विषयलाई पनि अनुसन्धानमा समेट्ने जनाएका हुन् । आजको नयाँ पत्रिका दैनिकले समाचा छापेको छ।

 

फाइल तस्बिर

इन्धन भण्डारका लागि जग्गा खरिद गर्दा चलनचल्तीको मूल्यभन्दा बढी रकम तिरेर नेपाल आयल निगम नेतृत्वले करोडौँ अनियमितता गरेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ । संसदीय समितिले समेत जग्गा खरिदमा अनियमितता भएको ठहर गरेपछि अख्तियारले त्यस विषयमा छानबिन थालेको थियो । अख्तियारले अब निगमलाई जग्गा बिक्री गर्ने जग्गा व्यवसायीले सो जग्गा बिक्री गर्दा राज्यलाई तिर्नुपर्ने तर नतिरको आयकरका विषयलाई पनि अनुसन्धानमा तान्ने बताएको हो।

नयाँ पत्रिकासँग कुरा गर्दै प्रवक्ता मैनालीले भने, ‘यदि आयोगले अनुसन्धान गर्दा आयकर छलीका विषयमा ध्यान पुगेको रहेनछ भने त्यसतर्फ पनि अनुसन्धान सुरु हुन्छ । आवश्यक कारबाहीको प्रक्रियामा जान्छौँ, समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ उनले आयकर छली भएको पाइए अध्ययनमा देखिएको तथ्यांकका आधारमा राजस्व कार्यालयलाई कर असुलउपर गर भनेर निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्